• २०८१ बैशाख १३ बिहीबार

केन्यामा गैंडा स्थानान्तरण अभियानमा कालो बादल, ११ गैंडा मरे

kharibot

केन्या । लोपोन्मुख गैंडा बचाऊसम्बन्धी केन्याको एउटा अभियानको असफलताले विश्वभरका वन्यजन्तु संरक्षणकर्मीहरु भयभीत र चकित भएका छन् ।

केन्याका ११ वटा महत्वपूर्ण काला प्रजातिका गैंडालाई नयाँ स्थानमा स्थानान्तरण गरिएको थियो । यो अभियान गैंडा संरक्षणमा कोशेढुङ्गा हुने अपेक्षा गरिएको थियो ।

तर यी गैंडा एकाएक कसरी मरे ?

गैंडाको मृत्युको मुख्य कारण नै नयाँ बासस्थानको पानीमा नुनको मात्रा बढी भएर विषाक्त अवस्था सिर्जना भएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ । तर एएफपीको अनुसन्धानमा समस्याबारे सबै जानकार रहेका र जायज सरोकारलाई बेवास्ता गरिएको छ ।

विज्ञहरुले उक्त नयाँ बासस्थान गैंडाका लागि उपयुक्त नरहेको भन्दै पटकपटक चेतावनी पनि दिएका थिए । तैपनि गैंडा स्थानान्तरण परियोजना अगाडि बढाइयो – र अहिले सरकारी अधिकारीहरु एकअर्कामाथि दोष थोपरिरहेका छन् ।

गैंडा स्थानान्तरण परियोजना केन्याका पर्यटन तथा वन्यजन्तु मन्त्री नजिब बलालाले जुन महिनामा ठूलै कार्यक्रमबीच शुभारम्भ गरेका थिए । यस परियोजनाका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले करिब १० लाख अमेरिकी डलर उपलब्ध गराएको थियो ।

द-बिग-मुभ नाम दिइएको यो अभियानले गैंडाको चोरी शिकारीबाट गैंडाको संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो । प्रकृति संरक्षण युनियन (आइयूसिएएन) ले काला गैंडालाई अति सङ्कटापन्न जीवको सूचीमा सूचीकृत गरेको छ । तत्काल संरक्षणको कुनै विशिष्ट अभियान सञ्चालन नगरिए यी गैंडा विश्वबाट लोप हुने खतरामा पुगेको युनियनको भनाई छ ।

नैरोबी र नाकुरुका निकुञ्जबाट यी गैंडालाई चाभो इस्ट नामको नयाँ बासस्थानमा पठाइएको लगिएको थियो । केन्या वन्यजन्तु सेवा (केडब्लुएस) र डब्लुडब्लुएफले यी गैंडाको बासस्थान निर्माणका लागि छ वर्ष बिताएका थिए ।

नयाँ बासस्थानमा गैंडालाई जमिनबाट पम्प गरेको पानी खुवाउने प्रबन्ध गरियो । यो पानी ज्यादै नुनीलो थियो । यस बासस्थानमा रहेका अरु जीवजन्तु पम्प गरिएको पानीको छेउमा समेत आउँदैनथे, केन्याली पशुचिकित्सक युनियनका अध्यक्ष डा बेन्सन किबोरले बताए ।

लवणयुक्त पानीले जीवजन्तुलाई तिर्खा मात्र लगाउँथ्यो, र अरु बढी पानी खानुपथ्र्यो, र यसबाट रगत बाक्लो हुने तथा रक्तप्रवाहको गतिलाई सुस्त बनाउँथ्यो । किबोरले भने, जीवजन्तुको शरीरको “सुख्खापन” उच्चस्तरमा पुगेको थियो ।

बोल्ट नाम दिइएको गैंडा सबैभन्दा पहिले मरेको थियो र त्यसपछि अरु गैंडा एकपछि अर्को गर्दै मरे । अन्तिम गैंडा ज्याक यति कमजोर भइसकेको थियो कि सिंहले आक्रमण गर्दा आफूलाई जोगाउन नसक्ने अवस्थामा पुगेको थियो । सिंहको आक्रमण झेलेको ज्याक अर्को दिन मरेको थियो ।

“म अति चिन्तित भएको थिएँ । यी गैंडा धेरै ठूलो समस्या छन् भन्नेमा मलाई शङ्कै थिएन,” केडब्लुएसका पूर्व अध्यक्ष एवं वरिष्ट संरक्षणकर्मी नेहेमिया रोटिचले बताए ।

