• २०८१ बैशाख ८ शनिबार

सौन्दर्य वृद्धिका लागि मड थेरापी 

kharibot

प्राचीन कालमा विभिन्न उपचारका लागि माटो, खरानी, गोबर आदि प्राकृतिक वस्तुको प्रयोग गर्ने चलन थियो । जनै पूर्णिमामा पनि गुरुकुलका विद्यार्थीहरूले माटो, खरानी आदि लगाई नुहाएको फोटो विभिन्न सञ्चार माध्यममा आए । हाल मड थेरापी अर्थात् शरीरमा माटो लगाई उपचार गर्ने विधि निकै प्रचलित छ । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले यो विधि शरीरलाई स्फूर्त, निरोगी र सुन्दर राख्न निकै उपयोगी भएको सिद्ध गरेका छन् । विशेषतः छालाको रोग र सुन्दरतासम्बन्धी समस्या हटाउन मड थेरापीलाई उपयोगी मानिन्छ । यो एक प्राकृतिक उपचार हो । 

विभिन्न किसिमका जडीबुटी वरिपरिको सफा र नरम माटो उपचारको लागि बढी लाभदायक मानिन्छ । यसको लेप बनाएर अनुहारमा लगाउने हो भने चाँया, पोतो, डण्डीफोर आदिबाट छुट्कारा पाउन सकिन्छ । छाला सुख्खा भएमा यो विधिले छालालाई नरम बनाई शरीरमा चमक प्रदान गर्छ । यसले शरीरमा भएका विभिन्न किसिमका दागहरू पनि विस्तारै हट्दै जान्छन् ।

पेटको तल्लो भागमा माटो लगाउने हो भने यसले पाचन क्षमतामा वृद्धि गर्छ । यसले शीतलता प्रदान गरी आँतको ज्वरो कम गर्छ । यो ग्यास्ट्रिक कम गर्न पनि सहयोगी हुने बताइन्छ । पेटमा माटो लगाउनाले कब्जियत पनि कम हुन्छ । त्यसैले पेटका विभिन्न समस्यालाई हटाउन मड थेरापी लाभदायक छ । पखाला र उल्टीमा पनि यो उपयोगी हुन्छ । पखाला लाग्दा पेटमा माटोको लेप बनाई लगाउनाले यसले पेटको दुखाइ कम गरेर आराम दिन्छ र पखाला लाग्न कम हुन्छ । त्यस्तै, धेरै समय उल्टी भइरहेको छ भने छातीमा माटोको लेप लगाउनाले उल्टी बन्द हुन्छ । मड थेरापीले मांसपेशीको पीडा कम गरी थकान पनि हटाउँछ । 

आँखाको माथिपट्टि माटो लगाउनाले आँखालाई आराम मिल्छ र आँखालाई तेजिलो बनाउन पनि यो सहयोगी हुन्छ । यसबाहेक आँखासम्बन्धी रोग हटाउन पनि यो सहयोगी हुन्छ । तर, यस्तो गर्दा आँखाभित्र भने माटो पर्न दिनुहुँदैन । त्यस्तै, मड थेरापीले टाउकोको दुखाइ र तनावबाट पनि छुटकारा दिलाउँछ । विशेषतः गर्मी र ओसिलो मौसममा टाउकोसँग सम्बन्धित विभिन्न किसिमका समस्याहरू हुन सक्छन् । यस्तोमा निधारमा माटो लगाई आराम गर्नाले शीतलता प्रदान गरी टाउकोको दुखाइ हट्छ र तनाव पनि कम हुन्छ । 

त्यसैले विभिन्न रोगको उपचार गर्न र शारीरिक सौन्दर्य बढाउन अचेल मड थेरापी प्रचलनमा निकै आएको छ । अचेल विभिन्न प्रकारका केमिकलयुक्त सौन्दर्य सामग्रीको प्रयोग गर्नाले हाम्रो छालालाई असर परिरहेको हुन सक्छ । सहरबजारमा जताततै फैलिएको धुवाँधुलोेले शरीरमा धेरै प्रकारका रोग निम्त्याउन सक्छ । यस्ता रोगबाट बच्न मड थेरापी लाभदायक हुन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै