• २०८१ बैशाख ८ शनिबार

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक स्वीकृत

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५’ र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५ स्वीकृत गरेको हो । ती विधेयक क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गरेका थिए ।

ती विधेयकको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल, सञ्जय गौतम, गगनकुमार थापा, भरतकुमार साहले भाग लिएका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापाले सांसदले उठाएको जिज्ञासामा स्थानीय निकायका कामलाई थप जिम्मेवार बनाउने र अपाङ्गता भएका नागरिकलाई थप अधिकार सम्पन्न बनाउने लक्ष्यसाथ उक्त विधेयक ल्याइएको बताए ।

वन तथा वातावरणमन्त्री बस्नेतले वातावरण संरक्षणका लागि सरकारले चाल्नुपर्ने सबै कदमलाई प्रभावकारी रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरे । वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले नागरिकको मौलिक अधिकारलाई संरक्षण गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने व्यवस्थालाई सम्बोधन गर्न लागिएको बताए । उनले विश्वव्यापी रुपमा बढ्दै गएको तापक्रमको वृद्धिका कारण समस्या सिर्जना भएको भन्दै त्यसलाई न्यूनीकरणका लागि विश्वव्यापी रुपमा नै साझा सहकार्य जरुरी रहेको उल्लेख गरे ।

सांसद गगन थापा, सञ्जय गौतम, प्रेम सुवाललगायतले वातावरण संरक्षणमा सरकारले ध्यान दिन नसकेको र प्रस्तुत विधेयकले समस्याको समाधान गर्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यसअघि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० को उपनियम १ बमोजिम नियम निलम्बनको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । सांसद खगराज अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सांसद लक्ष्मणलाल कर्णले समर्थन गरे ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै