• २०८१ बैशाख १४ शुक्रबार

‘मुनामदन’ नाटकमा

kharibot

कुमार चौलागाईँ

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ ।

खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दै छ । आफू मोरङ जाँदा त्यहाँका कलाकारको सक्रियतामा त्यहाँ मञ्चन गरिएको देखेपछि काठमाडौँमा पनि यसलाई मञ्चन गर्ने सोच बनाएको निर्देशक सविन कट्टेलले बताए । “स्थानीय प्रतिभालाई बाटो देखाउन मैले यो प्रयास गरेको हुँ ”, उनले भने, “विराटनगरका कलाकारले सुन्दर एक तलाको घर बनाएका थिए, त्यसमा तला थप्ने काममा म प्रयास गर्दै छु ।”

मोफसलका कलाकारमा लुकेर रहेका प्रतिभालाई उजागर गराउने उद्देश्यले आफूले फरक तरिकाले कृतिलाई अघि बढाएको उनको भनाइ छ । ‘मुनामदन’को नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दीपकले गरेका छन् । नाटकमा मदनको भूमिकामा निर्देशक कट्टेल तथा मुनाको भूमिकामा दीपा पोखरेल छन् ।

अन्य कलाकारमा मदनकी आमाको भूमिकामा सुष्मा निरौला, दिदीको भूमिकामा पवित्रा खड्का, ठूलेको भूमिकामा लकेश राई र गगनेको भूमिकामा एन्जन पौडेल छन् । त्यस्तै सरिता ढुङ्गाना, सञ्जीव राई, जिना राईलगायत कलाकारको भूमिका छ । पहिलो दिन बुधबार दर्शकको उपस्थिति उल्लेख्य थियो ।

आफ्नो मृत्युअघि देवकोटाले “म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाहिँ नजलाउनू” भनेको बताइन्छ । साझा प्रकाशनबाट प्रकाशन हुने कृतिमध्ये धेरै समयदेखि सबभन्दा बढी बिक्ने पुस्तकमा पनि मुनामदन नै पर्छ । ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ र ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ जस्ता मनै छुने श्लोक ‘मुनामदन’मा उल्लेख छ ।

खण्डकाव्यको कथा यस्तो छः समाजमा धारो बनाउने आफ्नी आमाको इच्छा पूरा गर्न भोट गएका मदन फर्कंदा बाटामा बिरामी हुन्छन् । सँगै गएका साथीहरुले छाडेपछि उनलाई एक जना भोटेले फेला पारी उपचार गर्न आफ्नो घर ल्याउँछन् । उनको एक साथीले चाहिँ मदन उतै मरिसकेको खबर पठाइसकेको हुन्छ । उपचारपछि मदन घर फर्किँदा उनकी आमा र श्रीमतीको मृत्यु भइसकेको हुन्छ ।

केन्द्रमा मात्र नभएर मोफसलमा पनि सशक्त कलाकार रहेको उदाहरण दिन नाटकलाई काठमाडौँमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । शनिबारबाहेक साँझ ५:३० बजे मञ्चन गरिने नाटक शनिबार भने अतिरिक्त अपराह्न १ बजे पनि देखाइनेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै