• २०८१ बैशाख १२ बुधबार

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले अब गति लिने 

kharibot

बारा । महत्वाकांक्षी राष्ट्रिय परियोजनाको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिने भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र पारिने भएको हो । 

सरकारले बाराको जीतपुरसिमरामा पर्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई तीव गतिमा अगाडि बढाउन पहिलो चरणमा चार किल्लालाई तारबार लगाउने कामका साथै पसाहा खोलामा तटबन्ध लगाउने काम भइरहेको आयोजना कार्यालय सिमराले जानकारी दिएको छ । 

प्रारम्भिक चरणमा पूर्वाधार प्रस्तावित विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने साविक करैया गाविस वडा नं.८ र ककडी वडा नं.१ मा नम्बरी आवादी जग्गाको मुअब्जा वितरणको काम जारी रहेको छ । जसअन्तर्गत ककडीको १० बिघा र काँटगाउँको ४६ बिघा गरी यस क्षेत्रमा रहेका एक सय १० बिघा जग्गामध्ये ५६ बिघाको मुआब्जा वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय सिमराका प्रमुख इ.ओम शर्माले जानकारी दिए । 

उनले विमानस्थालमा निर्माणको क्रममा टाँगिया बस्ती ठूलो समस्याको रुपमा देखा परेको बताउँदै यस बस्तीलाई पनि स्थानान्तरण गर्न राज्यले केही सहयोग गर्ने योजना बनाउनलागेको बताए । टाँगिया बस्तीमा हाल एक हजार चार सय ७६ घरधूरी सुकुम्बासी परिवार बस्दै आएका छन् । 

यता समितिले निर्धारण गरेको मुअब्जाप्रति असन्तुष्टि राख्दै ककडी र काटँगाउँका एक सय दश बिघामध्ये ५६ बिघाका एक सय ४१ जनाको गरी ५६ बिघाका धनीले मात्र मुआब्जाका लागि कार्यालयमा आएको जनाइएको छ । 

सरकारले प्रतिकठ्ठा दुई लाख ४० हजारदेखि चार लाख ६० हजार रुपैयाँ मुआब्जा दिने गरी दर निर्धारण गरेको छ । राज्यले चलनचल्तीको हिसाबले मुआब्जा निर्धारण नगरेकोले आफूहरुलाई समस्या हुने गरेको स्थानिय रमानन्द मण्डलको गुनासो छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा पर्ने रुख कटानको लागि पनि सम्बन्धित मन्त्रालयगत काम अगाडि बढेको आयोजनााका प्रमुख शर्माले बताए । रुख कटानको आदेश आएलगत्तै नेपाली सेनाको सहयोगमा काम अगाडि बढ्ने बताए । हाल भएको इ.आई.एको रिपोर्टअनुसार निर्माण क्षेत्रभित्र रहेको दश किलोमिटर लामो र आठ किलोमिटर चौडाइ भएको भागको रुख कटान गरिने प्रमुख शर्माको भनाइ छ । 

निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको ०६४ माघको सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४–६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै