• २०८१ बैशाख १४ शुक्रबार

म्याग्दीमा स्थित ऋखार जाने भक्तजनको संख्यामा वृद्धि

kharibot

कमल खत्री

म्याग्दी । डुँगा आकारको ढुँगा । ढुँगा माथि मन्दिर । ढुँगाको फेदीमा तलाउ । पहाडको टुप्पोमाथि रहेको यो क्षेत्र पवित्र धार्मिक स्थल ऋखार हो । रघुगंगा गाउँपालिका–८ मा अवस्थित ऋखार धार्मिक स्थल त हो नै प्राकृतिक सौन्दर्यको हिसाबले पनि मनोरम छ । धौलागिरि हिमालको फेदीमा करीब ४ हजार ६०० मिटर उचाइमा पर्ने यो ठाउँमा वैशाखदेखि असोजसम्म नै पूजाआजा हुने गर्छ ।

ऋखार मन्दिरमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले हरेक वर्ष यहाँ पुग्ने भक्तजनको संख्या बढ्दै गएको छ । जनैपूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की लगायतका क्षेत्रबाट भक्तजनहरु पुग्ने गरेको ऋखार संरक्षण तथा सुधार समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए । यस वर्ष जनैपूर्णिमामा ३०० भन्दा बढी भक्तजन ऋखारमा पुगेका थिए ।

सप्तऋषिहरुले तपस्या गरेको ऋखारमा पूजा गर्न चोखो र अघिल्लो दिनदेखि नै व्रत बसेको हुनुपर्ने मान्यता रहेको छ । मनोकांक्षा पूरा आशा बोकेर दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी यहाँ भक्तजनहरु पुग्ने गरेका छन् । ऋखारमा वर माग्न गएका भक्तजन र सर्वसाधारण यस क्षेत्रबाट देखिने मनोरम दृश्यको अवलोकन गरेर फर्कने गरेका छन् ।

ऋखारको धार्मिक महत्व सुनेर पहिलो पटक पूजा र दर्शनका लागि पुगेका बेनी नगरपालिका–९ का याम बहादुर चोखालले यो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए ।

उनले भने, “यो ठाउँ प्राकृतिक रुपमा पनि मनोरम रहेछ । यहाँ पदमार्गलगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ । वस्तीदेखि धेरै टाढाको ठाउँ भएकाले स्वास्थ्य र सुरक्षाको समेत प्रवन्ध गर्न सक्ने हो भने यो क्षेत्र उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सम्भव छ ।”

सदरमुकाम बेनीदेखि तीन दिनको पैदल यात्रापछि ऋखार पुगिन्छ । आफ्नो मनोकांक्षा पूरा भएकाले हरेक वर्ष आफू ऋखार आउने गरेको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका सूर्यदक्त शर्माले बताए ।

सप्तऋषिले तपस्या गरेको पुण्यभूमि ऋखारमा पूर्वाधारहरु नबनेको भए पनि वृद्धवृद्धादेखि युवायुवतीसमेत पुग्ने क्रम बढिरहेको पात्लेखर्क ऋखार युवा क्लबका सचिव अंकित पुनले बताए ।

उनका अनुसार ऋखार हुँदै धौलागिरि आधार शिविर, चेमले आधार शिविर जाने मार्गसमेत पहिचान भैसकेको छ । ऋखार मन्दिर परिसरमा वर्षौंदेखि रहेको दमाहा आकारको तामाको भाँडोमा बाहिरबाट पानी नराखिने र भित्रबाट जति पानी झिकेपनि नसकिने अनौठो विशेषता रहेको छ । लामो समयदेखि ऋखार क्षेत्रको विकासमा क्रियाशील रहँदै आएका ‘अद्भूतबाबा’ बम बहादुर शेरपुञ्जाले भने, “यहाँ आउने भक्तजनहरु सबैले यस भाँडाबाट जल लैजाने गर्छन् । भाँडामा बाहिरबाट कसैले पनि पानी राख्दैनन् । जति झिके पनि भाँडो रिक्तिँदैन । यसले ऋखारको महत्वलाई थप बढाएको छ ।”

पोखराबाट ऋखार मन्दिर पुग्नुभएकी हमती छन्त्यालले भनिन्,  “म तीन पटक यस मन्दिरमा आइसकेकी छु । अघिल्लो वर्ष छोरो आएको  थियो । यहाँ आएर छोरोले गरेको भाकल पूरा भयो ।” ऋखार जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी, पात्लेखर्क हुँदै पुग्न सकिन्छ । यहाँ पुग्ने भक्तजन र पर्यटकहरुलाई बस्नका लागि पात्लेखर्क, बगरखोला र ऋखारमा तीर्थबास भवन बनाइएको छ ।

यहाँ भक्तजनहरुलाई निःशुल्क खाना ख्वाउने व्यवस्था गरिएको हिमाली आमा समूहका सचिव एवं वडा सदस्य प्रिती गर्बुजाले जानकारी दिइन् । “पहिले यहाँ आएपछि आफन्तको घर खोज्नुपथ्र्यो, अहिले तीर्थबास भवनमा गाउँलेले नै खाना र बसोबास सबैको बन्दोबस्त मिलाउँछन् । बगरखोलामा पनि भक्तजनलाई खानाका लागि सामग्री जुटाइदिने गरेका छौं” – उनले भनिन् । अग्लो पहाडको टुप्पोमा रहेको ऋखारमा सप्तऋर्षि कश्यप, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ, विश्वामित्र र अत्रीले तपस्या गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

पर्यटकीय गन्तव्य यस क्षेत्रमा पुग्न व्यवस्थित पदमार्ग निर्माण र यस क्षेत्रमा रहेका आकर्षणहरुको प्रचारप्रसार गर्न सकिए भक्तजनसँगै पर्यटकहरु समेत भित्र्याउन सकिने सम्भावना छ । ऋखार क्षेत्रमा पुग्ने भक्तजनहरुलाई स्थानीयवासीले सत्तल निर्माण गरिदिएका छन् भने वरपर रहेका भेडीगोठहरुमा समेत बास बस्ने व्यवस्था मिलाउने गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा यो वर्षलाई ‘म्याग्दी भम्रण वर्ष’को रुपमा मनाइरहँदा ऋखार क्षेत्रलाई उजिल्याउन पनि आवश्यक छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै