• २०८१ बैशाख ७ शुक्रबार

असल दाम्पत्य जीवनयापनमा तीजले राम्रो प्रभाव छोड्छ :  प्राडा कौण्डिन्न्यायन 

kharibot

वि.सं. २०२४ सालमा तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् आमोदवर्धन कौण्डिन्न्यायन (आचार्य) । उनले पूर्वमध्यमा तह भारतको बनारसबाट, उत्तरमध्यमा त्रिभुवन विश्वविद्यालयबाट, शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) राजधानीको वाल्मीकि क्याम्पसबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका हुन् । पढाइमा तीक्ष्ण उनले ‘वैदिक ध्वनि विज्ञान’ विषयमा विद्यावारिधिसमेत गरेका छन् । ०४९ सालमा संस्कृतको अध्यापन सुरु गरेका उनी दुवै विश्वविद्यालयका ‘टपर’ हुन् । उनले आमोदवर्धन कौण्डिन्न्यायन स्वाध्यायशाला घरमै संस्कृत शिक्षा लिन इच्छुकहरुलाई संस्कृत विषयको प्रशिक्षण समेत गर्दै आएका छन् । हाल नेसंविमा प्राध्यापनरत उनीसँग खरीबोट डटकमकी सकला दवाडीले नजिकिँदो महिलाहरुको पर्व भनेर चिनिने तीजको सामाजिक, सांस्कृतिक र धार्मिक पक्षबारे गरेको कुराकानीको सम्पादित अंश :

तीजको सन्दर्भ छ यसबारे बताइदिनुहोस् न !
तीजको व्रत एउटा असल पति पाऊँ भनेर बस्ने गर्दछन् भने अर्को बिहे भइसकेपछि सौभाग्यवती बनौँ भनेर बस्ने गर्दछन् । पतिको कल्याण चाहनु भनेको आफ्नो कल्याण चाहनु हो । पतिहरुले पत्नीको लागि आफ्नो ज्यान दिएका छन् खाडीमा गएर पैसा कमाएर महिलाका सबै आवश्यकता पूरा गरिदिएर । पछिल्लो समय बेकारमा दोस्रो दर्जाको कुरा गर्दैछन् महिलाहरु । पुरुषहरु खाडीमा महिलाको लागि गएर बाकसमा आएको चाहिँ नदेख्ने त्यो एउटा विखण्डनवादी सोच हो ।  पति र पत्नी अर्धाङ्गी र अर्धाङ्गिनी हुन् । दाहिने पट्टिबाट पति र देव्रेपट्टिबाट पत्नीहरुको उत्पत्ति भयो प्रजापतिबाट भन्ने मान्यता छ । लैंगिक अवधारणा बेलायतमा १०० वर्षअगाडिसम्म महिलालाई मान्छे गनिदैनथ्यो । महिलाको पनि आत्मा हुन्छ ? भन्ने हुन्थ्यो उतातिर । हाम्रो त प्रजापति र ब्रह्माजीले त आफ्नै देहलाई चिरेर दाहिने पट्टिबाट पुरुष र देव्रेपट्टिबाट महिला बनाएर सृष्टि सञ्चालन गरेको हो । यति राम्रो लैंगिक अवधारणा अन्त छैन, अरु कुनै धर्ममा आउँदैन । 

तीज पौराणिक धर्म हो, वेदमा या मनुस्मृतिमा भएको धर्म होइन । सुखमय दाम्पत्य जीवन छोराछोरीको भविष्य उज्वल, सुसंस्कार हुने किसिमले अगाडि बढ्न यसले प्रेरणा दिन्छ । मानसिक शुद्धि र शारीरिक शुद्धिलाई पनि भावनात्मक टेवा दिन्छ ।  धर्म भनेको अदृष्ट हो ।  हामीले मन्दिरमा भगवान् पनि देख्दैनौँ मरेर गएर स्वर्ग पनि देख्दैनौं । यो आस्थाको विषय हो । यसमा तर्ककुतर्क गरेर निचोडमा पुग्न सकिँदैन ।  भौतिक रुपमा पनि शरीरलाई शुद्ध र तन्दरुस्त बनाउन पनि व्रतले सहयोग गर्दछ ।  

धर्म भनेको कानुनको मूल हो । यसलाई अजिव काम नलाग्ने कुराको रुपमा ग्रहण गर्न भएन । धेरै कुराहरु हामीले देख्न नसके पनि त्यसका सकारात्मक परिणामहरु छन् । दिव्य ज्ञान भएकाले देखेको कुरा हामी नदेख्न सक्छौं । धार्मिक, सांस्कृतिक र  सामाजिक जीवनलाई यसले सकारात्मक प्रभाव पार्दछ । तीजको लौकिक महत्व पनि छ । खाएर गीत गाउने नाच्ने पनि गर्दछन् । 

तीजमा व्रत बस्नुको फाइदा के ? 
तीजको धार्मिक साँस्कृतिक महत्व पावर्तीले महादेव पति पाऊँ भनेर व्रत बसेको आधार असल पति पाउनकै लागि बस्ने भनेर एकदम आमधारणा भएको र ९५ प्रतिशत त्यही नै आउँछ भने अर्को पाइसकेको पतिको पनि दीर्घायु, स्वास्थ्य राम्रो होस् भन्ने चाहेर गरिएको हो ।  व्रत बस्ने कुरामा अघिल्लो दिनमा एक छाक खाना खाएर फलफूल खाएर बस्नुपर्ने हुन्छ । व्रतको अघिल्लो दिन मासु खान हुँदैन । 

चोखो खाना एक छाक खाएर, पवित्र भएर, अघिल्लो दिनदेखि तयारी भएर बस्नुपर्छ । खाएपछि इन्द्रियहरु शिथिल हुन्छन् । सात्विक भोजन गरेपछि भावना पवित्र आउँछ । त्यसकारण यो दरको प्रचलन राम्रो होइन । अघिल्लो दिन मात्र खाने पनि राम्रो होइन । यो शास्त्रीय विधिअनुकूल आइरहेको छैन । आधा रातसम्म खाने भोलिपल्ट बिहान कुखुरा नबासुन्जेलसम्म खाने भन्ने कुरा होइन । अघिल्लो दिन एक छाकचाहिँ अन्नको भोजन त्यसपछि फलाहार, दुग्धाहार गरेर बसेर शिव र पार्वतीको पुजा गर्ने गरिन्छ । 

तीजको सामाजिक र धार्मिक पक्षबारे पनि बताइदिनुहोस् ? 
यो पर्व असल पतिपत्नीको एउटा आदर्श स्वरुप हो । त्यस्तै आदर्श स्वरुप स्थापित गरौँ भनेर विवाहित भइसकेकाले त पतिपत्नी मिलेरै गर्ने परिस्थिति हो । तर अहिले हाम्रो नेपालमा यो स्थितिचाहिँ विकास हुन सकेको पाइँदैन ।

धार्मिक बुझाइ पनि पार्वती व्रत बसेर महादेव स्वामी पाएको भन्ने छ । पार्वतीले तपस्या गरेको, व्रत बसेको भन्ने देखियो, महादेवले पार्वती पाउन व्रत बसेको भन्ने नआएको भएर यो किसिमको संस्कारको विकास भएको हुनुपर्छ । 

खासमा हरेक काम दुवै जना मिलेर गर्ने भन्ने नै धार्मिक मान्यता रहिआएको छ । पति या पत्नी जसले जे कार्य गर्दा पनि एक अर्काको सहयोग आवश्यक पर्दछ ।  असल दाम्पत्य जीवनयापनमा तीजले राम्रो प्रभाव छोड्छ भने छोराछोरीलाई त्यही किसिमको राम्रो प्रभाव पर्न जान्छ । 

तर तीजलाई नै लिएर आलोचना पनि सुनिन थालेका छन् नि ? 
पाश्चात्य संस्कृतिसँग भिज्नथालेकाहरुबाट आलोचना हुन थालेका हुन् । उता जे देख्यो यता त्यही हुनुपर्छ भन्न थालिएको छ । पश्चिमा समाजमा खुला जीवन पद्धति छ, श्रीमानश्रीमती फेर्न पाइन्छ । अलिअलि छिटाछाटी पाएका यता उफ्रिन्छन् । नबुझेर लहैलहैमा लाग्ने गर्दछन् । तीजको आफ्नै सांस्कृतिक र धार्मिक महत्व छ, जुन हाम्रो मौलिक सम्पत्ति हो । यो सुखद दाम्पत्य जीवनलाई महत्व दिने पर्वको रुपमा लिँदा किन आपत्ति हुन्छ ? 

पानी पनि नखाई व्रत बस्नुपर्छ भन्ने चलन छ, सत्य हो ?  
व्रत त आफ्नो शारीरिक अवस्थाअनुसार बस्नुपर्दछ । भावना शुद्ध हुनुपर्यो । अघिल्लो दिनको चोखो खाएर व्रतको दिनमा सक्नेले पानी पनि नखाई बस्ने गर्दछन् । कोही बस्छन् भने यसको विरोध किन गर्ने ? नसक्ने अस्वस्थ हुनेले, जस्तो, म सक्दिनँ, भाव शुद्ध हुनुपर्छ । भाव शुद्ध हुनुपर्छ भन्दैमा जे पनि खाएर राम्रो भाव आउँदैन । 

नुन नखाँदा इन्द्रिय शान्त हुन्छ, सात्विक भाव आउँछ भनेर नखाने हो । पिरो, अमिलो कडा चिजहरुले उत्तेजना पैदा गर्ने हुँदा ती कुरा नखाने हो । खाएको कुराबाट मन बन्छ । यो वैज्ञानिक तथ्य पनि हो । भक्ष÷अभक्षको नियम छ  ।  

अघिल्लो दिनमा खाएको विकार भोलिपल्टसम्म रहने भएकाले अघिल्लो दिनदेखि शुद्ध हुनुपर्दछ । पूर्वीय संस्कृति र मान्यताका हरेक पक्षमा विरोधका लागि विरोध गर्ने ‘फेसन’ बसेको छ । कतिसम्म भने पतिव्रता हुनुहुँदैन अरे ! कस्तो नचाहिँदो कुरा ! अंग्रेजले ‘ब्रेन वास’ गरिसकेको छ । नकारात्मक पक्ष हावी हुनथालेको छ । 

यस्तो नकारात्मक सोचले हिन्दू समाजलाई कस्तो प्रभाव पार्दछ ? 
यसले त समाजलाई विस्तारै स्खलित बनाउँदै लैजान्छ । हाम्रा मूल्यमान्यताहरु प्रति नकारात्मक भाव बाहिर आइरहेको छ । यसको परिणामस्वरुप वुद्धाश्रम देखिनथालेका छन् । वृद्धाश्रम किन चाहिन्थ्यो र नेपाली समाजमा वृद्धाश्रम बढ्नुको कारण पनि यही हो । श्रीमती पतिव्रता भयो भने पतिको आमाबाबुलाई वृद्धाश्रम जानु पर्दैनथ्यो । बुहारीले गर्दा गएको रे, छोराले पनि गरेको होला । 

अहिले मातृदेवो भवः, पितृदेवो भवः, अतिथि देवो भवः भन्ने खालका शिक्षा नै छैनन् । परिवर्तित शिक्षाले यतातिरको अवस्था कमजोर बनाइदियो ।  
यसले धार्मिक, सांस्कृतिक मात्र नभएर सामाजिक सहिष्णुतामा पनि खलल पुर्याएको छ । यसले सुख र आनन्द त बढाउँदैन । अमेरिकामा भएको एक सर्वेक्षण एक पटक पनि डिभोर्स नभएका पतिपत्नी बढी सुखी भएको देखाएको छ । 

पतिपत्नीको कस्तो सम्बन्धलाई जोड दिइएको छ, हाम्रो धर्म र संस्कृतिमा ? 
हिन्दूधर्ममा एकपति÷पत्नी जीवनलाई सुखी मानिएको र महत्व दिइएको छ । धर्म विवाहको कहिल्यै पनि विच्छेद नहुने कुरा कौटिल्य अर्थशास्त्रमा उल्लेख छ । पतिपत्नीको सम्बन्ध र उसको नाता नै टुट्दैन जसले अग्निलाई साक्षी राखेर, ब्राह्मणलाई साक्षी राखेर विधिपूर्वक विवाह गरेको हुन्छ । यसो माला लगाएर बिहे गर्नेको त केही अर्थै भएन । धार्मिक मान्यताअनुसार नभएको विवाहको त कुरा भएन तर धार्मिक मान्यताअनुसार गरेको विवाहलाई प्राण प्राण जोड्छु, हड्डी हड्डी जोड्छुजस्ता कुरा गरेर जोड्ने गरिएको हुन्छ । यस्तो विवाह विच्छेद नै हुँदैन ।  

एक अर्काको दुर्गुणलाई कम्प्रमाइज गरेर सहेर अगाडि बढ्नुपर्छ । पतिपत्नीको सम्बन्ध बिजनेस होइन, नापेर जोखेर गर्न । यो निःस्वार्थ प्रेमको प्रक्रिया हो । धर्माशास्त्रअनुकूल विधानअनुसार दुवै जनाले व्रत बस्नु राम्रो हो । धर्म अवधारणाअनुसार चाहिँ जे कर्म गर्दा पनि पतिपत्नी नछुट्नु भन्ने नै हो । सँगै बस्ने अर्थात् सहधर्माचरिता हो, धर्म, कर्म, खाना, मनोरञ्जन सबै एउटै हुनुपर्छ । पतिलाई पत्नीले सहयोग गर्छन् । पछिल्लो समय महिलाहरुलाई अलि बढी लोड परेको छ, घरको पनि आफैँ भ्याएर अफिस पुग्नुपर्ने हुन्छ । 

आधुनिकताले लोड बढाएको छ घर अफिसभन्दा मातृस्नेह महिलाबाट नै हुने हुँदा महिलालाई बढी लोड परेको छ र पुरुषले पनि घरेलु कामकाजमा सहभागिता बढाउँदै जानुपर्छ । महिलाको स्वभाव, शैलीले पनि उनीहरुलाई नै बढी भार परेको हुन्छ । हजारमा १÷२ पुरुषले गरेका अपवाद कामलाई भन्न मिल्दैन । 
व्रतलाई आलोचना गर्दैमा व्रत नगर्दैमा उनीहरुको लोड कम हुने होइन । खुसीराजीसँग चोखो खाएर भक्ति श्रद्धासँग गर्ने चिज हो यो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै