• २०८१ बैशाख ८ शनिबार

ट्रम्प प्रशासनद्वारा प्यालेस्टिनी कार्यालय बन्द गर्ने तयारी

kharibot

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सोमबार अपराह्न यससम्बन्धी घोषणा गर्ने बताइएको छ । “प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा” राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा खोल्दैन, बोल्टनको भाषणको अंश उद्धृत गर्दै ती अधिकारीले बताएका छन् । 

ट्रम्प प्रशासनले इजरायलसँग गम्भीर शान्ति वार्ता हुन नसकेको अवस्थामा वासिङ्टनमा कार्यालय बन्द गर्ने भन्दै गत वर्ष नै सूचित गरेको थियो । 

प्यालेस्टिनी अधिकारी साएब एरेकातले ट्रम्प प्रशासनको कार्यालय बन्द गर्ने नीति हो भने त्यसले प्यालेस्टिनी जनतामाथि आमरुपमा सजाय दिन वासिङ्टन उद्यत रहेको पुष्टी गर्नेछ भने । स्वास्थ्य र शिक्षा समेतका मानवीय सेवाका लागि उपलब्ध हुने आर्थिक सहायतामा समेत अमेरिकाले कटौती गरेकामा उनले रोष प्रकट गरे । 

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन अर्थात् पिएलओले औपचारिक रुपमै सबै प्यालिस्टिनीको प्रतिनिधित्व गर्दछ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइन राज्यलाई मान्यता नदिए पनि पिएलओलाई वासिङ्टनमा अमेरिकी सरकारसँग औपचारिक वार्ता र छलफलका लागि प्रतिनिधित्व गर्न पाउने अख्तियारी दिइएको छ । 

संयुक्तराज्य अमेरिकाका लागि पिएलओ प्रमण्डलका प्रमुखले ट्रम्प प्रशासनले “प्यालेस्टाइनमा दशकौंदेखिको अमेरिकी दृष्टिकोण र सहकार्य” लाई ध्वस्त बनाउन लागेको आरोप लगाए । “मानवीय र विकास सहायतालाई राजनीतिक सौदाबाजीका रुपमा शस्त्रीकरण गर्नु” उपयुक्त हुनै सक्दैन, राजदूत हुसम जोमलोटले बताए । 

ट्रम्पले प्यालेस्टिनीविरुद्ध एकपछि अर्को दबाबमूलक कार्य गरिरहेका छन्  । 

हालैमात्र ट्रम्प प्रशासनले प्यालेस्टिनी शरणार्थीको मद्दतका लागि संयुक्तराष्ट्र संघीय निकायलाई दिँदै आएको अमेरिकी सहायता बन्द गरेको थियो । साथै पश्चिमी किनारा र गाजामा सञ्चालित परियोजनाको सहायता रकम कटौती गर्नुका साथै प्यालेस्टिनीका लागि सेवा उपलब्ध गराउने जेरुसेलमस्थित एक अस्पतालका लागि दिइआएको सहयोग बन्द गरेको थियो । 

ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिनुका साथै तेल अभिभबाट अमेरिकी राजदूतावास जेरुसेलम स्थानान्तरित गरेका थिए । उक्त कदमलगत्तै भएको प्रदर्शनका क्रममा दर्जनौं प्यालेस्टिनी मारिएका थिए । प्यालेस्टिनीहरुले पछिल्ला दिनहरुमा अमेरिका शान्तिविरोध रहेको आरोप लगाइआएका छन् । 

इजरायली र प्यालेस्टिनी सरकार सक्रिय, प्रत्यक्ष सम्झौताको स्थितिमा नरहेका भए पनि ट्रम्प प्रशासनले इजरायल–प्यालेस्टिनी द्वन्द्व समाप्त गर्नेगरी मध्यस्थताको प्रयास जारी राखेको छ । ट्रम्पका ज्वाइँ एवं राष्ट्रपतिका वरिष्ट सल्लाहकार जारेड कुस्नरको नेतृत्वमा ह्वाइट हाउसका अधिकारीहरुले शान्ति प्रस्ताव तयार गरिरहेको बताइन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै