• २०८१ बैशाख ४ मंगलबार

एशियाका हस्तकला व्यवसायी काठमाडौँमा, एक सय कालीगढ तथा कलाकार सहभागी 

kharibot

काठमाडौँ। एशिया प्रशान्त क्षेत्रको हस्तकलाको विकास र विस्तारका लागि एशियाका हस्तकला व्यवसायी काठमाडौँमा भेला भएका छन् । 

राजधानीमा विहिबारदेखि शुरु भएको विश्व कला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औं साधारण सभा र अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा विभिन्न १६ मुलुकका कालीगढ तथा कलाकारले आ–आफ्ना मुलुकका कला, संस्कृतिसँग हस्तकला र वास्तुकलाका सामाग्रीसहित उनीहरु भेला भएका हुन् । 

नेपाल हस्तकला महासंघको संयोजनमा आयोजित सम्मेलन यही भदौ १७ गतेसम्म चल्नेछ । सम्मेलनसँगै गरिएको प्रदर्शनीमा करीब १०० प्रतिनिधि सहभागी छन् । सन् १९६४ मा स्थापना भएको विश्वकला परिषद्ले नेपालमा पहिलोपटक सम्मेलन गरेको हो । जनावरका हाड, पक्षीका प्वाख, भेँडाका ऊनबाट बनाइएको विभिन्न कपडा, काठबाट बनाइएका मूर्ति, माटोबाट सजाइएका सेरामिक्सका सामान आदिले प्रदर्शनीस्थलमा रौनक थपिएको छ । 

एशिया प्रशान्तभित्रका कला र शिल्पको संरक्षण र प्रवद्र्धन गर्दै कलाकारको जीवनस्तर उकास्न आयोजित सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बङ्गलादेश, काजकस्तान, ओमन, प्यालेस्टाइन, इरान, मलेसिया, श्रीलङ्का, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया, कुवेत र मौरिससका कलाकार तथा हस्तकला पारखी सहभागी छन् । 

सहभागी मुलुकका प्रतिनिधिहरुले एकआपसमा उक्त परिषद्का सदस्य देशबीच सुमधुर सम्बन्ध कायम गरी आपसी सद्भाव बढाउन कला र शैली निर्माणसम्बन्धी अनुभव एकआपसमा आदानप्रदान गरेका छन् । 

प्राचीन कला शैलीलाई संरक्षण गरी हस्तकला क्षेत्रमा प्रयोग गर्ने, कला र शिल्पमा क्रियाशील हस्तकर्मीलाई प्रशिक्षण कार्यशाला, गोष्ठीको व्यवस्था गर्ने जस्ता विषयमा छलफल केन्द्रीत भएको छ । पछिल्लो समय विकास भएका विज्ञान र प्रविधि तथा सूचना क्षेत्रको प्रयोग गर्दे गुणस्तरीय उत्पादन, बजारीकरणजस्ता विषयमा सम्मेलनको अवधिभर छलफल हुनेछन् । 

नेपालमा काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभालगायतका जिल्लामा धेरै हस्तकला उत्पादन हुने गरेको छ । 

उक्त सम्मेलनको शुभारम्भ गर्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले वार्षिक करीब १० अर्बको कारोवार हुने हस्तकला उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको बताए । “प्रदेश सरकारले नेपाली परम्परागत हस्तकलालाई प्रदेशका १३ वटै जिल्लामा फैलाउने लक्ष्य राखेको छ”, उनले भने । 

प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल हस्तकला क्षेत्रको विकासले देशमा रोजगारीका अवसर वृद्धि गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने बताए । यसको प्रवद्र्धन गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको उनी बताउछन् । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य आफ्नो महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्ने अभियान शुरु गरेको बताए ।नेपालबाट निर्यात हुने हस्तकलामध्ये प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायत हस्तकलाका सामग्रीको विदेशमा अत्यधिक माग रहेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ललितपुर ललितकला र हस्तकलाको प्राचीन नगरीका रुपमा परिचित रहेको भन्दै गुणस्तरीय उत्पादनका लागि कालीगढलाई तालीमको व्यवस्था महानगरले मिलाउने बताए । 

परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घाडा हिज्जावी एशिया क्षेत्रको गरीबी न्यूनीकरण गर्ने र सामाजिक रुपान्तरणमा हस्तकला उद्योगको महत्व रहेको बताउछन् । सम्मेलनमा नेपाली कला र संस्कृतिको बारेमा अन्तर्राष्ट्रिय क्षेत्रका कलाकारलाई परिचित गराउने कार्यक्रम रहेको नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्य बताउछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै