किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु

खरीबोट

काठमाडौँ। हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । 

परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् । 

तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् । 

श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो । 

गणेश चौथी 
तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् । 

श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो । 

ऋषिपञ्चमी 
तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् । ऋषि पञ्चमीका विषयमा यस्तो किंवदन्ती पनि प्रचलित छ : 

विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भयो भने छोरी पूर्वजन्मको पापका कारण सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरा परेछ । यस्तो वज्रपात छोरीमाथि किन प¥यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरी रजस्वला भएका बेलामा छुवाछुत बार्दिनथिन् र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्थिन्, तर व्रत नलिए पनि पञ्चमी पूजा भने हेर्थिन् । त्यसै पुण्यले उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । अनि उनी पापमुक्त भएर सुखी जीवन बिताउन थालिन् । 

खुसियाली साट्ने प्रसङ्गबाट सुरु भएको नाचगानमा बिस्तारै महिलाहरूले आफ्नो भावना, सुखदुःख तथा नारीको संवेदनालाई पनि गीतको विषय बनाउँदै लगे । आजभोलि नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयमा समेत गीतहरू गाइन्छन् । मौलिक चिन्तन र सृजनाका आधारमा मौखिक गीत गाउने परम्परा आजकाल ग्रामीण समाजमा बाहेक अन्यत्र घट्दै गएको छ । अचेल मौखिक गीतको सट्टा क्यासेट तथा म्युजिक प्लेयरबाट नै गीत बजाई नाच्ने चलन हावी भएको छ, यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनलाई टाढा पु¥याएको अनुभव हुन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै छ । तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको हामीले महसूस गर्न सक्छौं ।

यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो । 

सम्बन्धित समाचार

संविधानलाई नागरिकको जीवनशैली र पद्धतिका रुपमा स्थापित गर्नुपर्ने : मुख्यमन्त्री पोखरेल

रूपन्देही । प्रदेश न. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनता र राष्ट्रका परिवर्तित आकाङ्क्षालाई पूरा गर्न सकिने बलियो संविधानवादको आधारसमेत तयार भएको बताएका छन् । चौथो संविधान दिवस २०७५ का अवसरमा

दश प्रविधि कम्पनी जसले १० वर्षमा हाम्रो जीवनशैली परिवर्तन गरे

पछिल्ला दश वर्षमा प्रवधिको क्षेत्रमा उल्लेखनीय विकास भयो । यस अवधिमा धेरै प्रविधि कम्पनी स्थापित÷विकसित भए र धेरैले विश्वलाई नयाँ दिशातर्फ मोडे । दश वर्षअगाडि हामीले प्रविधिको क्षेत्रमा तीव्र गतिमा

रिपोर्टिङ र मानसिक आघातका खतरा 

काठमाडौँ। कतिपय घटना यस्ता हुन्छन् जसलाई कभर गर्ने क्रममा रिपोर्टरलाई मानसिक आघात पर्न सक्छ । युद्ध, दुर्घटना, प्राकृतिक प्रकोप, कानूनी मुद्दा आदिको रिपोर्टिङ गर्दा यस्तो समस्या आउन सक्छ ।  पत्रकारहरू देशकै आँखा

जन्मदिनमा केक हैन, बिरुवा रोपौँ !

सुर्खेत। पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ ।  जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो


z