• २०८१ बैशाख ६ बिहीबार

सिन्धुपाल्चोकमा लिफ्टिङबाट खानेपानी वितरण गरिने

kharibot

सिन्धुपाल्चोक । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ३ वटा वडालाई समेट्ने गरी लिफ्टिङ प्रणालीबाट खानेपानी आयोजना निर्माण गरिने भएको छ ।

‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ दुई वर्षभित्र सम्पन्न गर्नेगरी सगरमाथा कन्ट्रक्सन कम्पनीले रु १५ करोड ६८ लाखमा निर्माणको ठेक्का पाएको छ । सो आयोजनाबाट साविकको साँगाचोक गाविस र नगरपालिकाको १०, ११ र १२ वडाका दुई हजार २२३ घरधुरीलाई स्वच्छ पिउने पानी वितरण हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

चार तहबाट इन्टेकदेखि एक हजार १०० मिटरको उचाइमा रहेको हर्रे डाँडास्थित ट्याङ्कीमा विजुलीबाट तानिएको पानी सङ्कलन गरेर शुद्धीकरणका लागि प्रशोधन केन्द्रसमेत बनाइने भएको छ । पानी सङ्कलनका लागि ५० हजारदेखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्की निर्माण गरिनेछ । निर्माण पछि एक वर्षसम्म सो आयोजना ठेकेदारले नै सञ्चालन गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिने बताइएको छ । उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा वितरण गरिने र यसका लागि प्रत्येक घरले १० प्रतिशत जनश्रम व्यहोर्नुपर्ने भएको छ ।

“भूकम्पले मुहान सुकेपछि प्रत्येक वर्षको फागुनदेखि असारसम्म स्थानीयबासीले धेरै दुःख झेल्दै आएका थिए”, वडा नं १० का वडाध्यक्ष बेलबहादुर महतले भने । “अब भने गाउँलेले खानेपानीको समस्याबाट मुक्ति पाउने भए ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै