• २०८१ बैशाख ७ शुक्रबार

दिमागको क्षमता बढाउने तरिका  

kharibot

तपाईंले कुनै व्यक्ति अथवा ठाउँको नाम सम्झिने प्रयास गरिरहनुभएको छ, तर सम्झन सक्नुभएको छैन । यस्तो कहिल्यै भएको छ ? 

उमेर बढ्नुका साथै स्मरण शक्ति पनि कम हुन्छ भन्ने गरिन्छ । त्यस्तै, मस्तिष्कघात अथवा विभिन्न तनावका कारण पनि मानिसको स्मरण शक्ति क्षीण भइरहेको हुन सक्छ । तर, तपाईं आफ्नो स्मरणशक्तिलाई चुस्त, स्फूर्त राख्न सक्नुहुन्छ यदि तल दिइएका तरिका आफ्नो जीवनमा अपनाउनुहुन्छ भने ।  

१. व्यायाम 
व्यायाम गर्नाले शरीर त स्वस्थ रहन्छ नै, दिमाग पनि स्वस्थ रहन्छ । व्यायाम गर्नाले दिमागका कोशिकाहरूबीच आपसी सम्पर्क राम्रो हुन्छ र नयाँ कोशिकाहरूको पनि निर्माण हुन्छ । विभिन्न किसिमका शारीरिक व्यायाम गर्दा प्रशस्त मात्रामा अक्सिजन पाइन्छ । यसले मस्तिष्कलाई सक्रिय राख्छ । यदि व्यायाम घरबाहिर खुला ठाउँमा गर्ने हो भने यसबाट भिटामिन डी पनि मिल्छ ।  

२. हिँड्दै डुल्दै सम्झिने प्रयास गर्नुहोस् 
यो तरिकाको प्रयोग प्रायः त्यस्ता व्यक्तिले गर्ने गर्छन् जसको दैनिकी निकै व्यस्त रहन्छ । यदि कुनै शारीरिक क्रियाकलापका साथै कुनै पनि कुराको स्मरण गर्ने कोसिस गर्ने हो भने त्यो छिटै सम्झिन सकिन्छ । अचेल विद्यालयहरूमा पनि हिसाब दौडजस्ता विभिन्न किसिमका प्रतियोगिताको आयोजना गर्ने चलन बढेको छ । यस्ता खेलमा शरीरका साथै मस्तिष्कको पनि उत्तिकै प्रयोग हुन्छ । यदि तपाईं कुनै प्रस्तुति दिँदै हुनुहुन्छ, भाषण गर्दै हुनुहुन्छ अथवा परीक्षा दिँदै हुनुहुन्छ भने बुँदाहरू याद गर्न घुम्दै, खेल्दै अथवा नाच्दै सम्झिने कोसिस गर्नुहोस् । तपाईं पक्कै फरक महसुस गर्नुहुनेछ । 

३. सन्तुलित आहार 
यदि तपाईं चिनी अथवा कुनै शक्तिपद्र्धक खाद्यपदार्थ लिनुहुन्छ भने त्यसको २० प्रतिशत भाग दिमागमा जान्छ । दिमागको काम गर्ने अवस्था ग्लुकोजमा निर्भर छ । यदि तपाईंको शरीरमा सुगरको मात्रा नियन्त्रित छैन भने तपाईंको दिमागले ठीक ढङ्गले काम नगर्न सक्छ । त्यसैले जुन खाद्यपदार्थबाट डोपामाइन केमिकल निस्किन्छ, त्यस्तो खाद्यपदार्थ ग्रहण गर्नाले मस्तिष्कलाई धेरै फाइदा पुग्छ ।  

४. एकान्तमा बस्नुहोस् 
अहिलेका मानिसहरू घर, पढाइ, जागीर, व्यवसाय आदि विविध कारणले धेरै तनाव लिने गर्छन् । तनाव लिँदा हाम्रो दिमाग धेरै छिटो चल्छ, तर धेरै तनाव लिनाले मस्तिष्कलाई आघात पुग्न सक्छ । त्यसैले तनावबाट मुक्त रहन एकान्तमा बस्ने गर्नुहोस् । यद्यपि, उक्त समयमा पनि दिमाग नचल्ने भने होइन । तथापि, शान्त स्थानमा बस्दा तनाव कम हुनुका साथै दिमागले पनि शान्ति प्राप्त गर्छ र पुनः ताजा हुन सक्छ । 

५. नयाँ चुनौतीको खोजी
दिमागलाई स्वस्थ राख्न नयाँ चुनौतीको खोजी गर्नुहोस् । नियमित रूपमा केही नयाँ कुरा सिक्नुहोस् । कुनै नयाँ भाषा, कला आदि सिक्ने प्रयासले दिमागको क्षमता बढाउँछ । यदि तपाईंको यस्तो रुचि छैन भने तपाईंको हातमा सधैं भइरहने मोबाइल अथवा कम्प्युटरमा नयाँ किसिमका गेमहरू खेल्ने प्रयास गर्नुहोस् । यसले तपाईंलाई आनन्द दिनुका साथै दिमागलाई पनि सक्रिय राख्छ । 

६. सङ्गीत सुन्नुहोस् 
सङ्गीतले दिमागमा अचम्मको प्रभाव पार्छ । गीत गाउने अथवा कुनै वाद्ययन्त्र बजाउने व्यक्तिको मस्तिष्क सक्रिय भइरहेको हुन्छ । कतिपय अवस्थामा स्मरणशक्ति गुमाइसकेका व्यक्तिले सङ्गीतकै कारण पुनः स्मरणशक्ति प्राप्त गरेका अचम्मका कुरा पनि सुन्नमा आएका छन् । 

७. पढ्नुहोस् र सुत्नुहोस् 
यदि तपाईं केही नयाँ कुरा पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाहरू जोडिन्छन् । जब तपाईं सुत्नुहुन्छ, तब ती कोशिकाबीचको सम्पर्क बलियो हुन्छ र तपाईंले पढ्नुभएको कुरा स्मृतिमा रहिरहन्छ । स्मृतिको लागि निद्रा अत्यन्त महत्त्वपूर्ण छ । त्यसैले सुत्नुभन्दा अगाडि डरलाग्दो चलचित्र हेर्नुभन्दा राम्रा पुस्तकहरू पढ्नु धेरै फाइदाकारी हुन्छ । 

८. बिहान यसरी उठ्नुहोस् 
निद्रा हामी सबैलाई धेरै आवश्यक छ । यदि हामी पाँच घण्टाभन्दा कम समय सुत्छौं भने हाम्रो मस्तिष्क पूर्णरूपले सतर्क रहन सक्दैन । त्यस्तै, १० घण्टाभन्दा बढी सुत्नाले पनि हाम्रो मस्तिष्क सुस्त रहन्छ । त्यसैले निश्चित समयमा सुत्नु र उठ्नु दिमागलाई सक्रिय र स्फूर्त राख्न लाभदायी हुन्छ । अँध्यारो भइसकेपछि सुत्नु र सूर्यको किरणसँगै उठ्नु सबैभन्दा राम्रो मानिन्छ । उदाउँदो सूर्यको किरणले मस्तिष्कलाई सक्रिय राख्न सहयोग गर्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै