मौलिकता गुमाउँदै तीज : रहर कि कहर ?

खरीबोट
ad

काठमाडौं । नारीको पीरमर्का पोख्ने दिनको रुपमा चिनिँदै आएको तीज चाडको मनाउने शैलीमा पछिल्लो समय धेरै परिवर्तन आएको देख्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक रुपमा महिलाको अवस्थाको चित्रण गर्ने ऐतिहासिकता र सांस्कृतिक स्थिति बोकेको पर्व हो तीज । खासमा नेपाली जनजीवनबाट उत्पत्ति भएको तीजमा आफ्नै आफ्नै शैलीलाई निरन्तरता दिनुको अलावा पश्चिमा शैलीको अनुकरण बढ्दै गएको छ ।

फलस्वरुप तीज दिनानुदिन भड्किलो बन्दै छ । नेपाली महिलाहरुको महान् पर्व भन्दै गर्दा कतै आफ्नो मौलिकता नै गुमाउन थालेको त होइन तीजले भन्ने प्रश्न पनि जनमानसमा गुञ्जिनथालेको देखिन्छ । विशेष गरी महिलाले मनाउने चाडको रुपमा आफ्नो पहिचान बनाउन पुगेको तीजमा महिलाहरुसँगै पछिल्लो समय पुरुषको सहभागिता पनि बढ्नथालेको छ । पुरुषको पनि सहभागिता बढ्नु आफैँमा नराम्रो पक्ष होइन ।  

नेपाली समाजमा तीज महिलाहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपमा व्याख्या गरिए पनि यो पौराणिक कालदेखि चलिआएको एउटा परम्परागत संस्कृति हो । तल्कालीन समयको नेपाली समाजमा एउटी छोरीले विवाहपछिको समय माइती घर छोडेर घरमा बिताउनुपर्ने, माइत आउने दुःख बिसाउने, पीरमर्का साथीसंगीलाई सुनाउने मिठो मसिनो खाने, दुःख पोखेर मन हलुका पार्ने, सुख बाँडेर रमाइलो गर्ने पर्वको रुपमा विकसित हुँदै आएको एउटा संस्कारको नाम हो तीज ।

आफू जन्मेको घरपरिवार, गाउँसमाज सबै थोक छोडेर छोरी अर्काको घरमा पुगेकी हुन्छे । यस्तो अवस्थामा माइतीको याद कमी गर्ने एउटा महत्वपूर्ण चाडको रुपमा तीज पर्वलाई मनाउँदै आएको पाइन्छ । आज पनि केवल महिला भएकै कारण प्राकृतिक मात्र नभएर विभिन्न सामाजिक विभेदहरु महिलाले झेल्नुपरेको छ भने पुरानो समयमा त झनै महिलाको अवस्था दयानीय थियो नै । वर्ष दिनसम्म लगाइएका पुरानो साडी फेरेर नयाँ लगाउने, माइत गएर मिठो मसिनो परिपाटीसँगै तीज मनाउने चलनको विकास भएको पाइन्छ ।  

यो पर्वले छोरीको माइतीप्रतिका सम्झनाहरु कम गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । महिलाहरु आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताहरु सुयोग्य वरको कामना गर्दै व्रत बसेमा सोचेको पुग्ने भन्ने धार्मिक मान्यता रहिआएको छ ।

हिन्दूधर्मका धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न पुगिन् ।

तीजका रहरहरु कसैको देखासिकी र कहरहरुमा परिणत गर्दै मौलिकतालाई मासेर तीज मनाउँदै गर्दा हामीले तीजको वास्तविक मजा लिनै सक्दैनौँ ।  

यसरी कठोर व्रत बसेको देखेपछि शिवजी प्रकट भई सोचेको कुरा पुगोस् भनेर आशीर्वाद दिएपछि शिव पार्वतीको बिहे भएको कथा छ । यही दिनलाई र कथालाई आधार मानेर तीजको सुरुवात भएको विश्वास गरिन्छ भने यो पर्व पौराणिक कालदेखि मनाइँदै आएको समेत धार्मिक मान्यता छ । 

आद्यशक्ति भगवान् शिवकी अर्धांगिनी  हिमालयकी छोरी पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कनै पनि बाधा उत्पन्न नहोस् भनेर पहिलो पटक व्रत बसेकी थिइन् । त्यसै दिनलाई आधार मानेर आजपर्यन्त हिन्दू महिलाहरुले तीजलाई पर्वको रुपमा मनाउँदै आएको किंवदन्ती रहिआएको छ । 
 त्यसो त पत्याउन नसकिने किसिमका धार्मिक मान्यता तथा किंवदन्तीले पनि कतै यो पुरुषप्रधान समाजका एउटा पुरुष पात्रले लेखेको फगत एउटा कथा त होइन भनेर पनि धेरैले सोच्न÷बुझ्नथालेका छन् । 

पार्टीप्यालेसमा टिकट सिस्टममा दर खाने, महिनौं अगाडिदेखि तीज मनाउने प्रचलन बढ्दै गएको सहर बजारमा देखिन्छ । यसमा आयस्तर कमजोर भएका महिलाहरुको पनि उपस्थिति हुन्छ नै । जसले सामान्य रुपमा चलिरहेको जीवनशैलीलाई असन्तुलित पार्ने गरेको छ । दिदीबहिनी भेला हुनु, दुःखसुखका कुरा गर्नु आफैँमा राम्रो कुरा हो । यसबाट समाधानको उपाय पनि निस्किन सक्छन् । तर तँभन्दा म केमा कम भन्ने शैलीमा मनाइने गरिँदा पछिल्लो समय तीज कार्यक्रममा भने संयम अपनाउनु आवश्यक देखिन्छ । व्यावसायिकताका नाममा विभिन्न किसिमका भड्किला गीतहरु धेरै आउनथालेका छन् ।

तीजलाई यसरी तडकभडकका साथ मनाउनु आवश्यक पनि छैन, यसले त केवल विकृति मात्र निम्त्याउँछ । आजभोलि तीजका ‘टिपिकल’ गीतभन्दा पनि भड्किला किसिमका गीतहरु बजारमा धेरै पाइन्छ । यसले बजारमा आफ्नो स्थान लिनथालेसँगै हाम्रो तीजको मर्म र अस्तित्व नै संकटमा पर्ने त होइन भन्ने खालका शंका पनि उब्जनथालेका छन् । तीजको धार्मिक, सामाजिक सांस्कृतिक महत्वलाई अर्को पुस्ताले बुझ्न पाउने कि नपाउने भन्ने प्रश्न पनि खडा हुनथालेको छ ।  

तीजका गीतमा राम्रो शब्द र सभ्य भाषाको प्रयोग गरेर पनि व्यावसायिक रुपमा अगाडि बढ्नुपर्छ । जसले आफ्नो संस्कृतिको जगेर्ना गर्न सकिन्छ ।  मौलिकता, आफ्नोपनलाई समयक्रमसँगै परिवर्तन परिमार्जन गर्दै लैजान सकिएला तर पराईकरण गर्नु भनेको आफू नहुनु हो, आफ्नो नहुनु हो । पराइसँग हाँसेर पनि खुसी हुन सकिँदैन ।

तीजका रहरहरु कसैको देखासिकी र कहरहरुमा परिणत गर्दै मौलिकतालाई मासेर तीज मनाउँदै गर्दा हामीले तीजको वास्तविक मजा लिनै सक्दैनौँ ।  

सम्बन्धित समाचार

अमेरिकामा भव्यरुपमा मनाइयो तीज

काठमाडौँ। अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा अमेरिकामा भव्यरुपमा तीज मनाइएको छ । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो

पशुपतिमा तीजको रौनक (फोटो फिचर)

काठमाडौँ। भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् ।  बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका

प्रधानमन्त्रीद्वारा तीजको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिंदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न

पशुपतिनाथमा भक्तजनको भीड, मन्दिरका चारै ढोका खोलियो 

काठमाडौँ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।  दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने