• २०८१ बैशाख ८ शनिबार

बिम्स्टेक देशको सैन्य अभ्यासबाट नेपाल पछि हट्यो, के भन्छन् भारतीय मिडिया ?

kharibot

काठमाडौं । नेपालमा यही भदौ १४ र १५ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन भयो । यसमा म्यान्मार, थाइल्याण्ड, भुटान, बंगलादेश, भारत, श्रीलंका र नेपालका कार्यकारी÷राष्ट्रप्रमुख सहभागी रहेका थिए । सम्मेलन १८ बुँदे विभिन्न आपसी सहयोग र प्रयासबारे सामूहिक रुपमा विभिन्न मुद्दाहरुमा साझेदारी गर्ने र यस क्षेत्रको गरिबी हटाउने लगायतमा सहमति गर्दै सम्पन्न भएको थियो । 

सम्मेलन परस्पर सहयोग अभिवृद्धि गर्ने भन्दै सकिए पनि अहिले बिम्स्टेक राष्ट्रले गर्ने संयुक्त सैन्य अभ्यासको मुद्दा पेचिलो बनेको छ । भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेक सम्मेलनमा सम्मेलनलगत्तै भारतमा बिम्स्टेक राष्ट्रका सैनिकले अभ्यास गर्ने बताएका थिए तर प्रधानमन्त्री ओलीले भने संसदमा चर्को विरोध भएपछि यस्तो अभ्यासबारे कुनै निर्णय नभएको बताएका थिए । ओली सरकारकै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि यसबारे कुनै सहमति नभएको बताएका थिए । 

तर यता त्यसमा सहभागी हुनको लागि नेपाली सेनाले भने तयारी अगाडि बढाइसकेको थियो । तर प्रधानमन्त्री ओलीकै दलका शीर्षस्थ नेताहरुले बिम्स्टेक आर्थिक सहयोगका लागि भए पनि सैन्य अभ्यास हुनु सिद्धान्तविपरीत भएकाले त्यसमा सहभागी हुन नहुने बताएका थिए । यता सम्मेलनअघि नै संसदमा भारतसँग नेपाली सेनाले अभ्यास गर्न लागेको भन्दै विरोध हुन सुरु गरिसकेको थियो । सोही कारण अनपेक्षित रुपमा विरोधका स्वरहरु आउनथालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सेनालाई अभ्यासमा नजान निर्देशन दिए । 

उक्त निर्देशनलगत्तै बिम्स्टेक राष्ट्रको पहिलो सहकार्यमा पहिलो गाँसमै ढुंगा परेको छ । कतिपयले नेपालको यस्तो निर्णयले भारतलाई झट्का लागेको समेत बताएका छन् । किनकि भारतले नै पहिला यस्तो अभ्यास गर्ने प्रस्ताव गरेको हो । आफूले गरेको प्रस्तावमा नेपाल सहभागी नहुने भएपछि यसलाई भारतले कसरी लेला भन्ने जिज्ञासा बढेको छ । 

के भन्छन् भारतीय मिडिया ? 

नेपाल संयुक्त सैन्य अभ्यासमा नआउने भएपछि भारतीय मिडियाले आश्चर्य र संशय व्यक्त गरेका छन् । नवभारत टाइम्सले यसबारे समाचार लेख्दै सोमबारदेखि भारतको पुनेमा सुरु हुनलागेको सैन्य अभ्यासमा सेना जानै लाग्दा प्रधानमन्त्रीले नजान निर्देशन दिएको उल्लेख गरेको छ । समाचारमा ओलीको दलभित्रकै नेताहरुको तीव्र विरोधका कारण यस्तो निर्णय ओलीले लिएको बताइएको छ । त्यस्तै फष्र्टपोष्टले पनि नेपाली सेना सहभागी नहुने समाचार लेखेको छ । देशका राजनीतिक दल र नेताले विरोध गरेका कारण प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको उल्लेख गरेको छ । 

त्यस्तै द इकोनोमिक टाइम्सले पनि नेपाल बिम्स्टेक सैन्य तालिममा सहभागी नहुने समाचारलाई प्राथमिकता दिएर प्रकासित गरेको छ। त्यस्तै इन्डियन एक्प्रेसले पनि यस बारेमा समाचार लेख्दै नेपालले सैन्य तालिम बहिष्कार गरेको उल्लेख गरेको छ। 

उक्त तालिममा उच्च सैन्य अधिकृतसहित सात वटै राष्ट्रका ३० अधिकारीहरु सामेल हुने भनिएको थियो । 

खासगरी आर्थिक र प्राविधिक सहयोगका लागि बनेको सामूहिक सहकार्यमा सैन्य उपस्थिति अस्वीकार्य भएको भन्दै नेमकिपा, नेकपाभित्रैबाट असन्तुष्टि खुल्ला रुपमा पोखिन थालेपछि यसको विरोध सुरु भएको थियो । झन् बिम्स्टेकमै मोदीले यसबारे कुरा उठाएपछि नेपालका राजनीतिक दल र नेताहरु आक्रोशित भएका थिए । 

विरोधका लागि विरोध ? 

पुणेमा हुनलागेको बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने भएपछि यसलाई कतिपयले विरोधका लागि विरोध भनेका छन् । खासगरी परस्पर सहयोग र सहकार्य गर्ने भनी एकमुख भएका राष्ट्रहरुबीच सैन्य अभ्यास गर्दा केही फरक नपर्ने कतिपयको धारणा छ । त्यसो त सम्मेलनपछि निकालिएको १८ बुँदामा आतंकवादविरोधी कुराहरु प्नि उठाइएका छन् ।

यस्तो अवस्थामा सैन्य अभ्यासलाई सहज र आवश्यक रुपमा लिनुपर्नेमा उल्टो यसको विरोध गरिनु जायज नभएको उनीहरुको धारणा छ । तर यसका विरोधीहरु भने भारतले पाकिस्तानविरुद्ध शक्तिप्रदर्शन गर्न सार्कलाई निष्प्रभावी बनाएर बिम्स्टेकमार्फत सैन्य दबाब दिन खोजेको अर्थमा पनि बुझेका छन् । तर सम्मेलनमै प्रधानमन्त्री ओलीले बिम्स्टेक सार्कको विकल्पभन्दा सहयोगी संगठनका रुपमा हेर्नुपर्ने भन्दै नेपालको धारणा स्पष्ट गरिसकेका छन् । 

यस्तो अवस्थामा बिम्स्टेक राष्ट्रले गर्ने संयुक्त सैन्यअभ्यासलाई खतरनाक कामका रुपमा लिन नहुनेमा राजनीतीकरण गर्न खोजिएको धेरैको अनुमान छ । तर नेपालमा भारतविरोधी भावना भएको र त्यसकै आधारमा प्रधानमन्त्री ओलीले पछिल्लो समय लोकप्रियता कमाएको अवस्थामा स्वरहरु उचालेर ओलीले भारतविरोधी गोटी चालेको भन्नेहरु पनि कम छैनन् । नेपाल सैन्य मुद्दाहरुमा असंलग्न परराष्ट्र नीति भएको देश भएको र कुनै पनि देशविरुद्ध हुने सैन्य कारबाहीमा सहभागी नहुने राष्ट्र भएकोले पनि यसलाई निहुँ बनाउन सजिलो भएको छ तर यथार्थ कुरा के हो भने नेपालले अमेरिका, भारत, चीनलगायत विश्वका ठूला देशसँग सैन्य अभ्यास गर्दै आएको भने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै