• २०८१ बैशाख ८ शनिबार

कास्कीको मल्लकालीन कोटभैरव मन्दिर नयाँ स्वरुपमा बन्दै

kharibot

कास्की । जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ ।

मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पुर्याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी नयाँ स्वरुपमा बनाउने सोच अघि बढेको थियो । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीको तीनतले मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।

उनका अनुसार मन्दिरका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उनले इच्छुक महानुभावको सहयोगबाट मन्दिरलाई नयाँ स्वरुप दिइने जानकारी दिए । महानगरपालिका–३३ मा धार्मिक पर्यटकीय तीर्थस्थल मध्येको महत्वपूर्ण गन्तव्य कोटभैरव भएको पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले बताए ।

मन्दिर संरक्षण समितिले छरिएरका गुठी जग्गाको खोजी, संरक्षणका साथै शक्ति स्वरुप पुजिँदै आइएका ऐतिहासिक हातहतियारलगायतका सामानको खोजी शुरु गरेको छ । बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका आँखाले एकसाथ देख्न सकिन्छ ।

हरेक वर्षको आश्विन शुक्ल पक्ष बडा दशैँ र चैत्र शुक्ल पक्ष चैते दशैँका अवसरमा विशेष पूजाआजा हुने यस मन्दिरबाट साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने प्रचलन छ । मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् । उक्त क्षेत्रमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ ।

पोखराको पृथ्वीचोकबाट विजयपुर, पावरहाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायात बस व्यवसायी समितिले पनि नियमित बस सेवा सञ्चालन गरेको छ । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ ।

बाटोको सुगमतासाथै ऐतिहासिक महत्वको कोटभैरव मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपासका क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै