• २०८१ बैशाख १३ बिहीबार

बाग्लुंगमा रोपाइँ नाच प्रदर्शन

kharibot

बाग्लुंग । एक महिने लामो बर्खेनाचअन्र्तगत शुक्रबार जिल्लामा ‘रोपाइँ नाच’ देखाइएको छ । बेनीमा बस्ती बसेदेखि नै देखाउन थालिएको उक्त नाचसँगै लाखे, घोडा, नागनागीनी, गोरु र जोगी नाच पनि देखाइने गरिन्छ ।

नेपाल भाषा मंका:खल: को मूल आयोजनामा निकालिएको उक्त नाचमा जिल्लास्थित विभिन्न जातजातिको वेषभूषामा सजिएका कलाकारले नृत्य देखाएका थिए । नेवार समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाचको निरन्तरता र संरक्षणका लागि बेनीमा बसोबास गर्ने सबै समुदायको योगदान रहेकाले पछिल्लो समय यो नाचलाई समेत समावेशी बनाउन थालिएको छ ।

समावेशी रोपाइँ नृत्यमा म्याग्देली कला र संस्कृति संरक्षणमा सबै समुदाय एकताबद्ध भएको सन्देश प्रवाह गराइएको गायनमा सहभागी हुनुभएका लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसीले बताए ।

करीब १०० कलाकार सहभागी भएका उक्त नाचमा नेवार समुदायसँगै, मगर, छन्त्याल, बाह्मण, क्षेत्री, थकाली, दलितलगायत जातजातिको सहभागिता गराइएको नेपाल भाषा मंकाः खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । विगतदेखि नै बर्खेनाचलाई सबै समुदायको साथ र सहयोग रहँदै आएको चर्चा गर्दै उनले यहाँका कलाकारले समेत रोपाइँ नाचमा उल्लेख्य सहयोग पुर्याएको बताए ।

परम्परागत समाजमा मुखियाको घरमा खेत रोपाइँ गर्न जाँदा रोपारले धान रोपेको र बाउसेले कोदालो खन्दै गरेको दृष्यलाई यस नाचमा देखाउने गरिन्छ । असारे गीत गाउँदै बजारमा धान रोपाइँको झल्को दिने गरी नाच प्रदर्शन गर्दा बजारवासी र सर्वसाधारणले मनोरञ्जन लिएका थिए । विसं २०७२ पछिमात्र यसपालि उक्त नाच देखाइएको हो ।

नाचमा कलाकार धेरै लाग्ने र व्यवस्थापन र खर्च जुटाउन कठीन हुने भएकाले यस्ता नाचलाई हरेक वर्ष देखाउन नसकिएको नेपाल भोषा मंका:खलः अन्तर्गतको युवाको समूह ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजका दिनसम्म विभिन्न नाच देखाएर मनाइने बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । खासगरी लाखे नाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ ।

बेनीमा बसोबास भएदेखि नै बर्खेनाच देखाउने चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तीजका दिन दानवीयस्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै