• २०८१ बैशाख ४ मंगलबार

बिम्स्टेक सैन्य अभ्यास बारे सत्तारुढ दलका नेताहरु असन्तुष्ट, भिम रावलले गरे निर्णय सच्याउन माग

kharibot

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य राष्ट्रबीच भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यास बारे सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)कै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

झलनाथ खनालदेखि नारायणकाजी श्रेष्ठसम्मले सरकारको यो निर्णयमा पार्टीभित्र असन्तुष्टि जनाएका बेला अर्का नेता भीम रावलले भने सार्वजनिक मञ्चबाटै सैन्य अभ्यासको औचित्यमाथि प्रश्न उठाएका छन्। 

पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमार्फत बिम्स्टेक बैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन्। 

संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको उनको दाबी छ।

बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालयलाई धन्यवाद दिँदै रावलले भने, ‘तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिँदैन्।’

उनले देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न आफूलाई कतै कसैले रोक्न नसक्ने जिकिर गरे। सरकारले गरेका गलत कार्यमा आलोचना र राम्रा काममा साथ दिन उनले आग्रह गरे।

नेता रावले आफू राजनीतिक शास्त्र र कानूनको विद्यार्थी भएको बताउँदै सम्पन्न बिम्स्टेक बैठकमा सेनापतिको गोप्य बैठक र कुनै पनि छलफल नगरिकन बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास देशको हितविपरित रहेको उनले बताए। ‘हाम्रो स्वतन्त्र परराष्ट्र नीति छ, यसैको आधारमा हाम्रो मुलुक अघि बढ्नुपर्छ, सरकारले यस्तो राष्ट्रहितमा आघात पर्ने खालका काममा कुनै छलफल नगरिकन हठाहतमा किन निर्णय गर्यो ? सरकार र सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्छ’, उनले माग गरे।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै