काठमाडौँ। साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज सात पटकको च्याम्पियन भारत र माल्दिभ्स एक आपसमा भिड्दै छन् ।
बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार साँझ नेपाली समयअनुसार पौने ७ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।
सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गरेको थियो भने भारतले चीरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ३–१ गोलले हराउँदै फाइनलमा ठाउ सुरक्षीत गरेको थियो ।
यी दुई टोली समूह चरणमा पनि आमने सामने भएका थिए । समूह बी अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
भारत साफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि भएकाले उसलाई उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ भने माल्दिभ्सले नेपालसँगको खेलमा प्रदर्शन गर्दै भारतलाई कडा टक्कर दिने दाउमा रहेको देखिएको छ ।
साफको इतिहास :
सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२औँ संस्करण हुन्छ ।
बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलङ्काले एक-एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भुटान र पाकिस्तानले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो । श्रीलङ्काले १९९५, बंगलादेशले २००३, माल्द्विभ्सले २००८ र अफगानिस्तानले २०१३ मा उपाधि जितेका थिए ।
दुईपटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडौँमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५, २०११ र यस साफमा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।