रोटिच र परियोजनाका केही पूर्व सदस्यहरुले आफूहरुले नयाँ बासस्थानको पानीको अम्लियपना र खानाको अभावका कारण गैंडा स्थानान्तरण कार्यक्रमलाई धेरैपटक स्थगित गरेको बताए । “छनौट गरिएको ठाउँ नै राम्रो थिएन,” रोटिचले एएफपीलाई बताए । उनले त्यस ठाउँको दुईपटक भ्रमण समेत गरेका थिए । सुख्खा र नदीबाट निकै टाढा रहेको नयाँ बासस्थानमा पानीको व्यवस्था गर्न पम्प जडान गरिएको थियो ।

गैंडा स्थानान्तरण कार्यक्रम आयोजना गरिएको बारे केडब्लुएस बोर्डलाई दुई दिन अघि मात्र सूचना दिइएको थियो । यही सूचनामा स्थानान्तरणको अगुवाई डब्लुडब्लुएफले गर्ने जानकारी गराइयो ।

“हामीले भन्यौ, यो सम्भव छैन,” उनले त्यसबखतको संवाद सुनाए । तर, दबाब निरन्तर दिइयो ।

बोर्ड सदस्य हिथ र रोटिच दुबैले स्थानान्तरणका लागि डब्लुडब्लुएफले जबर्जस्ती गरेको आरोप लगाए । अक्टोबर २०१७ मा बोर्डले स्थानान्तरणका लागि शर्तसहितको स्वीकृति प्रदान गरेको थियो जसमा नयाँ बासस्थान सुरक्षित हुनुपर्ने शर्त राखिएको थियो ।

बोर्डको म्यान्डेट अप्रिल २०१८ मा सकिएको थियो । त्यस समयसम्म पनि व्यवस्थापनलाई गैंडा स्थानान्तरण गर्ने सङ्केत गरिएको थिएन । तैपनि, यो कार्यक्रम तीन महिना ढिला सुरु गरियो र नयाँ बोर्ड गठन भएकै थिएन ।

स्थानान्तरण सम्बन्धी बिबाद मे २०१७ को बैठकमा जोडदार रुपमा उठेको थियो । यस बैठकमा केडब्लुएसका अधिकारीहरु र डब्लुडब्लुएफका मुख्य गैंडा विज्ञ मार्टिन मुलामा सहभागी थिए । बैठकमा दुईवटा माइन्यूट पनि लेखिएका थिए ।

पहिलो माइन्यूटमा गैंडासम्बन्धी कुनै सरोकार व्यक्त गरिएको छैन, तर दोस्रो माइन्यूटमा “स्थानान्तरण गर्न कुनै पनि हालतमा सम्भव नरहेको” भन्दै चेतावनी दिइएको छ ।

केडब्लुएसले यसै वर्ष १५ पटक गरेको पानीको परीक्षणमा स्वीकृत स्तरभन्दा तीनगुणा बढी पानी नुनीलो रहेको देखिएको थियो । किबोरका अनुसार, यी महत्वपूर्ण सूचकहरु पहिलो गैंडा बिरामी हुँदासमेत पशुचिकित्सकलाई हेर्न पनि दिइएन । परिणामस्वरुप, पशुचिकित्सकहरुले अरु नै कारणहरु, जस्तै सर्पको डसाई, को खोजी गर्न समय बिताए ।

केडब्लुएसका पूर्व बोर्ड सदस्यहरुले मन्त्री बलालाले जबर्जस्ती गैंडा स्थानान्तरण गर्न लगाएको आरोप लगाएका छन् । केही सदस्यहरुले उनको राजीनामा समेत मागेका छन् । तर मन्त्री बलालाले आफूले कुनै गल्ती नगरेको भन्दै प्रतिबाद गरेका छन् । उनको आरोप छ, "गैंडा स्थानान्तरणका लागि ठाउँ उपयुक्त नभएको भए पहिल्यै मलाई किन जानकारी गराइएन ?"

केन्याली संरक्षणकर्मी पाउला काहुम्बुको भनाई छ, “राष्ट्रिय निकुञ्जभित्रैबाट रेलमार्ग निर्माण गर्ने र वनक्षेत्र अतिक्रमण गरी अरु पूर्वाधार निर्माणका कार्यहरु गर्नेतर्फ सरकार लागिपरेकाले यो केन्याका लागि अन्धकार युग हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै