• २०८१ बैशाख ४ मंगलबार

जनकपुरमा अलपत्र सडकका कारण व्यापार घाटा

kharibot

जनकपुर । भत्काइएका सडक समयमै नबन्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरका व्यापारी अहिले करोडौँ घाटा ब्यहोर्न बाध्य छन् भने कतिपय व्यापारी पलायनसमेत भएका छन् ।

एकीकृत शहरी विकास परियोजनाअन्तर्गत सडक निर्माणका लागि सरकारले नगर क्षेत्रको सडक भत्काएपछि अहिले जनकपुरको व्यापार प्रभावित भएको हो । पछिल्लो पटक प्रमुख व्यापारिक केन्द्र जनक चोकदेखि जानकी मन्दिर हुँदै महावीर चोक जोड्ने सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय व्यापारी मारमा परेका छन् ।

सडक निर्माणका क्रममा व्यापार सञ्चालन हुँदै आएका घर भत्काइएको लामो समय बितिसक्दा पनि सडक निर्माण पूरा हुनसकेको छैन । सडककै कारण यस क्षेत्रको व्यापार व्यवसाय करीब तीन महिनादेखि ठप्प हुँदा बैंकको ऋण तिर्न समस्या परेको व्यवसायीको भनाइ छ ।

रेडिमेड कपडा पसलका सञ्चालक मोहम्मद सैनुल साफीले निर्माणमा भइरहेको ढिलाइका कारण आफूजस्ता मध्यम वर्गीय व्यापारी बढी मर्कामा परेको बताए । उनले भने, “व्यापार नभए पनि घरभाडा र बैंकको कर्जा बुझाउनै पर्छ, उपमहानगरपालिका र ठेकेदारले व्यापारीको मर्का बुझ्न सकेका छैनन् ।”

अर्का कपडा व्यवसायी कमलेश झाले भने, “पसल भत्काइएपछि बजारभित्र गाडी आउन नसक्ने भएकाले पर्यटकले किनमेल गर्न सक्दैनन्, त्यसैले तत्काल समस्या समाधान नगरे आर्थिक मन्दी बढ्ने हुँदा बजार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर निर्माणमा तीव्रता दिनुपर्छ ।”

व्यापारीलाई ऋण उपलब्ध गराएका बैंक र स्थानीय बासिन्दा समस्यामा परेका छन् । स्थानीय व्यवसायीका अनुसार मिठाइ पसल, कस्मेटिक डिलर, सुनचाँदी गलाउने व्यवसायी, हार्डवेयर सञ्चालक र फेनाइल उद्योग सञ्चालन गर्दै आएका पाँच व्यवसायीले व्यवसाय छाडेर पलायन भएका छन् भने अनय व्यावसायी पनि जनकपुर छाड्ने तयारी गरिरहेका छन् ।

पलायन भएका व्यवसायीले स्थानीय बजार र बैंकबाट करोडौँ रुपैयाँ ऋण लिएका थिए । जनही तीन करोडदेखि १२ करोडसम्म ऋण नतिरी उनीहरू पलायन भएको सम्बद्ध व्यापारीले जनाएका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहले सडक निर्माण नभएकै कारण व्यापार व्यवसाय करीब तीन महिनादेखि ठप्प हुँदा बैंकको ऋण तिर्न व्यवसायीलाई हम्मेहम्मे परेको बताए ।

दुई वर्षअघि मधेश आन्दोलनको क्रममा बन्द हडतालमा घाटा व्यहोरेका जनकपुरका व्यापारीलाई अहिले झनै सकस भएकाले तिनको पीडा बुझेर छिटो सडक निर्माण सक्नुपर्ने उपाध्यक्ष साहले बताए । उपमहानगरपालिकाले सडक निर्माण गर्न प्रमुख बजार क्षेत्रमा मापदण्डभित्र परेका ६ सयभन्दा बढी घर भत्काएको छ । निर्माणमा भइरहेको ढिलाइका कारण व्यापारी दोहोरो–तेहरो मारमा परेका छन् ।

वर्षाको समय भएकाले सडक निमार्णमा ढिलाइ भइरहेको बताउँदै जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले शहरको मुख्य सडकमा खानेपानीको पाइप, टेलिफोनलगायतका तारसमेतसँगै ओछ्याउनुपर्ने भएकाले काममा ढिलाइ भएको बताए । सडक निमार्णको ९० प्रतिशतको काम भइसकेकाले दशैँसम्ममा निमार्ण पूरा गरिसक्ने उनको भनाइ छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै