• २०८१ बैशाख ८ शनिबार

प्रचण्डको भारत भ्रमण कसको चाहना, ओलीको की भारतको ?

kharibot

काठमाडौँ। नेकपाका दुईमध्ये फुर्सदिला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिनको भारत भ्रमण सकेर फर्किएका छन् । कुनै बेला भारतीय विस्तारवादविरुद्ध भन्दै सशस्त्र संघर्षको राजनीति गरेका प्रचण्डले भारतीय भूमिको भरपूर प्रयोग गर्दै युद्ध बोक्नेदेखि १२ बुँदे सम्झौता भारतीय भूमिमा नै गरेर, युद्ध बिसाउने कार्य समेत त्यहीँबाट गरेका थिए । शान्तिप्रक्रियाको नाम दिएर युद्धलाई शान्तिप्रक्रियामा रुपान्तरण गर्न सफल उनी देशको प्रधानमन्त्री बनेर समेत भारत गइसकेका छन् भने अब उनी नेपालकै वरिष्ठ राजनीतिज्ञका रुपमा भारतको भ्रमण सकेर स्वदेश फर्किएका छन्। 

प्रचण्डको भारत भ्रमणलाई लिएर अनेकथरीका विश्लेषण सुरु भएको छ। आइतबार स्वदेश फर्किएका प्रचण्ड भारत किन गए भन्ने कुतूहल एकातिर छ भने अर्कोतिर समकक्षी अध्यक्ष देशको कार्यकारीको भूमिकामा रहँदा प्रचण्डले आफ्नो निष्क्रियता तोड्न र महत्वपूर्ण नेतृत्व क्षमता देखाउन सक्छु भनेर भारत गएका हुन् भन्नेहरु पनि छन् । अर्को थरिले प्रचण्डको छिमेकी देशको भ्रमणलाई प्रधानमन्त्री बन्ने एक्सरसाइजका रुपमा पनि विश्लेषण गरेका छन्। 

भारतबाट आएको केही दिनमै प्रचण्ड चीन भ्रमणमा समेत जाँदै छन् । पार्टीमा दुई अध्यक्ष रहेका बेला एकले देशको नेतृत्व र अर्कोले पार्टीको भरपर्दो नेतृत्व प्रदान गर्नु मुनासिब हो तर प्रचण्डको एक्कासि बढेको विदेश सक्रियताले प्रधानमन्त्री ओलीलाई खुसी पार्ने भन्दा बढी झस्काउने निश्चित छ । विगतको आफ्नै राजनीतिक पृष्ठभूमि बोकेर एउटै पार्टीमा समाहित भएका ओली र प्रचण्डको नेकपाको पद दुवै अध्यक्ष हो । त्यो भनेको दुवै जना उत्तिकै शक्तिशाली छन् भन्ने हो । यस्तो अवस्थामा एकअर्काप्रति देखाउने सुसम्बन्ध देखावटी हो तर भित्रीरुपमा भने दुई बीच तीव्र प्रतिस्पर्धा र दाउपेच जारी नै छ। 

ओली देशको प्रधानमन्त्री हुँदा महत्वपूर्ण पदमा रहे पनि जिम्मेवारीभित्र बाँधिएका छन् भने प्रचण्ड खुल्ला छन् । लोकप्रियता हासिल गर्ने कुरामा ओलीले प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गर्नु महत्वपूर्ण अवसर भए पनि प्रचण्डसँग यस्तो अवसर तत्काल छैन । सत्ता बाहिर हुदा छटपटाउने प्रचण्डको विगतको प्रवृति फेरी दोहोरिन थालेको राजनीतिक वृतमा चर्चा सुरु भएको छ। पार्टीभित्र कार्यकर्तालाई देखाउनकै लागि पनि उनलाई अहिले सक्रियता देखाउन आवश्यक भएको प्रचण्डले ठानेका हुनसक्छन् । त्यसकारण उनी भारत गए भने चीन जाने तरखरमा छन् । 

कस-कसलाई भेटे ? के–के कुरा गरे ?     

प्रचण्डले चार दिने भारत भ्रमणमा भारतका वरिष्ठ राजनीतिक अधिकारीहरुसँग भेटवार्ता गरे । उनले भारतका राष्ट्रिय सल्लाहकार अजित डोभल, भारतका गृहमन्त्री राजनाथ सिंह, भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंह, भारतीय विदेशमन्त्री सुष्मा स्वराज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई प्रचण्डले भेटेका थिए । 

प्रचण्डले पार्टीको भन्दा पनि दुई देशको सम्बन्धलाई यस भ्रमणमा बढी जोड दिए । उनले गएकै दिन नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुलाई भनेका थिए, ‘नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउन भ्रमण गरेको हुँ ।’ यसबाहेक उनले सरकारले अघि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, दुई देशबीच भएका सम्झौता कार्यान्वयन गराउनका लागि पनि आफू भारत आएको भनेर झण्डै झण्डै प्रधानमन्त्रीकै ‘विशेष दूत’का रुपमा आफूलाई उभ्याउन खोजेका थिए । त्यस्तै अर्को महत्वपूर्ण सवाल प्रचण्डले भारतमा रहँदा आफूले सीमाक्षेत्रमा नेपालीलाई पीडा नदिन आग्रह गरेको भनी बताएका थिए ।

भ्रमण सक्नुअघि प्रधानमन्त्री मोदीसँग भेटेका प्रचण्डले हाइड्रो इनर्जी, हुलाकी मार्ग निर्माण, रेल्वे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटनका क्षेत्रको विकासबारे कुरा गरेको बताएका छन् । धार्मिक पर्यटनलाई जोड दिएर दुई देशका तीर्थस्थल समेटेर एक बृहत्तर सर्किट बनाउने कुरामा समेत प्रचण्डले जोड दिएको बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी ओलीले चैतमा गरेको भ्रमण र यसअघि आफैँ प्रधानमन्त्रीका रुपमा भारत जाँदा भएका सम्झौता समेत कार्यान्वयन गर्न भारतीय पक्षसँग आग्रह गरेको प्रचण्डले बताएका छन् । प्रचण्डको भारत भ्रमणको उल्लेखनीय पक्ष भनेका यिनै हुन् । 

कति औचित्यपूर्ण र आवश्यक थियो प्रचण्डको भारत भ्रमण ? 

योचाहिँ महत्वपूर्ण प्रश्न हो विशेषगरी आम तहमा उठेको । यदि प्रचण्ड माथि उल्लेख भएकै कुरालाई जोड दिएर गएका हुन् भने यो आवश्यक नरहेको र केवल घुमन्ते भ्रमण मात्रै हो । किनकि गत चैतमा मात्रै ओली आफैँ भारत गएका थिए राजकीय सम्मान पाउने गरी । जब प्रधानमन्त्री आफैँ गएर सन्धि, सम्झौताका कुराहरु गरिसकेका छन् भने तिनै कुरो कोट्याउन केही महिना नबित्दै प्रचण्ड भारत गइरहनु आवश्यकै थिएन । झन् भर्खरै सकिएको बिम्स्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदी समेत २ दिन नेपाल आई फर्किएको सन्दर्भमा त यति हतारिएर उक्त कुरा उठाउन प्रचण्ड भारत गइराख्नु जरुरी नै थिएन । त्यसकारण प्रचण्डको यो भ्रमण फिक्का र औचित्य पुष्टि नहुने रह्यो भन्दा फरक पर्दैन । 

त्यसो भए के ओलीलाई खुसी पार्न भारत गएका थिए ? 

प्रचण्डले भारत गएर जे जे कुरा गरेँ भनेका छन् यदि त्यो हो भने ओलीलाई खुसी पार्न भारत गएका थिए भन्न सकिन्छ तर आमतहले प्रचण्डको भ्रमणलाई यसरी बुझ्दैन । उनी ओलीलाई फकाउन होइन, उनीभन्दा माथिल्लो हैसियतको हुँ भन्न गएको देखिन्छ । देशको नेतृत्व गरेर भ्रमण गरेका ओलीलाई झस्काउन र तर्साउन नै प्रचण्डको भारत भ्रमण भएको हो । प्रधानमन्त्री भए पनि ओलीभन्दा माथिल्लो स्तरको नेता हुँ भनेर भारतीय पक्षलाई देखाएमा उनीहरुले आफ्ना कुरा सिधै प्रचण्डलाई भन्ने र त्यसो हुँदा ओलीदेखि सशंकित भारतीय नेताहरुलाई पनि केही सहज हुने प्रचण्डको बुझाइ हो । आफैँलाई फिक्का साबित गर्न किन जान्थे र प्रचण्ड ? ओलीसँग समझदारी नै भए पनि भारतले पत्याई नहाल्ने परिस्थितिको फाइदा लुट्न प्रचण्ड भारत दौडिएका हुन् । त्यसकारण ओली प्रचण्डको भारत भ्रमणबाट सन्तुष्ट छैनन् र हुने पनि छैनन् । बरु झस्किने स्थितिचाहिँ देखिन्छ । किनकि ओली आफूले कुरा गरिसकेको र भारतीय प्रधानमन्त्रीलाई आफैँले आफ्ना पोलिसीबारे अवगत गराएको तथा मोदीबाट आफ्ना पोलिसी र एजेण्डामा ‘ग्रिनलाइट’ पाइसकेको कुरामा विश्वस्त रहेको अवस्थामा प्रचण्डले ओली पोलिसीकै कुरा गरेको भन्दा यसले ओलीलाई झस्काउने नै भयो । किनकि ओलीले नाकाबन्दीताका भारतले आफूलाई बुझ्ने दृष्टिकोणमा मोदीलाई बुझाउन सकेको ठान्छन् । 

अर्को पक्ष नाकाबन्दी ताकाको ओलीको अडान र भारतसँगको व्यबहारबाट भारत अझै आस्वस्त नभएको उदाहरणको रुपमा पनि प्रचण्डको भारत भ्रमणलाई विश्लेषण गरिएको छ। भारत सधै नेपाली राजनीतिमा डिभाइड एण्ड रुल' को रणनिति अपनाउने गर्दछ, त्यो चाहे राजाको पालामा होस् या त्यसपछिका दिनहरुमा होस्। अहिले पनि भारतको यसै रणनिति अनुरुप बलियो देखिएका ओलीलाई उनको कम्जोर कडीको रुपमा भारतले प्रचण्डलाई प्रयोग गरेको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन्। हैन भने राजनीतिक रुपमा नेपाल र भारतको पछिल्लो ८ महिनामा दर्जनौ बैठक, भेटघाट उच्च तहमा भएका छन् यस्तोमा प्रचण्ड भारत पुगेरै भेटवार्ता गर्नुपर्ने कुनै स्पष्ट विषय थिएन।   

चीन भ्रमण : ओलीलाई अर्को पीर !

प्रचण्डलाई धेरैले वेटिंग प्रधानमन्त्रीको रुपमा अहिले पनि हेरेकै छन्। सरकार अलोकप्रिय हुदै जाँदा प्रचण्डको सत्तारोहण छिट्टै हुन्छ भन्नेको कमि अहिले छैन। यसै प्रसंगमा प्रचण्ड अब पुनः केही दिनमै चीन जादै छन् । भारतबाट आएलगत्तै चीन गएर दुई देशको सम्बन्धको चर्चा गर्दा प्रचण्डलाई जनस्तरमा र पार्टीपंक्तिमा समेत चर्चाको ठूलो टेवा हुनेछ । त्यस्तै नेपालप्रतिको विदेशीको धारणा समेत बुझ्ने अवसर पाउने हुँदा प्रचण्डलाई विदेश दौडाहा फलदायी नै हुनेछ । तर ओलीका लागि भने यसले पीरबाहेक कुनै सघाउ पुग्ने देखिँदैन । किनकि प्रचण्ड पार्टीका अध्यक्ष हुन्, उनले बाहिर गएर गर्ने कुराहरु देशका लागि औपचारिक होइनन्, हुँदैनन् । यसले विषयगत प्रवेश पाउला तर औपचारिक सफलता मिल्दैन । बरु ओलीको नीतिहरुबारे चर्चा हुँदा त्यसलाई प्रचण्डले आफूअनुकूल व्याख्या गर्न सक्ने स्थिति रहन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै