• २०८१ बैशाख १३ बिहीबार

लघुकथा : दलाल राज्यसत्ताको विरुद्ध

kharibot

" दिदी, यो साग कसरी ?"  
"२० रुपैंया मुठो ।"सुन्तलीले त्यो बालकलाई जवाफ दिई। सुन्तलिको बूढो भने " ल आयो साग बीस,पच्चिसको साग बिसमा झर्यो ।ल आयो हजुर .... साग खाउँ, ज्यान बनाउँ" भन्दै चिच्याइरहेको थियो ।
"१५ रुपैँया मा आउँदैन दिदी ? अलि ओइलाको नि रछ ।"
ताजा मुठो पल्टाउँदै बालक बोल्यो।
"आउँदैन ।"
"आउँछ भने दिनुस् न ।" बिन्ती कस्यो ।
"ल लैजाऊ त लैजाऊ ।" सुन्तलिले साग प्लास्टिकमा हालिदिई। पैसा दिएर बालक बाटो लाग्यो।
बजारमा कयैन् मान्छे ओहोरदोहोर गरिरहेका थिए।सुन्तली चिच्याउन थाली फेरि :- " लौ हजुर अब २० को साग १५ मा झर्यो , ल आयो... आयो  मुलपानीको ताजा साग मात्र १५ रुपैँयामा।" सुन्तली र उस्को बूढो विगत ७ वर्षदेखी राजधानीमा साग बेच्दै आएका थिए र दिनहुँ यसरी नै चिच्याएर व्यापार गर्दथे।

भोलिपल्ट पनि त्यो बालक साग किन्न आयो र उही प्रश्न दोहोर्यायो।सुन्तलिले उस्लाई चिनी ।"हिजो १५ मा साग देकाले होला फेरि आएछ ";- उस्ले सोची र भनी ।

" ए ! १५ रुपैंया मुठो हो भाइ ।" 

"दिदि १० रुपैँयामा आउदैन ?"बालकले नाक खुम्च्याउँदै सोध्यो।

"आउँदैन....!" झर्किँदै बोली सुन्तली । बूढो मुसुमुसु हाँस्यो।
"आउँछ भने दिनुस् न, मसँग आज १० रुपैँया मात्र छ र पो त ।" उस्ले बिन्ती बिसायो।
सुन्तलिले साग दिई। बालक बाटो लाग्यो।
" बुढी, यो फुच्चे पक्कै पछि नेता बन्ने रछ हौ।" बूढो बोल्यो।
" ल ...कसरी ? " आँखिभुइँ खुम्च्याउँदै उस्ले प्रश्न गरि ।
"देखिनस् , एति सानो उमेरमै कस्तो दलाली गर्ने भैसकेछ ? 
"अनि दलाली गर्न सिक्या मान्छे नेता हुने हो र?"सुन्तलिले आशङ्का व्यक्त  गरि ।

"अब नेताहरु भनेका देशका नामी दलाल त रहेछन् नि..! एतिखेर देश दलालहरुको हातमा छ बुढी ,कुन दिन देश नै बेचेर खालान् जस्तो लाग्न थालिसक्यो मलाई त ।अब हामीजस्ता सर्वहाराले दलाल राज्यसत्ताबाट मुक्ती पाउन्नन् ,त्यसैले यसको विरुद्धमा उत्रीने बेला आएको छ।"बुढो भावुक भयो ,सुन्तली पनि बुढोका कुराले एक्छिन त घोरिई तर त्यसरी घोरिएर मात्र जिन्दगी चल्दैनथ्यो। त्यसैले फेरि दुवै जना उसैगरी चिच्याएर साग बेच्न थाले।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै