• २०८१ बैशाख ७ शुक्रबार

मलेसियामा लय गुमाएको नेपाली क्रिकेट 

kharibot

काठमाडौँ। एशिया कप खेल्ने आशा बोकेर मलेसिया पुगेको नेपाली क्रिकेट टिमले निराशाजनक प्रदर्शन गरेको छ । लन्डन र नेदरल्यान्ड्सको टुरपछि मलेसिया पुगेको नेपाली टिम एकदिवसीय मान्यता पाएको टिमको रुपमा उच्च हौसलाका साथ् मेलेसिया पुगेको थियो तर त्यो उच्च मनोबल खेलमा देख्न सकिएन र नेपाल एशिया कप खेल्नबाट बन्चित मात्र भएन यस प्रतियोगिताको हारले नेपालको क्रिकेटमा दूरगामी असर पर्ने देखिएको छ।

नेपालको मलेसियाको प्रदर्शन हेर्दा नेपालले पूर्णरुपमा लय गुमाएको देखियो। यस प्रतियोगितामा पहिलो पटक टिमका कोच र कप्तान माथि टिमका ११ जना खेलाडीको सहि कम्बिनेशन छनोट गर्न नसकेको आरोप लागेको छ। मलेसियामा नेपालका प्रमुख खेलाडीको प्रदर्शन पनि निराशाजनक रह्यो। 

पारस खड्काको रनले जित्ने बानी परेको नेपाली क्रिकेट पारसले रन नबनाउदा हारको मुख देख्नु पर्यो। नेपाल युएई, ओमान र हङकङसँग पराजित हुदा तिनै खेलमा पारसको प्रदर्शन निराशाजनक रह्यो। पारसले ५ खेलमा १२.४ को औसतले कुल ६२ रन मात्र बनाए । जबकी ५०ओभरको खेलमा पारसको औसत ३० भन्दा माथि छ । त्यस्तै बलिङबाट पनि योगदान गर्दै आएका पारसले यो प्रतियोगितामा ओमनविरुद्ध एक विकेट लिए।

त्यस्तै क्वालिफायरमा असफल भएका अर्का खेलाडी हुन् ज्ञानेन्द्र मल्ल। मल्लले ५ खेलमा केबल १०१ रन बनाए।  जसमा उनले  सर्वाधिक रन ओमनविरुद्ध ४५ रन बनाएका थिए।  ज्ञान्नेद्र मल्लको असफलताको सिलसिला विगत लामो समय देखि नै चलिरहेको छ। खास गरि गत मार्चमा भएको विश्वकप छनौट खेलमा ज्ञानेन्द्रको खेलको निकै आलोचना भएको थियो। उनको प्रदर्शनको कारण नै नेपाल विश्वकप छनौटमा राम्रो प्रदर्शन गर्न असफल भएको आरोप उनलाई लागेको थियो।  त्यसपछि ज्ञानेन्द्रले नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय खेलमा ५१ रन बनाउनु बाहेक टिमलाई जिताउने पारी खेल्न सकेका छैनन्। 

त्यस्तै क्वालिफायरमा सबै भन्दा निराश बनाएका खेलाडी हुन् सुबास खकुरेल । विकेटकिपर ब्याट्सम्यान खकुरेलले राष्ट्रिय टिमका लागि कमब्याक गर्दै पाएको मौकाको सदुपयोग गर्न असफल भए।  यस प्रतियोगितामा उनको प्रदर्शनले अब उनको राष्ट्रिय टिममा भविष्य नै खतरामा परेको छ।  खकुरेलको प्रदर्शन हेर्दा उनले ५ खेलमा युएईविरुद्धको ५० रन नै सर्वाधिक हो तर उनको ५० रन ९५ बलमा बनेको थियो। एकदिवसीय खेलमा खकुरेलको यो अर्धशतक धेरै बल खाएर बनेको अर्धशतकको छैठौ स्थानमा पर्यो।  यो बाहेक उनले अन्य खेलमा रन बनाउन सकेनन्।  ५ खेलमा खकुरेलले कुल ७७ रन बनाए। 

त्यस्तै लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका सागर पुनको प्रदर्शन पनि ओमानविरुद्धको खेल बाहेक अन्य खेलमा निराशाजनक रह्यो।  ओमानविरुद्ध ८३ रनको पारी खेलेर सागरले नेपाललाई सम्मानजनकस्थितिमा पुर्याए पनि त्यसपछिका खेलमा सागरको प्रदर्शन निराशाजनक रह्यो। सागरले युएईविरुद्ध ३, मलेसियाविरुद्ध ०, सिंगापुरविरुद्ध १४ र हङकङविरुद्ध ७ रन बनाए। सागरले प्रतियोगितामा २ विकेट पनि लिए ।

यस बाहेक रोहित पौडेलले पनि केहि हदसम्म निराश बनाए।  मिडल अडरमा उनले विश्वकप छनौटमा देखाएको जस्तो म्यचुरिटि यस प्रतियोगितामा देखाउन सकेनन्। 

बलिङतर्फ पनि नेपालका बलरले खेल जिताउने किसिमको बलिङ यस प्रतियोगितामा देख्न सकिएन।  सन्दीप लामिछानेले प्रतियोगिताका ५ खेलमा १४ विकेट लिए पनि सिंगापुरविरुद्धको खेल बाहेक अन्य खेलमा उनी निर्णायक हुन् सकेनन्। अन्तिम खेलमा ५ विकेट लिएर हङकङविरुद्ध दबाब बनाएपनि त्यो जितका लागि काफी भएन। कम उमेर मै विश्वभर चर्चित भएका सन्दीपले अब आफ्नो प्रदर्शनको भरमा जिताउने बेला भएको छ।  उनले त्यो गर्दै आएका पनि छन् तर निर्णायक बेलामा सन्दीपले अब आफ्नो काधमा जिम्मेवारी लिएर खेल जिताउन अगाडी आउनु नै पर्छ, जुन काम अफगानिस्तानका राशिद खानले अहिले गरिरहेका छन्।

त्यस्तै नेपालका फास्ट बलर सोमपाल कामी पनि मलेसियामा लयमा देखिएनन्।  उनले ५ क्खेलमा ६ विकेट मात्र लिए । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा ६१ रन बनाएर नेपालको जितका हिरो बनेका सोमपाल मलेसियामा त्यो लयमा देखिएनन्। उनी ५ खेलमा ३ पटक शुन्यमा आउट भए  भने युएईविरुद्ध २७ र ओमानविरुद्ध ५ रन बनाए। त्यस्तै करण केसी, ललित भण्डारी पनि यस प्रतियोगितामा प्रभावकारी देखिएनन्। 

यस प्रतियोगितमा टिमक कोच र कप्तान पारसको भूमिकामा प्रश्न उठेको छ। जस्तै सिंगापुरविरुद्धको खेलमा ठुलो अन्तरले जित्ने सम्भावना हुदा पनि सो अनुसारको रणनिति नबनाएको देखियो। जसको असर हङकङसँगको खेलमा पर्यो । त्यस्तै कप्तानको रुपमा पारसले सन्दीपको सहि उपयोग गरेको पनि देखिएन । टि-२० क्रिक्रिकेट प्रतियोगिता आइपिएल र सिपिएलमा सन्दीपले पहिलो ओभर बलिङ गरेर विकेट लिएको हामीले देखेकै हो । तर निर्णायक खेलमा कप्तान र कोचले सन्दीपको सहि प्रयोग गरेको देखिएन। हङकङसँगको खेल बाहेक परम्परागत रुपमा नै कप्तान पारसले सन्दीपलाई बलिङमा ल्याए, उनले कुनै रिस्क लिएनन्। शायद अलिकति रिस्क लिएको भए आज परिणाम अर्कै हुने थियो ।

त्यस्तै गरि टिममा अनभवी खेलाडीको कमि मलेसियामा प्रष्ट देखियो। दिपेन्द्र सिंह ऐरी र आरिफ बाहेक अन्य खेलाडीले जिम्मेवारी लिएर खेलेको देखिएन। सुनिल धमला, प्रदीप ऐरी जस्ता खेलाडीलाई बाहिर राखेर नेपालले मलेसीयामा ठुलो मुल्य चुकाएको देखियो। यसको असर अब कहासम्म पर्छ त्यो त हेर्न बाँकी नै छ तर अब नयाँ ढंगले नेपाली क्रिकेटलाई नसोच्ने हो भने हामीले पाएको एकदिवसीय मान्यता फेरी इतिहास बन्ने छ।                             
                           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै