• २०८१ बैशाख १२ बुधबार

बिम्स्टेक सम्मेलन सम्पन्न, १८ बुँदे घोषणापत्र जारी

kharibot

काठमाडौं । १८ बुँदे बिमस्टेक घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ ।

व्यापार, लगानी र उर्जा सहकार्यका विस्तारका विषयमा एक जुट हुनुपर्ने लगायतका १८ बुँदे विषयमा समझदारी जुटाउँदै चौथो बिमस्टेक सम्मेलन सकिएको हो ।

यस्तै, सदस्य राष्ट्रका विदेश सचिवहरुको १९ औं बैठकले तयार पारेको विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्रमा सरकार प्रमुखको उपस्थितिमा सदस्य राष्ट्रका विदेश मन्त्रीले हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता समेत गरेको छ । त्यस्तै  सम्मेलनका क्रममा हिमालदेखि समुद्रसम्मलाई जोड्ने विशाल मञ्चका रुपमा बिमस्टेकलाई विकास गर्नुपर्नेमा सात राष्ट्रले एक्यबद्धता समेत जनाएका थिए ।

अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ । साथै, सम्मेलनको अन्तिम सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण समेत गरेको छ । 

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेयता बितेका साढे चार वर्षमा सबै सदस्य राष्ट्रबाट निरन्तर सहयता प्राप्त भएकामा हार्दिक आभार प्रकट गर्दै नयाँ अध्यक्ष राष्ट्र श्रीलङ्कालाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए ।

यसअघि आजै बिम्स्टेक सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्रा तथा सरकार प्रमुख सहभागी भएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख तथा उनीहरूका जीवनसाथीलाई स्वागत गरेका थिए । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए । 

नितान्त निजी एवं ऐकान्तिक भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो । रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्र तथा सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटका उत्तराद्र्धमा सामूहिक तस्बीर खिचाउने कार्यक्रम भएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै