• २०८१ बैशाख ८ शनिबार

शिक्षा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै

kharibot

काठमाडौँ। विद्यार्थीलाई बहुआयामिकरूपले सिकाउन सरकारले कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण (ग्रेड टिचिङ) र बहुकक्षा शिक्षणको विस्तारमा प्राथमिकता दिइने भएको छ । 

शिक्षक र विद्यार्थीको सिकाइ सम्बन्धलाई सहज तुल्याउन र समग्र सिकाइ उपलब्धिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम, २०७५’ मार्फत आगामी २०७६ वैशाखबाट कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागूलगायत शिक्षण पद्धतिमा समयानूकल परिवर्तन गर्न लागिएको हो । 

कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण, बहुकक्षा शिक्षण, बहुभाषिक शिक्षण पद्धतिका हालसम्मका अनुभवको सकारात्मक उपलब्धिका आधारमा मन्त्रालयले पठनपाठन प्रक्रियामा सुधार गर्ने जनाएको छ । कक्षामा निश्चित शिक्षकले सबै विषयको सिकाइ प्रक्रिया सञ्चालन गर्नु कक्षा शिक्षण हो भने एक वा सोभन्दा बढी कक्षाका विद्यार्थीलाई एकै कोठामा राखेर पढाइनुलाई बहुकक्षा शिक्षण भनिन्छ । मातृभाषा शिक्षणअन्तर्गत विद्यार्थीले आफ्नो मातृभाषामा पढ्न पाउनेछन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २२ गते सार्वजनिक गनुभएको सो सुधारको कार्यक्रममा कक्षा १ देखि ३ सम्म कक्षा शिक्षणलाई प्राथमिकता दिइने तर विद्यार्थीसङ्ख्या कम भएका विद्यालयमा बहुकक्षा शिक्षण व्यवस्था प्रभावकारी बनाउने उल्लेख छ । यसको प्रभावकारी कार्यान्वयनका निम्ति अलगअलग पाठ्यसामग्री विकास गरिनेछ । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले साना नानीहरुलाई उनीहरुका बानी व्यहोरा बुझेर आवश्यकताअनुसार एकै शिक्षकले दिनभर पढाउँदा सिकाइको स्तरमा सुधार आएको पाइएकाले सो नीतिलाई थप विस्तार गरिने बताउनुभयो । यो प्रक्रियामा विद्यार्थीलाई सिकाइ कार्ड र सामग्री, चित्र तथा नृत्यको प्रयोग गराइनेछ । 

हालसम्म विकास गरिएका उपयोगी खालका सम्पूर्ण पाठ्यसामग्री, सन्दर्भ सामग्री, स्रोत सामग्री, प्रयोगात्मक सामग्री छपाइ गरी विद्यालयले प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन तथा विद्यालय तहका पाठ्यपुस्तक र पाठ्यसामग्री आवश्यकताअनुसार प्रत्येक वर्ष अद्यावधिक तथा परिमार्जन गर्न पनि नीतिमा उल्लेख छ । 

शिक्षण सिकाइमा टेवा पुग्ने खालका विशेषतः अङ्ग्रेजी, गणित, विज्ञान र प्राविधिक विषयमा डिजिटल पाठ्यसामग्री विकास गरी प्रयोगमा ल्याउन भनिएको छ । निजी (संस्थागत) विद्यालयमा यो विधि पहिलेदेखि नै लागू हुँदै आएको छ । 

डिल्लीबजारस्थित कन्या माध्यमिक विद्यालयकाका प्रधानाध्यापक रीता तिवारीले आफ्नो विद्यालयमा सञ्चालित कक्षा शिक्षण प्रभावकारी भएको बताउँदै यसबाट विद्यार्थी खुशी भएको र विद्यालयले पनि धेरै शिक्षक खटाउन नपर्ने जनाउनुभयो । 

माथिल्लो कक्षामा भने एकै शिक्षक धेरै विषयको ज्ञाता हुन नसक्ने भएकाले यो विधि लागू गर्दा सोचेर मात्रै गर्न उनले सुझाव दिए । 

बाफलस्थित ज्ञानोदय माविका सामाजिक विषयका शिक्षक गोविन्द भण्डारीले पनि कक्षा शिक्षणमा विद्यार्थीले शिक्षक चिन्ने र शिक्षकले विद्यार्थीको आवश्यकता र समस्या बुझेर समाधान गर्ने भएकाले यसबाट सिकाइ प्रभावकारी हुने अनुभव सुनाए । “तल्ला कक्षामा विद्यार्थी र शिक्षकबीच जति नजिक भयो, त्यति प्रभावकारी हुन्छ । विद्यार्थी शिक्षकसँग झुण्डिन थाल्छन्, जसले सिकाइ प्रक्रिया सरल बनाइदिन्छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै