• २०८१ बैशाख १३ बिहीबार

सार्कलाई गतिशील तुल्याउन श्रीलङ्का प्रतिबद्ध

kharibot

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गरे ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग स¬ङ्गठन (सार्क) सचिवालयको निरीक्षण गरेपछि महासचिवसहित आठवटै देशका निर्देशकसँगको अन्तरक्रिया उनले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवर्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्न आग्रह गरे ।

राष्ट्रपति सिरिसेनाले क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउन सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिए । सो अवसरमा सचिवालय परिसरमा उनले बोधिचित्तको बिरुवा रोपे । सचिवालय भ्रमणका क्रममा सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले रोपेर झाङ्गिएका बिरुवा,सचिवालयमा रहेका सगरमाथा, लुम्बिनी नामक विभिन्न प्रेक्षालय र त्यहाँ राखिएका आठ वटै देशका कलासंस्कृति झल्कने चित्र एवम् तस्वीर तथा सार्कका पूर्वमहासचिवबारे पनि जानकारी लिए ।

सार्क सचिवालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले दक्षिण एशियाका जनताको हित प्रवर्धन गर्न क्षेत्रीय सहयोग र एकीकरणमा श्रीलङ्काले निरन्तर सहयोग गर्ने प्रतिबद्धताका साथ सदस्य देशको आर्थिक वृद्धि, सामाजिक प्रगति र सांस्कृतिक संवादमा जोड दिए । पुस्तिकामा उनले सार्कका महासचिव र सचिवालयमा कार्यरत सबै कर्मचारीको लगनशीलताको सराहना पनि गरे ।

त्यसअघि सार्कका महासचिव अम्जद हुसेन बी सियालले सार्कको १९औँ शिखर सम्मेलन चाँडोभन्दा चाँडो आयोजना गर्न सदस्य राष्ट्र्बीच सहमति जुट्ने विश्वास व्यक्त गर्दै १८औं शिखर सम्मेलनमा शीर्ष नेतृत्वले सार्कलाई गतिशील बनाउने निर्णय गरेको स्मरण गरे ।

सार्कलाई प्रभावकारी एवम् परिणाममुखी तुल्याउन श्रीलङ्काले निरन्तर सहयोग गरेकामा श्रीलङ्काली सरकार र जनताप्रति आभार व्यक्त गर्दै महासचिव सियालले सार्क सांस्कृतिक केन्द्र स्थापनाका निम्ति १७ एकड जमीन र एक करोड अमेरिकी डलर उपलब्ध गराइएको बताए ।

उनले सार्कको वर्तमान अध्यक्ष नेपालसहित सबै सदस्य देशले सचिवालयलाई निरन्तर साथ, सहयोग र समर्थन गरेकामा कृतज्ञता व्यक्त गरे । राष्ट्रपति सिरिसेनाको सोमबार पर्ने जन्मोत्सवको पूर्वसन्ध्यामा सार्क सचिवालयमा भएको उक्त कार्यक्रममा महासचिव सियालले राष्ट्रपतिको सुख, सुस्वास्थ्य र प्रगतिको कामना पनि गरे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै