• २०८१ बैशाख १३ बिहीबार

आमाछोरीजस्ता सासूबुहारी !

kharibot

काठमाडौं । हाम्रो समाजमा सासूलाई आमा र बुहारीलाई छोरी मान्नुपर्छ भन्ने कुरा मात्र गरिन्छ तर व्यवहारमा न सासूले बुहारीलाई छोरी मान्छन्, न बुहारीले नै सासूलाइै आमासमान ठान्छन् । 

बोलाइ र गराइमा धेरै फरक पाइन्छ हाम्रो समाजमा । सासूबुहारीबीच झैंझगडा त सामान्य लिइन्छ, भइरहन्छ तर सासूलाई आमा र बुहारीलाई छोरीको रुपमा मानिने कहिले हो ?

आजभोलि तीजको समय छ रेडियो, टिभीबाट सासूबुहारीका पीरमर्का समेटिएका गीत घन्किन सुरु भइसकेको छ । 

तर काठमाडौँ महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा बस्ने  सासू धनमाया श्रेष्ठ र बुहारी शोभा श्रेष्ठमा यो कुरा लागू भएको छैन । ७० वर्षीय धनमायाले आजभन्दा लगभग १० वर्षअघि बुहारी शोभालाई मिर्गौला दिइन् । धनमाया भन्छिन्, “२०६६ साल असार १७ गते मैले बुहारीलाई मिर्गौैला दिएको हुँ ।” परिवारमा बिरामी हुँदा जो कोहीले सहयोग गर्नुपर्छ, सासूले बुहारीलाई होस् वा बुहारीले सासूलाई ।”

त्यसैले त बुहारी र सासूको नाता आमाछोरीको जस्तो भएको छ ।  

२०६६ सालमा बुहारीको मिर्गौलाले काम गर्न छोड्यो र डाक्टरले मिर्गौला ट्रान्सप्लान्ट गर्ने सल्लाह दिए । तर धनमायाले घरमा कसैलाई सोध्दै नसोधी बुहारीलाई मिर्गौला दिन तयार भइन् । उनी भन्छिन्, “मैले बुहारीलाई मिर्गौला दिन्छु भनेर श्रीमानलाई समेत भनिनँ ।” रोग जो कोहीलाई लाग्न सक्छ, सक्ने मान्छेले सहयोग गर्नुपर्छ भन्ने लाग्छ धनमायालाई । ‘बिरामी बुहारीलाई सहयोग गर्नु मेरो धर्म हो । सहयोग गर्न सकेँ’, उनी भन्छिन्, ‘मेरो मिर्गौला उनलाई मिल्यो साह्रै खुसी लाग्यो ।’

सासूबुहारीबीच झैंझगडा भइरहन्छ । बेमेलको अवस्था आउँछ भन्ने समाजको सोचाइलाई चिर्नुभयो नि ? भन्दा धनमाया हाँसेर भन्छिन्, ‘म मेरी सासूसँग पनि मिलेको थिएँ, अहिले बुहारीसँग पनि मिलेकै छु । कहिलेकाहीँ ठाकठुक सबैको पर्छ तर त्यसलाई ठूलो बनाउनुहुँदैन ।

उता बुहारी शोभा आफूलाई जन्म दिने आमाजत्तिकै सासूबुहारीको सम्बन्ध भएको बताउँछिन्  । ‘मलाई रोग लाग्यो, आमाले सहयोग गर्नुभयो, यदि मेरो ठाउँमा आमा हुनुभएको भए पनि सहयोग गर्थेँ’, उनले भनिन् ।

सासूबुहारीको यही सम्बन्धले नै त समाजमा श्रेष्ठ सासूबुहारी उदाहरणीय बन्दै गएका छन् ।

बुहारीलाई आफ्नो मिर्गौला मिलोस् भनेर भगवानलाई उनले प्रार्थना गरिन् । सायद भगवानले उनको दयालु मनको भावना बुझे उनको खुसीको सीमा नै थिएन् ।

डाक्टरले समेत पूर्वजन्ममा तपाईंहरु आमाछोरी भएकाले मिर्गौला दिन मिल्यो भन्दा उनलाई साह्रै खुसी लागेको बताउँछिन्  । उनी भन्छिन्, “नमरुञ्जेल यसैगरी खुसी हुन पाइयोस् ।”

त्यसैले त धनमाया झगडा गर्ने सासूबुहारीलाई मिलेर बस्न आग्रह गर्छिन्  । खरीबोटसँग कुरा गर्दै गर्दा धनमायालाई बुहारीको माइतमा आमाबुवा नभएकाले उसको आमा नै आफू भएको भन्ने लाग्छ । उनी भन्छिन्, “बुहारीको माइतीमा बाआमा हुनुहुन्न उनको आमा र सासू आमा दुवै मै हुँ ।”

धेरै सासूबुहारी नराम्रो सम्बन्ध हुन्छ र छ भन्ने सुनेका श्रेष्ठ सासूबुहारीलाई सासूबुहारीबीच साम्रो सम्बन्ध हुँदैन भन्दा अचम्म लाग्छ । “हामीहरुबीच कहिल्यै नराम्रो भएको छैन अरुको सुन्दा अचम्म लाग्छ”, उनीहरु भन्छन्, ‘हामी सासूबुहारीबीच कहिल्यै नराम्रो भएको छैन । सबैले अनुहार पनि एउटै छ तपाईहरु आमाछोरी हो भन्नुहुन्छ लाग्छ हामी सासुबुहारी नभएर आमाछोरी नै हौँ ।’ 

मिर्गौला प्रत्यारोपणको क्षण सम्झिँदै धनमाया भन्छिन्, ‘मैले अरुसँग सोधेको भए मलाई प्रत्यारोपण गर्न नदिनसक्थे त्यही भएर कसैलाई सोधिन, पछि सासूले बुहारीलाई मिर्गौला दान गरेको भनेर कुरा समेत काटे ।’

मिर्गौला प्रत्यारोपणपश्चात् धेरै सञ्चारमाध्यममा अन्तर्वार्ता लिन आएर तर आफूले समाचार दिन हैन बुहारीको ज्यान बचाउन मिर्गौला दिएको कुरा गरेको उनले सुनाइन् ।    

मिर्गौला दिँदा गाह्रो हुन्छ भन्नेहरुलाई धनमाया भन्छिन्, ‘गाह्रो हुँदैन एउटा मिर्गौलाले काम गर्छ आफू बाँच्न र अरुलाई बचाउन किन पछि पर्नु ?’ 

आफूहरुलाई कुनै असहज अवस्था नआएको समेत उनले स्पष्ट पारिन् । त्यसो त धनमाया सुगर र घुँडा दुख्ने रोगको औषधि खान्छिन् तर पनि उनलाई मिर्गौलाकै समस्या भने आएको छैन । सासूबुहारी दुवै जीवनप्रति खुसीसाथ बाँचिरहेको बताउँछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै