• २०८१ बैशाख १२ बुधबार

बालबालिकालाई स्वस्थ कसरी राख्ने ?

kharibot

काठमाडौं । बाल्यावस्था मानिसको जिन्दगीको सुरुवात हो । बाल्यावस्था पार गर्दै युवावस्था अनि वृद्धावस्था भएर मानिसको जिन्दगी पूर्ण हुन्छ । देश, समाज र परिवार स्वस्थ र बलियो हुन नागरिक अर्थात् सन्तानको स्वास्थ्य ठीक हुनुपर्छ । एउटा स्वस्थ बालक पछि गएर स्वस्थ युवा र देशकै स्वस्थ नागरिक हुन्छ । स्वस्थ मानिसले जे पनि गर्न सक्छ । अर्थात् देश, समाज र आफ्नो परिवारलाई स्वस्थ राख्न सक्छ ।

त्यसकारण मानिस जन्मिनुअघिदेखि नै उसको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । गर्भावस्थादेखि नै स्वास्थ्यमा ध्यान पुर्याउन सकिए स्वस्थ शिशुको जन्म हुन्छ । त्यसरी स्वस्थ जन्मिएको शिशुको स्वास्थ्य अवस्थामा ध्यान दिए मात्र बालक स्वस्थ हुन्छ । बालक स्वस्थ रहनु भनेको परिवारको लागि खुसी हो । तर कतिपय अवस्थामा बाल्यावस्थामा स्वास्थ्यमा ध्यान नदिँदा उक्त बालक पछिसम्म निरोगी बन्न सक्दैन ।

रोगी हुनु आफैँमा जिन्दगीको दुर्भाग्य हो । जिन्दगीमा सुख पाउने चाहना मात्र राखेर हुँदैन त्यसका लागि गृहकार्य गर्नुपर्छ । आफ्ना सन्ततिलाई निरोगी भएर दीर्घायु पाएको देख्न चाहने अभिभावकले वर्षको एकचोटि आउने दशँैमा टीका लगाउँदा आशीर्वाद मात्रै दिएर हुँदैन, बाँकी ३ सय ६४ दिन नै उसको जीवनशैलीलाई स्वस्थ र मर्यादित बनाउने प्रयास गरिरहनुपर्छ । 

स्वस्थ बालबालिका यदि परिवारको खुसीको आभूषण हो भने देशको जिम्मेवार नागरिक पनि हो । तसर्थ हामीले गर्भावस्थादेखि नै आफ्नो इज्जत, खुसी र मायाको टुक्रा सन्तानको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ । 

कसरी दिने ध्यान ? 

विशेषतः गर्भमा बच्चाको प्रवेश भएदेखि नै एउटी आमाले सन्तानलाई निरोगी राख्न आफ्नो मनलाई बाँधेर हरेक कुरामा स्वनियन्त्रण गरेकी हुन्छिन् । विशेषगरी खानपानमा आमाको ध्यान हुन्छ । आमाको गर्भ नै मानिसको जिन्दगीको आधार भएकोले पनि त्यसो गर्दा आमाले आफ्नो दुःख बिर्सेर दायित्व सम्झेकी हुन्छिन् तर उक्त अवस्थामा एउटा जिम्मेवार पुरुषको भूमिका पनि अत्यावश्यक हुन्छ ।

गर्भावस्थाको समय लम्बिँदै जाँदा शिशु र आमाको स्वास्थ्यको लागि पुरुषले खानपान र काममा महत्वपूर्ण भूमिका खेल्नुपर्छ । स्वस्थ शिशु जन्माउन आमालाई स्वास्थ्यवद्र्धक र पोषिलो आहारविहारको व्यवस्था गराउने जिम्मेवारी पुरुषको हो । त्यसैगरी उक्त नौ महिनाको अवस्थामा कुनै पनि शारीरिक कार्यमा महिलालाई सहभागी गराउनुहुँदैन भने कुनै पनि मानसिक असन्तुष्टि, पीर तथा दुःखानुभूति समेत गर्न नदिन पुरुषले विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि माया र सद्भावको सहयोग महत्वपूर्ण हुन्छ । 

बालबालिकाको जन्म भइसकेपछि के गर्ने ? 
जसरी मानिसलाई यो संसारमा आइसकेपछि हावा, पानी र खाना निःशर्त आवश्यक हुन्छ, त्यसपछिको आवश्यकता स्वास्थ्य र शिक्षा हो । अझ हाम्रो देशमा त स्वास्थ्य, शिक्षालगायतका जीवनपर्यन्त आवश्यक कुराहरुलाई समेत मौलिक अधिकारका रुपमा कानुनमै उल्लेख गरिएको पाइन्छ । यसले केही हदसम्म व्यावहारिकता समेत पाउँदै गएको छ । देशैभर स्वास्थ्य संस्थामा प्रसूति गराउने कार्यलाई हौसला प्रदान गरिएको छ विभिन्न भत्ता वितरण गरेर ।

त्यस्तै गर्भमा शिशु प्रवेश गरेदेखि नै उसको स्वास्थ्य अवस्था महिना/तीन महिनामा अस्पताल गएर जाँच गर्ने गरिन्छ । त्यस्तै परिवारले समेत गर्भको शिशुलाई अनुकूल हुने गरी मातृस्वास्थ्य र पोषणजन्य आहारविहारलाई गम्भीर रुपमा लिने गरिएको छ । हुन त अझै पनि नेपालका ग्रामीण क्षेत्रसम्म माथि भनेजस्तो अवस्था त छैन तर स्थानीय सरकारले समेत यसमा केही गम्भीरता देखाउन थालेको छ । यसको मतलब एउटा शिशुको लागि परिवार, समाज र देशको सरकार नै गम्भीर बनेका छन् भन्ने नै हो ।   

शिशुको जन्म भइसकेपछि गर्नैपर्ने हाम्रो दायित्व भनेको विभिन्न रोगहरु नलागून् भनेर लगाइने रोगप्रतिरोधी खोपहरु बालबालिकालाई लगाउनु हो । विश्वमा विभिन्न किसिमका सरुवा र नसर्ने रोगहरु छन् । त्यस्ता रोगहरु बालबच्चामा सानैदेखि नलागून् भनेर नै उक्त खोपहरु लगाइन्छ । सरकारले नै जिन्दगीलाई जोखिममा पार्न सक्ने खालका पोलियो, दादुरालगायतका रोगहरुविरुद्ध बच्चालाई निःशुल्क रुपमा खोप वितरण गर्दै आएको छ । 

के–के हुन् त्यस्ता खोपहरु ? 

हाम्रो शरीरभित्र विशेष रसायन पु¥याएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्ने प्रक्रियालाई भ्याक्सिनेसन (खोप) भनिन्छ । सुई लगाएर अथवा थोपा खुवाएर मानिसलाई दुई प्रकारले भ्याक्सिन दिइन्छ ।

उदहारणका लागि साधारण पोलियो र टाइफाइडको रोकथामको लागि थोपा खुवाइन्छ भने अन्य रोगबाट शरीरको प्रतिरक्षाका लागि सुईको प्रयोग गरिन्छ । 
हामीले सास फेर्ने हावा, खाना, पानी आदिमा अनेक कीटाणु हुन सक्छन् । यी कीटाणुबाट विभिन्न किसिमका सङ्क्रामक रोगहरू लाग्न सक्छन् । अझ बालबालिकाको शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर हुनाले तिनीहरूलाई रोगले असर पु¥याउने सम्भावना अझ बढी हुन्छ । त्यसैले बालबालिकालाई रोगबाट बचाउन खोप लगाउनु अत्यन्त जरुरी छ ।

खोपले सबै रोगको निवारण नगरे पनि केही डर लाग्दो रोगबाट भने बालबालिकालाई जोगाउन पक्कै मद्दत गर्छ । रोग लागेपछि त्यसको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम हो । प्रायः भ्याक्सिनले शरीरमा रोग लागेपछि त्यसको उपचार गर्नेभन्दा पनि शरीरमा रोग लाग्नै नदिन प्रतिरोधात्मक क्षमताको विकास गर्छ । 

हाम्रो शरीरमा रोगबाट बचाउने प्रतिरोधात्मक क्षमता हुन्छ । रोगसँग लड्ने यो प्राकृतिक प्रणालीलाई इम्युनाइजेसन भनिन्छ । इम्युन प्रणाली सबल नभएमा मानिसलाई अनेक किसिमका घातक तथा सङ्क्रामक रोगहरू लाग्न सक्छन् । कतिपय रोगका कीटाणु अत्यन्त शक्तिशाली हुन्छन् । हाम्रो सामान्य प्रतिरोधात्मक प्रणालीले त्यसलाई रोक्न सक्दैन र मानिसलाई सजिलै त्यस्ता घातक रोगहरू लाग्न सक्छन् । यदि यस्ता रोगको उपचार समयमा गर्न नसकिएमा अथवा उपचार सम्भव नभएमा शरीर कमजोर हुने, अपाङ्ग हुने र मृत्युसम्म हुने गर्छ । त्यसैले त्यस्ता कीटाणुबाट बच्न खोपको विकास गरिएको हो । 

खोप विशेष प्रकारको द्रव्य हो । यसलाई प्रयोगशालामा विशेष प्रक्रियाद्वारा तयार गरिन्छ । विशेषतः खोपमा प्रयोगशालामा कमजोर बनाइएको अथवा मृत कीटाणुको अंश हुन्छ । शरीरमा प्रवेश गरेपछि यसले कुनै रोग त उत्पन्न गर्न सक्दैन । तथापि, यी कीटाणुलाई चिनेर हाम्रो शरीरको इम्युन प्रणाली सक्रिय हुन्छ । यस प्रणालीले ती कीटाणुलाई शक्तिशाली कीटाणु मानेर सुरक्षात्मक एन्टिबडीको निर्माण गर्छ । यो एन्टिबडी हाम्रो शरीरमा सङ्ग्रहित भइरहन्छ र पछि शक्तिशाली कीटाणुले आक्रमण गर्दा यसले त्यस्ता कीटाणुलाई सजिलै नियन्त्रण गर्छ । यसरी हामी सङ्क्रमित रोगहरूबाट बच्न सक्छौं । 

नेपाल सरकारले जन स्वास्थ्य सुधारका लागि सन् २०१७ भित्र समग्र नेपाललाई खोप सुनिश्चित घोषणा गर्ने भनी विभिन्न किसिमका कार्यक्रमको आयोजना गरे पनि उक्त लक्ष्य प्राप्त हुन सकेन । सरकारले यस योजनालाई एक वर्ष पछाडि सारेर सन् २०१८ भित्र ७७ जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजना बनाएको छ । तथापि, अहिलेसम्म ४८ जिल्लामात्र पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । 

सबै प्रकारका रोगका लागि नभए पनि केही विशेष रोगको नियन्त्रणका लागि भने खोपको निर्माण भइसकेको छ । ती रोग र तिनको रोकथामका लागि लगाइने खोप यसप्रकार छन्

क्षय रोग (टिबी)

क्षय रोग एक प्राणघातक रोग हो । एउटा सानो कीटाणु माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिसबाट लाग्ने यो रोगले शरीरको कुनै पनि अङ्गलाई प्रभावित पार्छ । विशेषतः यो रोग फोक्सोमा बढी लागेको देखिन्छ । यो हावाबाट सर्ने रोग हो । यो रोगको रोकथामका लागि बालबालिका जन्मने बित्तिकै अथवा जन्मेको ६ हप्ताभित्र बीसीजीको सुई लगाइन्छ । 

पोलियो 

पोलियो भाइरसबाट लाग्ने रोग हो । मुख्यतः यो दूषित पानी र खानाको माध्यमबाट फैलिन्छ । अधिकांशतः ६ महिनादेखि ६ वर्ष उमेरको बालबालिकालाई यसले प्रभावित पार्छ । यसले रोगीको मृत्यु पनि हुन सक्छ छ । मुख्यतया यो रोगबाट ग्रस्त बिरामीलाई खुट्टाको अपाङ्गता हुन्छ । यस रोगबाट बच्न बालबालिकालाई जन्मेदेखि २ महिनामा, ४ महिनामा, ६ देखि १८ महिनामा र ४ देखि ६ वर्षमा जम्मा चारपटक पोलियो थोपा (आईपीभी) खुवाइन्छ । 

डिप्थेरिया (भ्यागुते रोग) 

यो एक सूक्ष्म जीवाणुद्वारा हुने रोग हो जुन मुख्यतया साना बालबालिकालाई हुन्छ । यो रोग लाग्दा सुरुमा साधारण ज्वरो आउँछ, खोक्दा गाह्रो हुन्छ । यसको समयमै उपचार हुन नसकेमा यसले ज्यान लिन पनि सक्छ । यसको रोकथामका लागि चार प्रकारका भ्याक्सिनको आविष्कार गरिएको छ । डीट्याप, डीटी, टीड्याप र टीडी भ्याक्सिनले भ्यागुते रोगका साथै धनुष्टङ्कार, लहरे खोकी आदिबाट पनि बालबालिकालाई बचाउँछ । डीट्याप भ्याक्सिन २, ४ र ६ महिनामा दिइन्छ भने टीड्याप भ्याक्सिन ११–१२ वर्षको उमेरमा दिइन्छ । महिला गर्भवती भएको २७ देखि ३६ महिनामा पनि टीड्याप भ्याक्सिन लगाइन्छ । 

लहरे खोकी

यो पनि सूक्ष्म जीवाणुका कारण हुन्छ । मुख्यतया ६ महिनादेखि छ वर्षका बालबालिकालाई यसले प्रभावित पार्छ । यो विशेषगरी ¥याल र सिँगानबाट सर्छ । हल्का ज्वरो आउनु, वाकवाकी लाग्नु यसका लक्षण हुन् । यसलाई एन्टिबायोटिको सेवन गरी सजिलै नियन्त्रण गर्न सकिन्छ । त्यस्तै, भ्यागुते रोगका लागि लगाइने टीड्याप भ्याक्सिनले पनि यो रोग नियन्त्रण गर्न सक्छ । 

दादुरा 

भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोग पनि मुख्यतया ६ महिनादेखि छ वर्षका बालबालिकालाई लाग्छ । यो एकजनाबाट अन्य व्यक्तिहरूलाई हावा तथा ¥यालसिँगानको माध्यमले सर्न सक्छ । दादुरा लागेका बालबालिकालाई सुरुमा ज्वरो, खोकी, रुघा, नाक बन्द हुने र आँखाबाट आँसु बगिरहने लक्षणहरू देखा पर्छन् । त्यसपछि शरीरमा रातो फोका निस्किन्छ । यसको सुरुआत अनुहारबाट हुन्छ । यसको रोकथाम र उपचार समयमा नै हुन नसकेमा रोगीको मृत्यु पनि हुन सक्छ । यसको रोकथामका लागि बालबालिका जन्मेको १२ देखि १५ महिनामा एमआरआर भ्याक्सिन पहिलो पटक लगाइन्छ भने ४ देखि ६ वर्षको बीचमा दोस्रोपटक यो भ्याक्सिन लगाइन्छ । 

टिटानस (धनुषटङ्कार)

यो एउटा जीवाणुबाट हुने रोग हो जुन काटेको भाग या चोट लागेको स्थानबाट शरीरमा प्रवेश गर्छ । यो एक घातक रोग हो । यसको उपचार गर्न अत्यन्त कठिन हुन्छ । यदि प्रसवव्यथा लागेको समयमा सालनाल काट्दा सफा औजारको प्रयोग नगरेमा तथा सरसफाइमा ध्यान नदिँदा पनि बालबालिकालाई यो रोग लाग्न सक्छ । यो रोग लाग्नाले रोगीको शरीर बिस्तारै साह्रो र धनुषको जस्तो बाङ्गो हुन्छ । यसको पनि समयमा उपचार हुन नसकेमा रोगीको मृत्यु हुन सक्छ । शरीरमा कतै घाउ, चोटपटक लागेमा टिटानसको सुई लगाइन्छ ।

कहिले लगाउने यी खोपहरु ? 

एउटै रोगको लागि भिन्नभिन्न समयमा दिनुपर्ने विभिन्न किसिमका खोपको निर्माण भए पनि विशेषतः विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेअनुसार बालबालिका जन्मेपछि लगाउनुपर्ने खोपको तालिका यसप्रकार छ :

  • १. जन्मने बित्तिकै     –     बीसीजी         –     क्षयरोग 
  • २. ६ हप्तामा     –     डीपीटी, हेपाटाइटिस बी, हिब, पोलियो, पीसीभी (पहिलो मात्रा)     –     भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, निमोनिया
  • ३. १० हप्तामा     –     डीपीटी, हेपाटाइटिस बी, हिब, पोलियो, पीसीभी (दोस्रो मात्रा)     –     भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, निमोनिया
  • ४. १४ हप्तामा     –     डीपीटी, हेपाटाइटिस बी–हिब, पोलियो (तेस्रो मात्रा), आईपीभी     –     भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, निमोनिया
  • ५. ९ महिनामा     –     पीसीभी (तेस्रो मात्रा), दादुरा–रुबेला (पहिलो मात्रा)     –    निमोनिया, दादुरा र रुबेला
  • ६. १२ महिनामा     –     जापानिज इन्सेफलाइटिस     –     जापानिज इन्सेफलाइटिस 
  • ७. १५ महिनामा     –    दादुरा–रुबेला     –     दादुरा र रुबेला 

सामान्यतया उक्त खोपहरु लगाइसकेपछि बालबच्चाको स्वास्थ्यमा ठूला समस्या आउँदैनन् । यी भनेका शरीरलाई स्वस्थ राख्न गरिने प्रयासहरु हुन् । तर यति गर्दैमा त्यो नै पर्याप्त भने हुँदैन । स्वास्थ्यपछिको ध्यान शिक्षामा हुनुपर्छ । स्वास्थ्यले शरीरलाई र शिक्षालाई जीवनलाई सहज बनाउँछ ।

शिक्षाको व्यापकतालाई स्वास्थ्यले महत्वपूर्ण साथ दिने भएकाले पनि निरोगीपनापछिको दोस्रो शर्त स्वास्थ्य नै हो । जीवनमा भइपरी आउने समस्यासँग जुध्न मानिस स्वस्थ भएर मात्रै पुग्दैन त्यसकारण शिक्षा र अवसर पनि आवश्यक हुन्छ । सफल जिन्दगीको आधार स्वास्थ्य, शिक्षा र अवसरहरु हुन् ।

बालबालिकालाई भविष्यमा जिम्मेवार नागरिक बनाउन चाहनेले उनीहरुको स्वास्थ्य, शिक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । त्यस्तै, बाल्यावस्थादेखि नै उनीहरुलाई सत्कर्म गर्न प्रेरित गर्ने, सत्संगतमा हौसला दिने र सुशिक्षित बनाउनेतिर ध्यान दिनुपर्छ । यसो गर्दामात्रै देशले एउटा जिम्मेवार नागरिक र

परिवारले एउटा दायित्वबोध गर्ने सन्तान पाउँछ । यसो हुनु भनेको परिवार र देशको खुसी पाउने अवसर प्राप्त गर्नु हो । 

त्यसकारण पनि बालबच्चाको स्वास्थ्यमा गम्भीर ध्यान दिनु परिवारको कर्तव्य हो र त्यसमा सघाउनु सरकारको दायित्व हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै