• २०८१ बैशाख ८ शनिबार

साइकल चढेर नेपालको फन्को मार्दै ओम प्रकाश 

kharibot

काठमाडौं । हरेक मान्छेका आफ्नै इच्छा हुन्छ । त्यही इच्छा पूरा गर्न मानिसले के गर्दैन ? जे पनि गर्न तयार हुन्छ। धेरैले पैसा कमाउँँदा सुख र सन्तुष्टि मिल्ने ठान्छन् तर जीवनमा पैसा नै सबैथोक भने हैन रहेछ । 

२०४८ सालमा सुनसरीको वराह क्षेत्र नगरपालिका ५ मा आमा खेमकुमारी र बाबु नेत्र बानियाँको कान्छो सन्तानको रुपमा जन्मिएका हुन् ओमप्रकाश बानियाँ । चार दिदीका उनी एक मात्र भाइ हुन् ।
घरमा आर्थिक अभाव भए पनि माया र ममता प्रशस्त पाएका थिए बानियाँले । तर मायाले मात्र पुग्ने भएको भए मदन मुनालाई छोडेर ह्लासा जाने थिएनन् । 

हो, त्यही कुरा लागू हुन्छ नेपाल भ्रमणमा निस्किएका ओम प्रकाश बानियाँको जीवनमा  ।  सामान्य किसान परिवारमा जन्मेहुर्केका बानियाँ घरको आर्थिक अवस्था कमजोर भएकै कारण साढे ३ वर्ष कतार बसे । कतार गएपछि ऋण तिरे र घर समेत बनाए । तर उनलाई पैसाले मात्र कहाँ सन्तुष्टि दियो र ! नेपाल फर्के । साइकलमा ७ प्रदेश घुम्ने इच्छा जाग्यो  । 

विश्व साइकल यात्री पुस्कर शाहबाट प्रेरित बानियाँ अहिले आफ्नो जागेको इच्छा पूरा गर्न र नेपालको पर्यटन प्रवद्र्धन तथा नेपालमा शान्ति, समृद्धि र स्थायित्व कायम होस् भन्ने चाहनासहित साइकल यात्रामा होमिएका छन् । 

खरीबोटसँग बानियाँले आफ्नो साइकल यात्राको उद्देश्य पर्यटन प्रवद्र्धन गर्ने भएको बताए । उनका अनुसार यस्तो यात्राले नेपालका ७७ वटै जिल्लामा साइकलमा यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन सकिन्छ । 

चैत ३ गतेबाट यात्रा तय गरेका बानियाँले ६३ वटा जिल्लालाई फन्को मारिसकेका छन्  ।

कतारबाट महिनैपिच्छे पैसा पठाउने छोरो उल्टै ऋण काढेर साइकलयात्रामा निस्किने कुराले उनको परिवार सहमत भएनन् । घरमा बाबु आमादेखि श्रीमतीसम्मले यात्रामा ननिस्किन आग्रह गरे । तर उनको इच्छाको अगाडि परिवारको आग्रह केही लागेन । पछि सञ्चारमाध्यममा आएका समाचारले परिवारको मन फेरियो । ‘छोराले राम्रै काम गरेछ भन्ने लागेछ क्या रे आमाले प्राय कल गरेर सोध्नुहुन्छ छोरा अहिले कुन ठाउँमा छस् ?’, उनले भने  ।  

 प्रेरणा

सातवटै प्रदेश वा साइकलबाटै नेपाल फन्को मार्न हिँडेका बानियाँ विश्वसाइकलयात्री पुस्कर शाहबाट प्रेरित भएर यात्रामा निस्केको उनको भनाइ छ । 

भौगोलिक हिसाबले विकट भएका नेपालका विभिन्न जिल्लाहरु फन्को लगाइसकेका बानियाँ यतिबेला काठमाडौँ आइपुगेका छन्  । धेरै ठाउँमा बाटो समेत पुग्न नसकेका ठाउँ, औषधि उपचारको लागि दिनहुँ धाउनुपर्ने ती अवस्था बुझ्न साइकल यात्राले अवसर दिएको उनले बताए । 

‘डोल्पा र हुम्लामा अहिलेसम्म बाटो पुगेको रहेनछ, त्यसैले मलाई लाग्छ ती ठाउँमा सरकार पुगेको छैन’, उनले भने  ।

हरेक जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा त्यहाँको धार्मिक तथा पर्यटकीय स्थल झल्किने पहिरनमा जाने उनको जुन सुरुवात छ, त्यसले पर्यटन प्रवद्र्धनमा केही सहयोग पुग्ला । नेपालमात्र नभएर आफ्नै ठाउँको नगरपालिकाको विकासको लागि समेत पर्यटन प्रवद्र्धनमा जुट्ने उनले बताए । धार्मिक क्षेत्र वराह क्षेत्र, चतरा धाम, कोशीटप्पु वन्यजन्तु आरक्ष, सगरमाथा, अन्नपूर्ण र नेपालको सबैभन्दा होचो भूभाग केचनाकल, पाथीभरा माता समेत १ प्रदेशमा पर्ने भएकाले आफ्नो प्रदेशको चिनारीको लागि समेत लाग्ने उनको भनाइ छ । 

