• २०८१ बैशाख ८ शनिबार

प्रकाण्ड रिहा हुनासाथ फेरी पक्राउ 

kharibot

काठमाडौँ। विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा सोमबार रिहा हुनासाथ अदालत परिसरबाट फेरी पक्राउ परेका छन्।  

बेलकोगडी नपा–९ मा गत साउन ७ गते राति दुईवटा स्काभेटर जलाएको आरोपमा पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएका प्रकाण्डलाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज रिहा गर्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई थुनामुक्त गर्न आदेश दिएको थियो । 

न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार प्रकाण्डलाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानूनी दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेकामा अदालतको गम्भीर सरोकार रहेको छ, निज विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा छाड्नू ।’ 

आदेशमा मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार तथा प्रमाण भए कानूनले रोक लगाएको नदेखिएको तर गैरकानूनी रुपमा राखेको भनी दुईपटक आदेश जारी गर्दा पनि आदेशको उल्लङ्घन गर्नुलाई अदालतले गम्भीरतापूर्वक लिएको छ । 

सर्वोच्च अदाललते प्रकाण्डलाई थुनामुक्त गर्न दिएको यो तेस्रो आदेश हो । यसअघि भदौ ७ गते विश्वकर्मालाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्च अदालतको रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो । 

त्यसैगरी प्रकाण्डलाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । प्रकाण्डलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै