शिक्षा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै

खरीबोट

काठमाडौँ। विद्यार्थीलाई बहुआयामिकरूपले सिकाउन सरकारले कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण (ग्रेड टिचिङ) र बहुकक्षा शिक्षणको विस्तारमा प्राथमिकता दिइने भएको छ । 

शिक्षक र विद्यार्थीको सिकाइ सम्बन्धलाई सहज तुल्याउन र समग्र सिकाइ उपलब्धिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५’ मार्फत आगामी २०७६ वैशाखबाट कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागूलगायत शिक्षण पद्धतिमा समयानूकल परिवर्तन गर्न लागिएको हो । 

कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण, बहुकक्षा शिक्षण, बहुभाषिक शिक्षण पद्धतिका हालसम्मका अनुभवको सकारात्मक उपलब्धिका आधारमा मन्त्रालयले पठनपाठन प्रक्रियामा सुधार गर्ने जनाएको छ । कक्षामा निश्चित शिक्षकले सबै विषयको सिकाइ प्रक्रिया सञ्चालन गर्नु कक्षा शिक्षण हो भने एक वा सोभन्दा बढी कक्षाका विद्यार्थीलाई एकै कोठामा राखेर पढाइनुलाई बहुकक्षा शिक्षण भनिन्छ । मातृभाषा शिक्षणअन्तर्गत विद्यार्थीले आफ्नो मातृभाषामा पढ्न पाउनेछन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २२ गते सार्वजनिक गनुभएको सो सुधारको कार्यक्रममा कक्षा १ देखि ३ सम्म कक्षा शिक्षणलाई प्राथमिकता दिइने तर विद्यार्थीसङ्ख्या कम भएका विद्यालयमा बहुकक्षा शिक्षण व्यवस्था प्रभावकारी बनाउने उल्लेख छ । यसको प्रभावकारी कार्यान्वयनका निम्ति अलगअलग पाठ्यसामग्री विकास गरिनेछ । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले साना नानीहरुलाई उनीहरुका बानी व्यहोरा बुझेर आवश्यकताअनुसार एकै शिक्षकले दिनभर पढाउँदा सिकाइको स्तरमा सुधार आएको पाइएकाले सो नीतिलाई थप विस्तार गरिने बताउनुभयो । यो प्रक्रियामा विद्यार्थीलाई सिकाइ कार्ड र सामग्री, चित्र तथा नृत्यको प्रयोग गराइनेछ । 

हालसम्म विकास गरिएका उपयोगी खालका सम्पूर्ण पाठ्यसामग्री, सन्दर्भ सामग्री, स्रोत सामग्री, प्रयोगात्मक सामग्री छपाइ गरी विद्यालयले प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन तथा विद्यालय तहका पाठ्यपुस्तक र पाठ्यसामग्री आवश्यकताअनुसार प्रत्येक वर्ष अद्यावधिक तथा परिमार्जन गर्न पनि नीतिमा उल्लेख छ । 

शिक्षण सिकाइमा टेवा पुग्ने खालका विशेषतः अङ्ग्रेजी, गणित, विज्ञान र प्राविधिक विषयमा डिजिटल पाठ्यसामग्री विकास गरी प्रयोगमा ल्याउन भनिएको छ । निजी (संस्थागत) विद्यालयमा यो विधि पहिलेदेखि नै लागू हुँदै आएको छ । 

डिल्लीबजारस्थित कन्या माध्यमिक विद्यालयकाका प्रधानाध्यापक रीता तिवारीले आफ्नो विद्यालयमा सञ्चालित कक्षा शिक्षण प्रभावकारी भएको बताउँदै यसबाट विद्यार्थी खुशी भएको र विद्यालयले पनि धेरै शिक्षक खटाउन नपर्ने जनाउनुभयो । 

माथिल्लो कक्षामा भने एकै शिक्षक धेरै विषयको ज्ञाता हुन नसक्ने भएकाले यो विधि लागू गर्दा सोचेर मात्रै गर्न उनले सुझाव दिए । 

बाफलस्थित ज्ञानोदय माविका सामाजिक विषयका शिक्षक गोविन्द भण्डारीले पनि कक्षा शिक्षणमा विद्यार्थीले शिक्षक चिन्ने र शिक्षकले विद्यार्थीको आवश्यकता र समस्या बुझेर समाधान गर्ने भएकाले यसबाट सिकाइ प्रभावकारी हुने अनुभव सुनाए । “तल्ला कक्षामा विद्यार्थी र शिक्षकबीच जति नजिक भयो, त्यति प्रभावकारी हुन्छ । विद्यार्थी शिक्षकसँग झुण्डिन थाल्छन्, जसले सिकाइ प्रक्रिया सरल बनाइदिन्छ ।” 

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयले उपाधि समकक्षताका लागि छुट्टै समिति बनाउने 

काठमाडौँ। विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्नका लागि छुट्टै समिति गठन गर्ने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय तथा शिक्षण संस्था सञ्चालन’सम्बन्धी

शिक्षक–कर्मचारीको सामाजिक सञ्जाल निगरानी गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’

साढे एघार हजार शिक्षकले अझै बुझाएनन् सम्पत्ति विवरण 

काठमाडौँ। विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४÷०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।  करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको

काठमाडौँ विश्वविद्यालयमा रजिष्टारपछि विभागीय प्रमुखहरुको धमाधम राजीनामा   

काठमाडौँ।  देशको राम्रो भनिएको काठमाडौँ विश्वविद्यालय अहिले भद्रगोल हुन पुगेको छ। उपकुलपति डा.रामकान्थ माकाजु र रजिष्टार डा. भोला थापाबीचको विवादका बीच डा.थापाले आफ्नो पदबाट राजीनामा दिएपछि विश्वविद्यालयको अवस्था भद्रगोल हुन


z