काठमाडौँ। इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोले चौथो खेलमा गोल गरेका छन्। यसै सिजन रियल म्याड्रिड छोडेर युभेन्टस गएका रोनाल्डोले आइतबार भएको खेलमा सासुओलोविरुद्ध २ गोल गरेर सिरी ए मा युभेन्टसका लागि गोलको खाता खोलेका छन् ।
युभेन्टसले सिरी ए मा लगातार चौथो खेलमा जित हासिल गरेको छ। युभेन्टसले सासुओलोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। रोनाल्डोले सिरी ए मा २८औ पटकको प्रहार पछि गोल गर्न सफल भएका छन्।
युभेन्टसका लागि खेलको ६५औ मिनेटमा दोस्रो गोल गरेका थिए। सासुओलोले खेलको अन्तिम मिनेटमा गोल फर्काए पनि सो जितका लागि पर्याप्त भएन। सासुओलोको लागि खोउमा बाबाकारले ९१औ मिनेटमा गोल गरेका थिए । युभेन्टसका डगलस कोष्टाले सासुओलोक खेलाडीलाई मुखमा थुकेको कारण रेफ्रीले रातो कार्ड दिएका थिए। युभेन्टसका लागि रोनाल्डोले ४ खेलमा २ गोल गरेका छन् भने एक गोल असिस्ट गरेका छन्।
युभेन्टस भने ४ खेलमा सबै खेल जितेर १२ अंक बटुल्दै लिगमा शिर्षस्थानमा रहेको छ। त्यस्तै सासुओलोको भने ४ खेलमा ७ अंक रहेको छ ।