योजना 

साइकलयात्री ओम प्रकाश बानियाँको अब १४ वटा जिल्ला भ्रमण गर्न बाँकी छ । भ्रमणपश्चात् उनी सार्क राष्ट्रको भ्रमण गर्ने योजनामा छन् । ‘नेपालको भ्रमण सकेपश्चात् म सार्क राष्ट्रको भ्रमणमा निस्किन्छु, सम्भवतः मंसिरबाट यात्रा सुरु गर्छु होला’, उनले भने  ।  सार्क राष्ट्रको भ्रमणको लागि साइकल समेत व्यवस्था भइसकेको उनले बताए । ती देश जाँदा पनि उनले पर्यटन विकासलाई नै भ्रमणको लक्ष्य बनाउने बताए । 

कर्णालीको ढुङ्गा, मुगुबाट ल्याएको यार्सागुम्बालगायतका धेरै चिज संकलन गरेको र ती सबैलाई एकै ठाउँमा भेला पारेर नेपाल घुमेको साइकललाई समेत फ्रेम गरेर राख्ने उनको योजना छ  ।

यात्राको क्रममा पाँच महिनाको अवधिमा बानियाँले साइकलको एउटा ट्युब र टायर फेरेका छन्  । साइकललाई आवश्यक सामानहरु आफैँले बोकेर हिँड्ने भएकाले सहज भएको छ भने जुत्ताचाहिँ उनले हाल पाँचौँ जोर लगाउँदै छन् । त्यस्तै चप्पल भने सुरुकै एक जोरले काम दिइरहेको उनले बताए ।

यात्राको तय गर्ने क्रममा ३ लाख ७५ हजार छुट्याएका उनले विभिन्न व्यक्ति, संघ÷संस्था, गाउँपालिका तथा नगरपालिकाबाट सहयोग भएको कारण आफ्नो व्यक्तिगत रुपैयाँ खर्च नभएको बताए । एक लाख तीन हजार रुपैयाँ सहयोग पाएको उनको भनाइ छ । त्यो पैसा सामाजिक काममा लागाउने उद्देश्यस्वरुप वराह क्षेत्र नगरपालिकाको अनाथ बालआश्रमलाई सहयोग गर्ने उनले बताए  । त्यस्तै साइकललाई प्रोत्साहनस्वरुप वराह क्षेत्र नगरपालिकाले छुट्याएको नगद ५ लाख रुपैयाँ समेत गरेर बालआश्रममा दिने उनको सोच छ  । 

यात्रा तय गर्दाको क्रममा धेरैले धेरै नराम्रो सोचेको बताउँदै बानियाँले आफूमा कुनै स्वार्थ नभएको बताए  । नेपालका सबै जिल्लाका धार्मिक तथा पर्यटकीय स्थानका चिनारी देखाउने फोटाहरुको साथमा उनी हिँडेका छन् ।

साइकलले प्रख्यात बनेर गुमनाम भएकाहरुमाझ आफू नेपालमा नै बस्ने सोच उनको छ । साइकलको महत्वबारे प्रस्ट्याउँदै उनले चढ्न सहज, स्वस्थ रहन सहयोग पुग्ने, साइकलिङ सिटी भए मानिसमा फुर्ती ल्याउन समेत साइकलले सहयोग पुग्ने उनको भनाइ छ  ।

साइकल यात्राको क्रममा धनकुटामा झमक घिमिरेसँगको भेटलाई उनी आफ्नो जिन्दगीको सबैभन्दा खुसीको क्षण सम्झिने बताए । गणतन्त्र नेपालको पहिलो साइकल यात्री भनेर चिनिनु उनको जीवनको खुसीको क्षण हो । यात्राको क्रममा प्रतीक्षालय र कहिले तीनतारे होटलमा बस्दाको समय उनी बिर्सिन सक्दैनन् । तर मुगु सदरमुकाममा जाँदा भने उनले दुःख पाए । कतिसम्म भने उनले रुँदै रुँदै साइकल बोकेर हिँड्नुपर्यो । 

यात्राको क्रममा उनले प्रायः जिल्लाका सदरमुकाम सम्म पुगेर भ्रमणको सर्टिफिकेट बनाउने र मुख्यमुख्य धार्मिक स्थल र ३ देखि ५ वटा गाउँसम्म उनी पुग्ने गरेका छन्, जुन उनको भ्रमणका आधार र प्रमाणहरु हुन्  । 

इच्छा, आकांक्षा र चाहनाको अगाडि पैसा केही हैन भन्ने प्रमाण पेस गर्न सफल भएका साइकलयात्री बानियाँ युवा वर्गलाई पैसा नै ठूलो कुरा नभएको बताउँछन् । इच्छाशक्ति भए पुस्कर शाहले जस्तै एक रुपैयाँमा संसारलाई फन्को मार्न सकिने उनको भनाइ छ ।

युवाले केही नसके पनि कम्तीमा हप्तामा २ घण्टा नै किन नहोस् सरसफाइ गरेरै भए पनि देशको मुहार फेर्न सकिने भएकाले यस्ता काम सुरु गर्न युवालाई उनको आग्रह छ । संघ/संस्थासँग आबद्ध भएर सामाजिक काममा लाग्ने हो र युवाजमात एकजुट हुने हो भने देश समृृद्ध बन्ने उनको अनुमान छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै