• २०८१ बैशाख १४ शुक्रबार

निजी बैंकसँग प्रतिष्पर्धा गरेरै कृषि विकास बैंक अगाडी बढ्दै छ - लिला प्रकाश सिटौला, सिइओ

kharibot

काठमाडौँ। सरकारी स्वामित्वको कृषि बिकास बैंकले गत आवमा तीन अर्ब ६७ करोड ३२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। निजीक्षेत्रका बैंकहरुसँग प्रतिष्पर्धा गर्दै बैंकले अहिलेसम्म कै उच्च नाफा हासिल गर्न सफल भएको छ। बैंकमा आएको व्यापक आन्तरिक सुधार र निजि क्षेत्रका बैंकहरुसँग कडा प्रतिष्पर्धा गर्दै बैंकले गत आर्थिक बर्षमा अघिलो बर्षको तुलनामा ४४ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको छ। 

यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलासँग कुराकानी गर्दै हामीले बैंकमा भएको सुधार र धेरै नाफा कमाउनुका कारण बारे सोधेका थियौ । प्रमुख कार्यकारी अधिकृत सिटौलाले खरीबोटसँग कुरा गर्दै बैंकको आन्तरिक व्यवस्थापनमा गरिएका सुधार, व्यापार विस्तार र बैंकलाई समय सापेक्ष गरिएको परिवर्तनका कारण बैंकको परफरमेन्स राम्रो देखिएको बताए।   

पछिल्लो समय कृषि विकास बैंकमा जनशक्ति व्यवस्थापन, प्राविधिक सुधारसहितका व्यापक सुधारका काम भएका छन्। आधुनिक प्रविधिको प्रयोग गरेर आम ग्राहकलाई बैंक प्रति आकर्षित गर्नेदेखि लिएर बैंकको आन्तरिक सुधारका काम गर्न प्रमुख कार्यकारी अधिकृत सिटौलाले ३९ वटा कार्यविधि बनाएर लागु गरेका छन्। यसको प्रतिफल बैंकको गत आर्थिक बर्षको परफरमेन्समा देखिएको छ । 

सिटौला भन्छन्,' कृषि विकास बैंकमा सबै भन्दा ठुलो समस्या जनशक्ति व्यवस्थापन रहेको थियो, जस्तै नियमित रुपमा प्रमोशन नहुने, क्यारियर डेभलोपमेन्टको ग्यारेन्टी यसअघि नभएको अवस्थामा अहिले आएर नियमित प्रमोशनको व्यवस्था,  भर्ना र छनोट समय मै पारदर्शी रुपमा हुने, सरुवाका काम पारदर्शी रुपमा हुने व्यवस्था गरिएपछि कर्मचारी काममा व्यापक सुधार आएको छ ।'  

उनले हाल कर्मचारीको क्षमता अभिवृद्धिका काम नियमित गरिरहेका बताउदै जनशक्ति व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको बताए । आन्तरिक रुपमा पुराना कार्यविधि हरुलाई परिवर्तन गरेर अहिले समयसापेक्ष बनाइएको जानकारी दिदै सिटौलाले बैंकका योजना, दिर्घकालिन रणनिति तथा बैंकको नियमित कामलाई व्यवस्थित गर्न ३९ वटा कार्यविधि बनाएर कार्यान्वयन गरेको बताए । 

१९६८ मा स्थापना भएको बैंकका हाल २६१ शाखा रहेको र यसै बर्ष थप १२ शाखा खोल्ने तयारीमा बैंक रहेको छ। बैंकको विस्तार र सेवा वृद्धि पनि नियमित भैरहेको छ। यसअघि ८४ वटा शाखा सिबिएस रहेकोमा अहिले आएर २२५  भन्दा बढी शाखा सिबिएस रहेको र बाँकी शाखा पनि २-३ महिना भित्रै सिबिएसमा जाने त्यस्तै नयाँ शाखाहरु स्वत सिबिएसमा जाने व्यवस्था गरिएको छ  ।

बैंकमा गरिएको आन्तरिक सुधारका बारेमा सिटौलाले भने, 'बैंकमा यसअघि सिस्टम अडिट अत्यन्त कमजोर थियो तर अहिले सिस्टम अडिट गरिरहेको र यो अन्तिम अवस्थामा रहेको छ । बैंकको यस अघि पुनर्स्थापना गर्न बाँकी सबै शाखा कार्यालयहरु पुनर्स्थापना गरेर सकिएको र अब नयाँ २२ शाखा खोल्ने तयारीमा बैंक रहेको छ । बैंकमा इ बैंकिंग, एसएमएस बैंकिंगको व्यवस्था भएको तथा कृषिलाई विशेष प्राथमिकता दिन अलग्गै विभाग बनाएर काम गरिएको छ।' 

बैंकको यस अघि हिसाब मिलानको स्थिति कमजोर रहेकोमा अहिले आएर हिसाब मिलानको अवस्था पनि अन्तिम चरणमा रहेको बताए।  समग्रमा बैंकले फाइनान्सियल मात्र नभएर व्यवस्थापनमा पनि व्यापक सुधार गरेको बताउदै सिटौलाले नेपाल सरकारलाई लामो समयदेखि तिर्न बाँकी रहेको कर पनि अहिले फर्स्यौट गरिएको बताए। 

नाफा बढी देखिनुको कारण बारे बोल्दै सिटौलाले ट्रेजरीबाट राम्रो आम्दानी गरेको, व्यापारको दायरा बढाएको,व्यवसायको आकारनै बढेको, पुरानो ऋण रिकभरी राम्रो भएकाले नाफा बढी भएको बताउदै बैंक अहिले सहि बाटोमा आएको र अब सहित ढंगले ड्राइभ गरेर अगाडी लैजानु पर्ने बताएका छन् ।

अब कृषि विकास बैंकलाई बाणिज्य बैंकको रुपमा चिनाउन चुनौती रहेको हुनाले समाजका सबै पक्षसँग बैंक पुग्न नसकेको अवस्थामा बजारका आधुनिक टुल्सको प्रयोग गरेर ति पक्षसम्म पुग्ने प्रयास बैंकले गरिरहेको उनले कुराकानीका क्रममा बताए ।  सिटौलाले युवा बर्गमा जान केहि योजना ल्याएर आगाडी बढ्ने तयारीमा रहेको भन्दै विद्यार्थीहरुलाई बैंक प्रति आकर्षित गर्न कार्यक्रम ल्याइरहेको बताए।

विभिन्न कलेज, अस्पताल, विश्वविद्यालयहरुलाई पनि कृषि विकास बैंकको नेटवर्कमा ल्याउने प्रयास भैरहेको र आउदा दिनमा अझ आक्रामक रुपमा यस क्षेत्रमा जाने योजना बैंकको रहेको र निजि बैंक जस्तो आक्रामक हुन नसके पनि मिताव्ययी ढंगले बैंकको बजार विस्तारका कार्यक्रम ल्याउने योजनामा बैंक रहेको सिटौलाको भनाइ रहेको छ ।     

निजिक्षेत्रका बैंकहरुसँग प्रतिष्पर्धा गरेर आम जनताको विश्वास जित्ने काम आफैमा चुनौतीपूर्ण रहेको बताउदै सिटौलाले अन्तरिकरुपमा बैंकमा व्यापक सुधार गर्दै धेरै नाफा आर्जन गर्न सफल भएको बताए । बैंकको अबको चुनौती अहिले बनाइएको व्यवस्थालाई निरन्तर कार्यान्वयन गर्दै समयसापेक्ष बैंकलाई परिवर्तन गर्दै लैजानु आवश्यक भएको बताए। बैंक अगाडी बढ्ने बाटो तयार भएको भन्दै अब सुरक्षित ढंगले अगाडी लैजानु पर्ने समय आएको र बैंकले अब फड्को मार्ने बेला आएको बताए।
           
बैंकप्रति पहिले भन्दा धेरै सुधार भएको भन्दै उनले बैंकको ग्राहकलाई दिने सर्भिसमा सुधार अझै गर्न बाँकी रहेको बताए। काउन्टरमा बस्ने कर्मचारीलाई विभिन्न कसिमका तालिमहरु दिएर निजि क्षेत्रका बैंकहरुको जस्तै सेवा दिन आफुहरु लागिरहेको बताए।

अब बैंकको ब्यापारको दायरा बढाउनु पर्ने चुनौती रहेको र बजारमा देखिएको अस्वस्थ प्रतिष्पर्धालाई चिरेर आगाडी बढ्नु चुनौती रहेको बताए।  सरकारका  बजेट तथा कार्यक्रम अनुसार कृषि विकास बैंकको कार्यक्षेत्रमा अन्य बैंक पनि आउने वातावारण रहेकोले बैंकलाई चुनौती धेरै रहेको बताए। 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै