• २०८१ बैशाख ७ शुक्रबार

कसले गर्ने व्रत ? के भन्छन् डाक्टर र संस्कृतिविद्हरु ? 

kharibot

काठमाडौं । तीजको बेला छ, नेपाली हिन्दू नारीहरु नखाई नखाई व्रत बस्ने गर्दछन् । समाजमा पानी पनि नखाई व्रत बस्नुपर्छ भन्ने मान्यता छ । सोही कारण कतिपय महिलाहरु पानी पनि नपिई व्रत बस्दा तीजमा रम्दारम्दै बेहोस हुने, भुइँमा लड्ने, शरीर कमजोर हुने जस्ता समस्याको शिकार हुने गरेका छन् । 

हिन्दू धर्मावलम्बीहरु प्रायशः चाडहरुमा अन्नपात नखाई व्रत बस्ने गर्दछन् । खाली पेट बस्न हुने, नहुने, त्यसरी व्रत बस्दा शरीरलाई कस्तो असर गर्ला भन्ने सन्दर्भमा हामीले संस्कृतिविद् र डाक्टरसम्मको सुझाव लिने प्रयास गरेका छौँ । 

व्रत बस्ने सन्दर्भमा सन्दर्भमा वीर अस्पतालको आकस्मिकतर्फका चिफ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा.केदार कुमार सेन्चुरी भन्छन्, ‘बिरामी तथा अशक्त व्यक्ति व्रत नबसेकै राम्रो हुन्छ ।’ उनका अनुसार सुगरको बिरामी, गर्भवती महिला, किड्नीको समस्या भएका मनिसले स्वास्थ्यको दृष्टिकोणबाट व्रत नबसेको नै राम्रो हुन्छ । शरीरमा पानीको मात्रा कम हुने, लवणको मात्रा कम हुने तथा ग्लुकोजको मात्रा कम हुने हुँदा चक्कर लाग्ने समस्या पनि आउन सक्ने सेञ्चुरीको भनाइ छ । उनी अगाडि भन्छन्, ‘स्वस्थ मानिसले पनि पानी प्रशस्त मात्रामा खाएर व्रत बस्नुपर्छ । पानी नखाई बस्नुहुँदैन ।’

यता पानी नखाई व्रत बस्नुपर्छ भन्ने मान्यता विकसित भएको सन्दर्भमा वाल्मीकि क्याम्पसका प्रा.डा.आमोदवर्धन कौण्डिन्न्यायन पनि व्रत आफ्नो शारीरिक अवस्था हेरेर मात्रै बस्नुपर्ने बताउँछन् । उनका अनुसार व्रत बस्नेको भावना शुद्ध हुनुपर्छ । यति हुँदाहुँदै पनि पानी नखाई नै व्रत बस्नेको पनि विरोध गरिहाल्नुपर्ने आवश्यकता भने नरहेको उनको भनाइ छ । नुन नखाँदा इन्द्रिय शान्त हुने, सात्विक भाव आउने भएकाले खाली पेट व्रत बसेको उनी बताउँछन् । पिरो, अमिलो कडा चिजहरुले उत्तेजना पैदा गर्ने  कौण्डिन्न्यायनको धारणा छ । 

त्यस्तै, वाल्मीकि क्याम्पसकी पुराण र इतिहास विषयकी सहप्रध्यापक प्रियंवदा काफ्ले भन्छिन्, ‘खाएको कुराबाट त्यहीअनुसारको भाव आउँछ, त्यसैले व्रतको बेलामा अघिल्लो दिनदेखि नै शुद्ध चोखो खाएर बस्नुपर्छ । अघिल्लो दिनमा खाएको विकार भोलिपल्टसम्म रहने भएकाले अघिल्लो दिनदेखि शुद्ध हुनुपर्छ ।’ 

तीजमा व्रत बस्ने संकृतिको विकाससँगै  विभिन्न मान्यताहरु जोडिएर आएको पाइन्छ ।  तीज एउटा पौराणिक पर्व हो । यो एउटा पुरानो संस्कार हो । त्यसो त व्रतले माानिसको मानसिक शुद्धि र शारीरिक शुद्धिलाई पनि मद्दत गर्ने उनीहरुको भनाइ छ । खुसी र सुखी जीवनको लागि हिन्दु समाज र सभ्यता अनुसार सुसंस्कृरित भएर अगाडि बढ्न तीज जस्ता चाडपर्व महत्वपूर्ण भुमिका खेलेको हुन्छ । 

वास्तवमा तीज पर्वलाई व्रत बस्नुसँग मात्र लिएर नभई सामाजिक सांस्कृतिक रुपमा भेटघाट गर्ने दुःख, सुखका कुरा गर्ने रमाइलो गर्ने, हाँस खेल गर्नेजस्ता विभिन्न पक्षलाई हेर्दा बहुआयामिक देखिन्छ । 
व्रत बस्दा फाइदा बेफाइदाहरु दुवै हुन्छन् । धार्मिक हिसावले मात्र नभई सामाजिक साँस्कृतिकसँगै स्वास्थ्यको  हिसाबले पनि कतिपय सन्दर्भमा यसलाई राम्रो मानिन्छ । सधै खाना खाँदै गर्दा बेलाबेला पाचन यन्त्रलाई पनि आरामको आश्यकता हुन्छ । यो हिसाबले पनि व्रत स्वास्थ्यको लागि लाभदायक देखिन्छ ।

सामान्यतया हप्तामा १ पटक बस्नु लाभदायक मानिने स्वास्थ्यकर्मीहरु बताउँछन् । 

विशेष गरी व्रतको बेलामा खाने खानाको उचित चयनमा ध्यान दिनुपर्दछ । तीजको व्रत बस्दै हुनुहुन्छ भने यी ध्यान लिनु पर्ने कुराहरुलाई मनन गर्न आवश्यक छ :

बिहान दूध तथा फलफूल खान सकिन्छ । दिनमा आफ्नो स्वास्थ्य अवस्था हेरी आलुको परिकार रोटी तथा पुरीको परिकार पनि सेवन गर्न सकिन्छ । व्रतको दिनमा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

व्रतको दिनमा हामीले खाना नखाएको हुँदा कमजोर महसुस हुन सक्छ त्यसैले पनि आराम गर्न आवश्यक हुन्छ । कागती र महसहित पानीको सेवन गर्ने किनकि महबाट प्रशस्त मात्रामा क्यालोरी प्राप्त गर्न सकिन्छ । मौसमी फलफूल तथा जुसको सेवन गर्नुपर्छ । 

त्यस्तै हामीलाई विभिन्न किसिमका रोग तथा समस्याहरु छन् स्वास्थ्यको हिसाबले व्रत नबस्नु राम्रो हुन्छ । जस्तो रक्तअल्पताको समस्या भएकाहरुले, भर्खर अपरेसन गरेका बिरामीहरुले, मुटु, फोक्सो, कलेजोसम्बन्धी रोग तथा मधुमेह र उच्च रक्तचापलगायतका समस्या भएका व्यक्तिहरुले व्रत नबस्नु नै उपयुक्त हुन्छ । साथै गर्भवती महिलाको लागि पनि व्रत वस्नु स्वास्थ्यको हिसाबले राम्रो मानिँदैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै