• २०८१ बैशाख ११ मंगलबार

टीकापुर अस्पतालमा दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

kharibot

फाइल तस्विर । 

कैलाली /  चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । 

उक्त अस्पतालमा आठ परामर्शदाता, एक मेडिकल अधिकृतका साथै दुई स्वास्थ्य सहायक, एक÷एक स्टाफ नर्स र अनमीको पद रिक्त छ । एकाउन्न शय्याको उक्त अस्पतालका लागि विसं २०७२ मा नेपाल सरकार र कोरियन परियोजना कोइकाबीच सहमति भई निर्माण गरिएको भवनमा , शल्यक्रिया र एनआइसीयू कक्षका साथै अल्ट्रासाउण्ड, इण्डोसकोपीलगायत उपकरण थपिए पनि ती अहिले उपयोगबिहीन अवस्थामा छन् । “विशेषज्ञ चिकित्सक नहुँदा सरकारको योजनाअनुसार गुणस्तरीय सेवा दिन नसकिएको र अस्पतालको क्षमता हँुदाहँुदै पनि बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको छ”, उक्त अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा नरेन्द्र खनाल भन्छन् , “कोइकाले यहाँको आवश्यकता हेरी पूर्वाधार तयार गर्नुका साथै उपकरण समेत दियो तर सरकारले भनेअनुसारको जनशक्ति दिएन ।” उक्त अस्पतालको सेवामा सुधार भए कैलाली, पश्चिम बर्दिया र पश्चिम सुर्खेतका नागरिकले समेत गुणस्तरीय सेवा पाउँथे । 

जिल्ला अस्पताल सरहको टीकापुरमा जस्तै यो भन्दा तल्लो तहका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मीको अभाव छ । टीकापुरजस्तै प्रदेश ७ का स्वास्थ्य संस्थामा रिक्त स्थानमा स्वास्थ्यकर्मीको माग भए पनि स्वास्थ्य सेवा विभागले भने अनमी, अहेव, हेल्थअसिष्टेण्ट र स्टाफ नर्सलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ । सात नं प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सूचना अधिकारी हेमराज खडकाका अनुसार स्वास्थ्य सेवाका तीन हजार १७७ कर्मचारीमध्ये ६३२ पद रिक्त छन् । त्यसैमा स्वास्थ्य सेवा विभागले ५८ स्टाफ नर्स, अहेव, अनमीलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ भने १२ जना मात्र अन्य प्रदेशबाट सरुवा भई आएका छन् । 

“दरबन्दी नै कम छ, भएका दरबन्दी खाली छन् । यसैमा भएका स्वास्थ्यकर्मी बाहिर सरुवा गरिएकाले केही स्वास्थ्य चौकी अनमीबिहीन छन्”, स्वास्थ्य निर्देशक अवस्थी भन्छन् , “सरुवा नगर्न स्वास्थ्य सेवा विभागलाई र बाहिर जानेलाई तत्काल रमाना नदिन प्रदेश ७ का सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई अनुरोध गरिसकेका छौँ ।” 

जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा मात्र होइन, प्रदेश ७ का जनतालाई स्वास्थ्य सेवा दिइरहेका उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, पहाडी जिल्लाका अस्पतालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । सात नं प्रदेशका २६ लाख नागरिकका लागि ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ४१ जनामात्र कार्यरत छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै