• २०८१ बैशाख ७ शुक्रबार

२०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को ‘योगमाया’ ले पायो 

kharibot

काठमाडौँ । नीलम कार्की ‘निहारिका’को ‘योगमाया’ ले २०७४ सालको मदन पुरस्कार जितेको छ। मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि छनौट गरेका आठ पुस्तक मध्येबाट 'योगमाया' ले मदन पुरस्कार जितेको छ। 

गुठीका अध्यक्ष कुन्द दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि छनोट भएका आठ पुस्तक मध्ये योगमायाले मदन पुरस्कार जितेको जानकारी दिएका छन्। 

समितिले यसअघि २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको थियो । मदन पुरस्कारका लागि ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’ रहेका थिए ।

त्यस्तै मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरज्यूलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ। 

स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू. ४०००। रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,०००। पुर्याइएको थियो ।

२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन ।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू एक लाखको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. दुई लाख छ । २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै