• २०८१ बैशाख १३ बिहीबार

पुस्तक समीक्षा : 'मनको सङ्घार' पढेपछि ...

kharibot

सिक्किमेली नारी स्रष्टा हुन् वीणाश्री खरेल प्रधान । सरल र सहजरूपमा मिठास तरिकाले लेख्नु कवयित्रीको खूबी हो । पढ्दा–पढ्दै आनन्द लाग्ने, पढ्न थालेपछि उठ्न मन नै लाग्दैन । मैले एक बसाइमा २२ वटा कविता पढेछु । मैले थाहै पाइन । कविताले मनमा भएको वैमनश्य मेटाउँछ । मनमा एक प्रकारको खुसी दिन्छ । सबै मान्छेहरु कवि बन्न कहाँ सक्छन् र ? कविता बुझ्न त हृदय चाहिन्छ । 

कवयत्री आफैभित्र सशक्त भएर उभिएकी छिन् । मनभित्र भएको कुरालाई शब्दद्वारा लेख्नु उनको कला हो । वीणाश्रीका कविताहरुमा पस्दा सिक्किम गान्तोक वरिपरि ठाउँहरु सुगन्ध भेट्टाउन सकिन्छ । मनको सङ्घारभित्र जीवनका सबै भागहरु छन् । दुःख–सुख, प्रेम–निराशा, देशप्रेम जिन्दगीमा आउने विडम्बना, मान्छेहरुका स्वाभिमान आदि । कविताहरु पढ्दा–पढ्दै मन कतै हाँस्छ कतै रुन्छ । गला अवरुद्ध हुन्छन् । 

प्रत्येक कविताहरु हृदयभित्र प्रवेश गर्दछ । मन छुन्छ । कतै आमाको सम्झना गराउछ भने कतैचाहिँ जिन्दगी के हो बोध गराउंछ । कुनैचाहिँ मृत्युलाई जित्ने बनाउंछ । कवयित्री आफैभित्र शक्तिशाली छिन् । मनबाट नै । सिक्किमको गान्तोकमा सरकारी जागीर खाएर पनि । निरन्तर रूपमा साहित्य साधना गर्छिन् । उनका कृतिहरु प्रश्नचिह्न (कविता सङ्ग्रह) १९९७ जनपक्षबाट प्रकाशित, मेरो बकपत्र कविता संग्रह २००३ र मनको सङ्घार आदि । कृतिहरु योगदान दिइसकेकी छिन् । 

मनको सङ्घारभित्र ५८ वटा कविताहरु छन् । कतै छोटा छोटा छन् र कतैचाहिँ लामा लामा । यसको प्रकाशन निर्माण प्रकाशन नाम्ची दक्षिण सिक्किमले गरेको हो । यसको मूल्य भारु १०० छ । केही कविताहरु मनन गरौं ।

'कविता पसलमा 
सजाएका थुप्रै कविताहरु 
मोलभावको प्रतीक्षामा 
कविताका आकृतिहरु 
कतिसम्म बेचिनुपर्ने हो 
तिम्रो स्वाभिमानका अस्मिताहरु’(स्वाभिमान) पृष्ठ २७

वीणाश्रीका सरल कविताहरु सरल दङ्गमा लेख्ने प्रतिभा छ । उनी भ्रममा बाचेकी हुन् जस्तो अनुभूति हुन्छ । तर पनि कविताहरु हर्षित छन् । हाम्रा स्वाभिमानहरु थोक पसलमा सजाएजस्तै देखिन्छ । हाम्रा स्वाभिमान र अस्मिताहरु । त्यो भएर बेलाबेला हाम्रा स्वाभिमानहरु जोखिममा पर्दछ । त्यो भएर  बचाइ राख्नुपर्दछ । वीणाश्री आफू बसेको ठाउँ प्रति इमान्दारी भएकी छिन् । सधैभरी इमान्दारी र सद्भावना राख्न उनी चाहन्छिन् । र त्यो भएर आफ्नो स्वाभिमान देश गाउँ सहरतिर घरीघरी देखिरहेकी हुन्छिन् । त्यो कवितामा चिन्तित बनेकी हुन् ।

'तिमीलाई के थाहा ?' कवितामा उनी फेरि भन्छिन् -

'तिमीलाई के सुनाऊँ ?
म भरिएर आएँ कि 
छचल्किएर आएं ।
अथवा पीडाले भरिएर आएँ 
तिम्रो पीरको भारी पनि 
सँगै बोकिल्याएं’(तिमीलाई के थाहा ?) पृष्ठ ३३ 

जब मनमा पीडा हुन्छ, मनको बह पोख्ने बाटो कविता बन्दछ । जीवन त एउटा पीडाले भरिएको हुन्छ । यस्ता पीडाका कविता पोख्न कवयित्री सिपालु छिन् । उनी भन्छिन् भरिनु र पोखिनु त सबैमा छ । जिउनु त समयसम्म छ । जुनको अर्थ छैन त्यस्ता पीडा लिएर हामी दुखित पीडित भएका हुन्छौ । पीडाका घैला नसकिदै दुखपीडा जन्मिहाल्छ । त्यो भएर होला पीडासँगै अर्को पीडित बनाउने कुरा पनि लिएर आएकी छु भन्छिन् वीणाश्री ।

समय एकनासको छैन । समय परिवर्तनशील छ । वर्तमान समय एकैछिनमा भविष्यत् हुन्छ । मेरो प्रिय गान्तोकलाई जति मैले प्रेम गरेको छु । श्रद्धाको फूल चढाएको छु । यस्तो आत्मीयता र घनिष्ठ भोलिका दिनमा नहुन पनि सक्छ उनी डराउँदै भन्छिन्, ‘यस्तो प्रियनाता तोडिन्छ कि । उनलाई लागिरहन्छ ।’

मैले माया माया मार्छु कि मेरो प्रिय गान्तोकलाई भन्ने डर उनलाई लाग्छ । आफ्नो मन, विचार, भावना छिनछिनमा बदलिएर जान्छन् । मान्छेका रुप शरिर बैँस आदि पनि परिवर्तन हुन्छ ।

उनी फेरि कवितामार्फत भन्छिन् -

'एकदिन मैले 
तिमीसित नाता तोड्नैपर्छ 
थाहा छैन 
कुन ठाउँमा ?
कहाँ ? 
कसरी ?
कुन समय तोडिन्छ त्यो नाता ! (प्रिय गान्तोकबाट) पृष्ठ७७

वीणाश्रीका कविताहरु सबै सक्षम बनेका छन् । कविताहरु मर्मस्पर्शी छन् । सबै कविताहरुले मन छुन्छ । कवयित्री असन्तुष्टिमा बाँचेकीजस्तो देखिन्छ । जिन्दगीमा आउने सबै दुःखपीडा छ भन्दैमा निरर्थक निराश बनिहाल्नुपर्ने अवस्था छैन । सिक्किममा बसेर भए पनि नेपाली भाषा र साहित्यलाई अनन्त माया र सद्भाव राख्छिन् । एउटा सशक्त नारी हस्ताक्षर भएकी होनहार प्रतिभा हुन् कवयत्री । मलाई सबै कविताहरुले मन छोयो । थोरै भए पनि पीडा, दुःख, मान्छेका असन्तुष्ट हुने बानी छ । अहिले मलाई सबै कुराबाट सन्तुष्ट मिलेको जस्तो लागिरहेको छ । सबै दुःख पीडाहरु मेटिएजस्तो लाग्छ । 

कविता पढुञ्जेल गान्तोक र सिक्किमको सुगन्ध आइरह्यो । मलाई मन परेको कविताहरु हावा, तिमीलाई के थाहा ?, स्वाभिमान, प्रिय गान्तोक शब्दहरु घनिष्ठता, सपनाहरू, एकान्त, मृत्युको साक्षी कविता हुन् । मनको संङ्घारभित्र पस्दा कवयित्रीले जीवन र जगतलाई हेर्ने दृष्टिकोण छुट्टै बनाएकी छिन् । सबै कविताहरु निराशा र नैराश्यभाव असन्तुष्टिले छोपेजस्तो देखिन्छ । तर कविताहरु निर्मल निश्चल छन् । जीवनयापन गर्दा आउने समस्याहरु केलाएर निफनेजस्तै देखिन्छ । संवेदनशीलताकी धनी हुन् कवयित्री खरेल ।

नारी हस्ताक्षर स्वनान सिक्किमेली कवि वीणाका कविता पढ्न पाएकोमा खुशी लाग्यो । उनका कविताहरु अझै सशक्त बनेर जाओस् मेरो हृदयबाट नै शुभकामना ! 

- बिर्तामोड, झापा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै