• २०८१ बैशाख ५ बुधबार

चौध देशका कम्युनिष्ट नेपालमा, प्रचण्डले भने कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छ

kharibot

भक्तपुर। भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । 

विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व कम्युनिष्टको उदय, सङ्घर्ष र वर्तमान अवस्थाका बारेमा प्रशिक्षणमार्फत जानकारी लिएका हुन् । विश्वमा कम्युनिष्ट कमजोर हँुदै गएका बेला नेपालमा भने कम्युनिष्ट किन र कसरी माथि आउँदैछ भन्ने अध्ययन गर्न २१ दिनको प्रशिक्षणले टेवा पुर्याएको सहभागीले बताएका छन् । 

प्रशिक्षणमा सहभागी अल इण्डिया युथ लाइभका राष्ट्रिय सदस्य धर्मेन्द्र कुमारले २१ दिनको बसाइँले माक्र्स र लेलिनका बारेमा सिक्न पाएको बताउँदै विश्वका सबै देशको कम्युनिष्ट पार्टीका बारेमा अनुसन्धान गर्न मद्दत पुगेको बताए । 

भारतका कम्युनिष्ट मन्दिर, मस्जिद जान मन नपराउने गरेको जानकारी दिँदै उनले नेपालमा त्यो अवस्था नरहेको बताए । नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको उदयका बारेमा जानकारी लिन पाएको उनको भनाइ छ । 

विश्वको कम्युनिष्टबारे जानकारी दिन आयोजित प्रशिक्षणमा सहभागी पाकिस्तानका पाकिस्तान वर्कस् पार्टीकी युवा नेत्री पस्मिना साहिलले आफ्नो देशमा कम्युनिष्टबारे प्रशिक्षण नै नदिइ पार्टीमा लाग्नुपर्ने बाध्यता रहेको अवस्थामा नेपालको प्रशिक्षणले कम्युनिष्ट पार्टीबारे बुझ्ने मौका पाएको बताईन । पाकिस्तानमा निकै चुनौती रहेको बताउँदै उनले नेपालमा जस्तो कम्युनिष्टलाई पाकिस्तानमा खुला नरहेको बताइन् । 

पाकिस्तानकै वर्कस् पार्टीका निशार लिक्बालले आफू २५ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेर यसको भविश्य के भनेर निराश भएको अवस्थामा यहाँको प्रशिक्षणले निकै ऊर्जा थपेको बताईन । बङ्गलादेशबाट प्रशिक्षणमा सहभागी भएका साक्हबाट हुसैनले समाजवाद र क्रान्तिकाबारेमा विभिन्न देशको अनुभवबाट धेरै कुरा सिक्ने मौका पाएको बताए । 

कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट पार्टी यहाँको सङ्घर्ष र सत्तासम्मको आरोहका बारेमा जानकारी लिने मौका पाएको उनको भनाइ छ । बङ्गलादेशमा कम्युनिष्टलाई कतिपयले एजेन्टका रुपमा लिने गरेको बताए । 

प्रशिक्षणबारे पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता एवं स्कूलका संरक्षक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका बारेमा विभिन्न देशका नागरिकलाई जानकारी दिने मौका पाएको बताउँदै यो स्कूललाई कम्युनिष्ट स्कूलका रुपमा स्थापित गरेर लैजाने बताए । यसले विभिन्न देशका नागरिकलाई कम्युनिष्ट व्यवस्थाबारे जानकारी दिन, विभिन्न देशका कला, संस्कृति र रहनसहनका बारेमा आदानप्रदान गर्नसमेत टेवा पुगेको छ । 

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, ताञ्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको प्रशिक्षणमा सहभागीले विश्वमा कम्युनिष्ट आन्दोलनको शुरुआत, माक्र्स, लेलिनदेखि हालसम्मको अवस्थाका बारेमा जानकारी लिन पाएको प्रतिक्रिया दिइएको छ । 

प्रशिक्षण व्यवस्थापन समितिको संयोजक बलराम बाँस्कोटाले प्रशिक्षणमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, जनआन्दोलन, माक्र्सवाद, लेलिनवाद, माक्र्सवाद दर्शन, कम्युनिष्ट सङ्गठनात्मक व्यवस्था, कम्युनिष्ट आन्दोलनको नेतृत्व लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइएको जानकारी दिए । 

प्रशिक्षण अवधिभर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुसाल, भारतका परवीरपुर कायस्थ, बङगलादेशका शुसान्त्व दास, अमेरिकाका क्रिसो क्रुसोलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिएको कार्यक्रम आजदेखि समापन भएको छ । अर्को प्रशिक्षण कक्षा आगामी जनवरीदेखि मार्चसम्ममा सञ्चालन हुने बताइएको छ । 

कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताएका छन् । 

नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको २१ दिने विश्वको कम्युनिस्ट इतिहास र वर्तमान विषयको प्रशिक्षण कार्यक्रमको आज समापन कार्यक्रममा उनले देशको रुपान्तरण गर्न सरकार प्रतिवद्ध  रहेको बताए। 

विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको दशवर्षे युद्ध, शान्ति पुनः स्थापना, पार्टी एकीकरण र दुई तिहाइको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उनको भनाइ थियो । नेपालको कम्युनिस्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उनले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाइ राखे । 

उनले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवं राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गरिने बताए । 

यही भदौ ९ गतेदेखि शुरु भएको मदन भण्डारी एशियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याचको अध्ययन आजदेखि पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष दाहालले शैक्षिक प्रमाणपत्रसमेत प्रदान गरे । अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै