• २०८१ बैशाख १४ शुक्रबार

चितवनमा  वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिँदै

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अपाङ्गता भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिरहेको छ ।

निकुञ्जको देवनगर रेञ्जपोष्टको दुई सय मिटर दक्षिणमा रहेको वरण्डाभार क्षेत्रमा सो केन्द्र निर्माण भइरहेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार १६ हेक्टर जमीनमा पर्खाल लगाएर त्यसभित्र अपाङ्ग तथा अशक्त वन्यजन्तुलाई राखिनेछ । गत वर्षदेखि सो केन्द्र निर्माण थालिएको हो । हालसम्म ४०० मिटर पर्खाल लगाउने काम सम्पन्न भएको छ । गतवर्ष रु ५० लाखको बजेट प्राप्त भएकोमा सोही बजेटबाट काम थालिएको अर्यालले बताए ।

“थप बजेट माग गरी छिटो काम सम्पन्न गर्ने तयारीमा निकुञ्ज जुटेको छ,” उनले भने । पूरै क्षेत्रमा पाँच फिट पर्खाल र त्यसमाथि पाँच फिट मेसजाली लगाइँदै छ । पूरै भाग घेरिएपछि त्यसभित्र खण्डखण्ड निर्माण गरेर जनावर राखिनेछ । बाघ र चितुवा जस्ता जनावरका लागि छानो हालिँदै छ, भने अन्य जनावरलाई खुल्ला आकाशमुनि राखेर संरक्षण गरिनेछ । घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढङ्गले गर्न केन्द्र स्थापना गर्न लागिएको हो ।

अर्यालका अनुसार चालू आवमा अहिलेसम्म तीन बाघको उद्धार गरिएको छ । ठाउँको अभावमा उनीहरुलाई कसरामा खोरमा राख्ने गरिएको छ । नियमित दुर्लभ र अन्य साना जनावर घाइते हुने तथा बुढो भएर अशक्त भई सहारा दिनुपर्ने आएपछि मुख्य कार्यालय कसरा नजिकै केन्द्र स्थापना गर्न लागिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै