• २०८१ बैशाख १३ बिहीबार

प्रज्ञा–प्रतिष्ठानको बजेट सत्र करोड

kharibot

काठमाडौँ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले गत वर्षको भन्दा रु एक करोडको बजेट वृद्धि गरी यस वर्षको बजेट र कार्यक्रम तयार गरेको छ । प्रतिष्ठानको मङ्गलबार बस्ने ३३औँ प्राज्ञसभामा नेपालका भाषा, साहित्यको विकास तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न करीब रु १७ करोडको बजेटको तयारी गरिएको सदस्य–सचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । 

सभामा गत वर्षका आयव्यय तथा वार्षिक कार्यक्रमको प्रतिवेदनलाई पारित गरिनेछ भने यस वर्ष गर्न लागिएका कार्यक्रम सार्वजनिक गरिनेछ । गत वर्ष अध्ययन, अनुसन्धान र अनुवादका कार्य ४१ वटा भएका थिए भने गोष्ठी, सम्मेलन ६५ वटा, विभिन्न भाषामा २८ कृति प्रकाशन गरिएको प्रतिष्ठानले जनाएको छ । 

सभाले प्राज्ञ परिषद्लाई सुझाव र निर्देशन दिनुका साथै वार्षिक नीति योजना तथा कार्यक्रम स्वीकृत गर्छ । प्रज्ञा मानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान गर्नु, उपयुक्त व्यक्ति वा संस्थालाई कदर सम्मान वा पुरस्कृत गर्नेलगायत महत्वपूर्ण निर्णय गर्ने अधिकार सभालाई छ । 

दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना तत्कालीन सरकारले ‘नेपाल एकेडेमी ऐन २०१४’ अनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा गरेको इतिहास पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ अनुरुप प्रतिष्ठानमा हाल प्रधानमन्त्री प्रमुख संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री संरक्षक रहने व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै