• २०८१ बैशाख १३ बिहीबार

गुणस्तरीय शिक्षाबाट महानगरको समृद्धि खोज्ने प्रयास भइरहेको छ — मेयर शाक्य 

kharibot

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक र संस्थागत विद्यालयको गुणस्तरमा देखिएको खाडल कम गराउने प्रयासमा लागेको बताएका छन् । 

अन्तरराष्ट्रिय साक्षरता दिवस तथा ३९ औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा महानगरको शिक्षा विभागका राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले भने, 'नैतिक प्राविधिक र व्यवहारिक शिक्षालाई न्युनतम मापदण्ड बनाएर शिक्षालाई समाज रुपान्तरणको आधार बनाउँदैछौं । विद्यार्थीहरु प्रतिस्पर्धामा खरो उत्रिन्छन् तर हारलाई अस्वभाविक लिँदैनन् । जीत स्थायी होइन, यो शिक्षा विद्यार्थीबाट पनि सिक्न सकिन्छ।' मेयर शाक्यले राजनीति र विद्यार्थीको आचरण तुलना गर्दै भने,'विद्यार्थीका कतिपय आचरण राजनीतिकर्मीले पनि सिक्नु पर्ने दिन आएको छ ।'

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले, शिक्षण संस्थाभित्रका विकृति हटाएर यस क्षेत्रलाई विकासको मेरुदण्ड बनाउन महानगरले नीतिगत रुपमै व्यवस्था गरेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणले मात्र महानगरको लक्ष्य पूरा हुने बताए । यसमा संस्थागत र सामुदायिक दुवै प्रकारका विद्यालयको भूमिका हुने उनको भनाइ थियो ।  

सो अवसरमा “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पुर्वाधार” शीर्षकमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागिता गराइएको थियो । हरेक श्रोत केन्द्रमा भएको प्रतियोगिताबाट विजयी बनेका ११ जना छात्रा छात्राले प्रतियोगितामा भाग लिएका थिए । 

यसरी भाग लिनेमा १० जना छात्रा र १ जना छात्र थिए । वक्तृत्वकलामा भाग लिने छात्र छात्राले अहिलेको शिक्षा व्यवहारिक नभएको, आफ्नो अवस्थालाईभन्दा अरुको अवस्थालाई हेरेर पाठ्यक्रम तयार पारिएको, क्षेत्रगत विज्ञता भएको व्यक्तिलाई असम्बन्धित क्षेत्रमा जिम्मेवारी दिइएकाले परिणाम निकाल्न नसकिएको तर्क केन्द्रीत गरेका थिए । 

यस प्रतियोगिताबाट अवेयरनेस इन्टरनेशनल एकेडेमीकी छात्रा दिलासासिं खत्री प्रथम भइन भने, अरुण माध्यामिक विद्यालय, बालाजुकी छात्रा सम्पदा सापकोटा द्वितीय र ज्ञानोदय माध्यमिक विद्यालय, बाफलका छात्रा कृति बिष्ट तृतीय भईन । प्रतियोगिताका बिजेतालाई महानगरका प्रमुख शाक्यले नगदसहित प्रमाण पत्र प्रदान गरेका थिए ।

 प्रतियोगिताका बिजयीले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैयाँ रकम प्रदान गरिएको थियो । अन्य सहभागी सवैलाई सान्त्वाना पुरस्कारस्वरुप प्रति व्यक्ति १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।   

कार्यक्रममा २५ वर्षसम्म निरन्तर शिक्षण सेवामा रहेका यसै बर्ष सेवा निवृत हुन लाग्नुभएका २५ जना शिक्षकलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो भने महानगरभित्रको श्रोत केन्द्र स्तरमा सामुदायिक विद्यालय तर्फ ११ र संस्थागत विद्यालयका तर्फबाट ११ गरि जम्मा २२ जना शिक्षक शिक्षिकालाई यस वर्षको उत्कृष्ट शिक्षक सम्मान तथा पुरस्कार प्रदान गरियो । यसैगरी २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने  सामुदायिक र संस्थागत गरी १५ जना विद्यार्थीलाई सम्मान पुरस्कार प्रदान गरिएको थियो । 

यस बर्षको अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३९ औँ राष्ट्रिय शिक्षा दिवसकै अवसर पारेर शिक्षकहरुबीच पनि हाजिरी जवाफ प्रतियोगिताको आयोजना भएको थियो । उक्त प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । यस प्रकारका कार्यक्रमबाट शिक्षाको सान्दर्भिकतालाई आम जनताको चासोसम्म पु¥याउने प्रयास भइरहेको र सञ्चालित कामलाई निरन्तरता दिइने महानगरका शिक्षा अधिकारी डिल्लीराम लुइटेलको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै