नेपालकै जेठो वीर अस्पतालले जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसियनअन्तर्गत इमर्जन्सी सेवा, ज्येष्ठ नागरिक क्लिनिक, जनरल हेल्थ चेक, एआरटी सेवालगायतका सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिफ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा.केदार प्रसाद सेञ्चुरीसँग वीर अस्पतालमा आउने इमर्जेन्सी बिरामीको सन्दर्भ गरिएको कुराकानीमा आधारित कुराकानीको सम्पादित अंश :
वीर अस्पतालको सेवा सुविधा के कस्ता छन् ?
हाम्रो बढी फोकस इमर्जेन्सी (आकस्मिक बिरामी)लाई नै हो । ओपीडी इमर्जेन्सी र इण्डो सेवा उपलब्ध गराउँदै आएका छौं । सबै किसिमका इमर्जेन्सी बिरामीको उपचार गराउँछौं । देशका विभिन्न ठाउँबाट जिल्ला र गाउँबाट बिरामी आउने गर्दछन् । खास गरेर इमर्जेन्सीमा ‘सिरियस बिरामीहरु हुन्छन् । तुरुन्तै केही गरेन भने ज्यान जोखिममा रहने बिरामीलाई हेर्ने गर्दछौं । स्त्री तथा प्रसूतिसम्बन्धी रोग, आँखासम्बन्धी रोग, बालबालिकासँग सम्बन्धित रोग र मानसिक रोगका बिरामीको लागि भने वीरमा इमर्जेन्सी सेवा उपलब्ध छैन ।
कति बेड छन् इमर्जेन्सीमा ?
रिफरको २२ बेड र अब्जर्भेसन ११ गरी इमर्जेन्सीका ३३ वटा बेड छन् भने अस्पतालमा ४ सय ६० सिट क्षमता रहेको छ । जसको १० प्रतिशत अर्थात् ४६ बेड इमर्जेन्सीको लागि हुनुपर्ने मान्यता भएता पनि भूकम्पपछि स्थानको अभावले गर्दा आवश्यक बेड उपलब्ध गराउन सकेका छैनौं ।
कस्ता किसिमका बिरामीहरु वीरमा आउने गर्दछन् ?
श्वासप्रश्वासमा समस्या भएका, बेहोस भएका, मुटुसम्बन्धी रोग भएका पेट दुःखेका र अप्रेसन तुरुन्तै गर्नुपर्ने, मिर्गौलासम्बन्धी, दमसम्बन्धी बिरामीहरु बढी आउने गर्दछन् ।
न्याम्सकै एउटा पार्ट ट्रमा सेन्टर पनि नजिकै रहेकोले ट्रमामा चोटपटक लागेका बिरामी उता जाने गरेका छन् । अरु किसिमका बिरामीहरु पेट दुःखेर एपेन्डिक्स भएका बिरामीहरु, पित्तको थैलीमा पत्थरी भएर एकदमै पेट दुःखेका बिरामीहरु, हृदयाघातका बिरामीहरु आउँछन् ।
पेटसम्बन्धी विभिन्न किसिमका एपेन्डिटाइटिस, क्लोसिसाइटिस, अल्सरका बिरामीहरु आउने गर्दछन् । उनीहरुको अवस्था हेरेर अप्रेसन गर्नुपर्ने हो कि मेडिसिनबाटै व्यवस्था गर्न सकिने हो रोगअनुसार उपचार गर्ने गर्छौँ ।
मिर्गौला फेल भएका बिरामीहरु डायलासिस गर्नुपर्ने खालका बिरामीहरु रगत धेरै बग्ने गरेका बिरामीहरु धेरै आउँछन् ।
बिरामी कताबाट आउने गर्दछन् ?
उपत्यका भित्र र बाहिरबाट, विभिन्न अस्पतालबाट रिफर भएर पनि आउने गर्दछन् प्राइभेट हस्पिटलहरुबाट । जिल्लातिरबाट धेरै आउँछन् त्यहाँ उपचार हुन नसकेका धेरै बिरामीहरु आउने गर्दछन् । त्यहाँ उपचार हुन नसकेको सिरियस बिरामीहरु यहाँ आउने गर्दछन् ।
देशकै ठूलो सरकारी अस्पतालमा निःशुल्क सेवासुविधा उपलब्धताको अवस्था कस्तो छ ?
ज्येष्ठ नागरिक, विपन्न वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउँछौँ । धेरैजसो निःशुल्क हुन्छ केही त सशुल्क पनि हुन्छ । तिर्न नसक्ने छ भने ५० प्रतिशतसम्म छुट हन्छ । रुटिङ जाचँहरु भने निःशुल्क हुन्छ । अवस्था हेरेर छुट दिने गर्दछ । सामाजिक सेवा इकाइ समिति छ । यसले बिरामीको अवस्था हेरेर काम गर्दछ । अर्को अस्पतालमा आउने भनेका बेवारिसे बिरामी हो ।
पुलिसले यहाँ ल्याएर छोडिदिन्छन् । र हामी उपचार गरिदिन्छौं । सञ्जीवनी भन्ने संस्थाको सहयोगमा उनीहरुको हेरचाहको लागि छुट्टै मान्छेहरु पनि राखिएको छ । यो एउटा स्वयम् सेवक संस्था हो । यसले गरिब असहाय, बालबालिका वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको छ । ब्लड चाहियो भने उपलब्ध गरादिन्छ, कोही एक्लै छ भने सहयोग गर्ने खानाको पनि व्यवस्था गर्दै आएको छ ।
अस्पतालका समस्याहरु के के छन् ?
बेडको अभाव मुख्य समस्या छ । सबै बिरामीलाई उपचार गराउनसक्ने क्षमताका बेड छैनन् । बन्न अझै केही समय लाग्छ । यद्यपि सात सय बेड क्षमताको नयाँ भवन बन्दै छ । इमर्जेन्सीमा केही बेड थप्ने तयारीमा छौंं । एक वर्षदेखि अस्पतालले आफ्नै फार्मेसी सुरु गरेको छ । इमर्जेन्सीमा २२ वटा मात्रै बेड छन् । कतिपय अवस्थामा सबैतिर प्याक हुँदा बिरामीलाई राख्न सकिँदैन ।
यो वीरजस्तो अस्पतालको सबैभन्दा ठूलो समस्या हो । आईसीयू चाहियो, आईसीयू छैन भने आईसीयू कहाँ छ त्यहाँ पठाउनुपर्ने हुन्छ । कहिले प्राइभेट मेडिकल कलेजहरुमा, ठूला अस्पतालहरुमा जस्तो नर्भिक, टिचिङ हस्पिटलमा रिफर गर्ने गर्दछौँ । मुटुसम्बन्धी अप्रेसन गर्नुपर्यो भने गंगालाल नै पठाइन्छ ।
नेपालमा औषधिको आत्मनिर्भरताको अवस्था कस्तो छ ?
औषधिमा आत्मनिर्भर भइसकेका छैनौँ । धेरै औषधिहरु बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । जीवनरक्षक औषधिहरु अझै पनि नेपालले बनाउनसकेको छैन । बाहिरबाट मगाउनुपर्ने अवस्था छ । एण्टिबाइटिकहरु धेरै हदसम्म नेपालमा नै बन्नथालेका छन् । नेपाल सरकारले पनि नेपालमा औषधि लिमिटेड भनेर फेरि सुरु गरेको छ । यसबाट विभिन्न औषधि उत्पादन भइरहेका छन् । यसरी हेर्दा लगभग ५० प्रतिशतजति औषधि मात्रै नेपालमा उत्पादन हुन्छ ।