अमेरिका । वन्यजन्तु संरक्षकहरुले अमेरिकाको उताह राज्यमा रहेको एउटा तालमा माछा राख्न एरोप्लेन प्रयोग गरेका छन् । प्लेनको पिँधबाट पानीसहितको माछा तालमा खसाएको एउटा भिडियो समेत अधिकारीहरुले सार्वजनिक गरेका छन् ।
त्यसरी खसालिएकामध्ये ९५ प्रतिशत माछा जीवितै रहेको उनीहरुले दाबी गरेका छन् । तालमा ससाना ट्राउट माछा खसालिएको हो । तालसम्म माछा लैजान पैदलबाट समस्या हुने देखिएकाले र सजिलो हुने भएकोले प्लेनको प्रयोग गर्नुपरेको उनीहरुको दाबी छ ।
यस्ता भौगोलिक रुपले कठिन क्षेत्रमा सन् १९५६ अघि दूधको क्यानमा माछा हालेर लगेर छाडिने गरेको थियो । तर यसरी लैजाँदा माछा मर्ने सम्भावना धेरै हुने उनीहरुको भनाइ छ ।
लाइभसाइन्सका अनुसार यसरी माछा खसाल्न पाइलटले एउटा रुखको उचाइबराबर भएर प्लेन उडाएका थिए । जतिसक्दो कम उचाइबाट माछा खसालिएको हो । पर्वतीय भूगोलका कारण यो विधिलाई प्रभावकारी हुने आँकलन गरिएको बताइएको छ । उताहका २०० लेकहरुमा यो विधि प्रभावकारी मानिएको छ ।
यस प्रकारले माछा राखिएको दृश्य सामाजिक सञ्जालमा भिडियोमार्फत धेरैले आश्चर्यजनक रुपमा हेरेका छन् ।