• २०८१ बैशाख १३ बिहीबार

बाढी र कटानको चपेटामा भुरुङ तातोपानी

kharibot

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो ।

बाढी र कटानको जोखिमका कारण करीब सय घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीका बासिन्दा त्रासमा परेको नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाका सभापति दशरथकुमार कर्माचार्यले बताए  । “बस्तीमाथिको पाखोबाट आउने बाढी र कालीगण्डकीको कटानका कारण जोखिम बढेको हो” कर्माचार्यले भने, “बाढी र कटानको जोखिमका कारण बर्खायाममा राम्रोसँग निदाउनसमेत पाउँदैनौँ ।”

गत वैशाख ३० गते बस्तीमाथिको खोल्साबाट आएको बाढी पस्दा चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति पुर्याएको थियो । कालीगण्डकी किनारमा रहेको सर्वोदय माविको खेलमैदानको आधा भाग नदीले कटान गरेर बगाइसकेको छ ।

भदौ १ गते राति कालीगण्डकीमा आएको बाढीले खेलमैदान परिसरमा रहेको भुरुङ तातोपानी मिट सप्लायर्स र बल्क उद्योग पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । कालीगण्डकीले धार परिवर्तन गरेर प्राकृतिक तातोपानीको मुहानतर्फ सोझिएकाले कटानको जोखिममा परेको छ ।

भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकी क्षेत्रको कार्यालय वरपरका बासिन्दा रातको समयमा अन्यत्र गएर सुत्ने गरेका छन् । वैशाखको बाढीलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिशमा जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले ७५ थान तारजाली उपलब्ध गराएको थियो ।

गाउँपालिकाको रु पाँच लाख र प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाको पहलमा जलउत्पन्नले उपलब्ध गराएको थप रु पाँच लाखबाट ७५ थान जाली भरेर खोल्सामा छेक बाँध र ग्याबियन पर्खाल लगाएको छ ।

थप ग्याबियन पर्खाल लगाउन जाली, बजेट र योजनाको अभाव भएको कर्माचार्यले बताए । उनका अनुसार थप १०० थान तारजाली आवश्यक देखिएको छ । नदी कटान र बाढी नियन्त्रणका लागि गाउँपालिकामार्फत् प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै