• २०८१ बैशाख १३ बिहीबार

लर्को लागेर विदेश भ्रमणमा नेता तथा मन्त्रीहरु, कति आवश्यक हो विदेश भ्रमण ?   

kharibot

काठमाडौं । दशैँ आउन अझै महिना दिनजस्तै बाँकी छ सर्वसाधारणलाई तर नेताहरुमा भने दशैँले प्रवेश गरिसकेजस्तो देखिनथालेको छ । वास्तवमा चाडपर्व उल्लासले मनाइन्छ । विदेशिएकाहरु स्वदेश फर्किन्छन्, सहर पसेकाहरु गाउँ । तर सर्वसाधारणहरुलाई भन्दा अहिले नेताहरुलाई दशैँले छोइसकेको संकेत देखिएको छ । 

यतिखेर सत्तारुढ दलका माथिल्लो स्तरका नेताहरुलाई विदेश भ्रमणमा भ्याइनभ्याइ छ । हुन त नेपालका नेता र कर्मचारीलाई विदेश मोह हुनु कुनै नयाँ कुरा होइन तर अहिले भने अधिकांश नेताहरु लर्को लागेर विदेश यात्रा गरिरहेका छन्। 

प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले भारत र चीनको भ्रमण गरिसक्दा नसक्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही अघिमात्र भारत भ्रमणमा गई फर्किएका थिए । भारतबाट आएको केही दिनमै उनी पुनः चीनतिर  पुगिसकेका छन् । खासगरी पार्टीको भन्दा पनि देशकै हितको कुरा गर्न आफू विदेश भ्रमणमा निस्किएको उनको भनाइ थियो । अहिले पनि प्रचण्ड चीनमै छन् भने नेकपाकाप प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश पनि चीनमै छन् । प्रचण्ड चीन जानुअघि नै सभामुख एवं नेकपाका नेता कृष्णबहादुर महरा चीन पुगेर फिर्ता भइसकेका छन् । 

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल यसअघि नै अमेरिका, उत्तर कोरियालगायतका देश पुगेका थिए भने रक्षामन्त्री ईश्वर पोखरेल लेबनान पुगेका थिए । अरु बेला कर्मचारी र नेतालाई विदेश जान रोक्नुपर्छ भन्ने मान्यता राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफैँ १७औँ वेष्टर्न चाइना इन्टरनेशनल फेयरमा भाग लिन चीनमा छन् । यसअघि कति गाउँ तथा नगरका प्रमुख-उपप्रमुखले विदेश जाने अनुमति माग्दा उनले रोकेका थिए । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा दक्षिण कोरियामा आयोजित एसिया प्यासिफिक क्षेत्रका मन्त्रीस्तरीय बैठकमा भाग लिई आइतबार मात्रै स्वदेश फर्किएका छन् । उनी केहि साता अघि मात्र इथोपिया पुगेर फर्किएका थिए। त्यस्तै उर्जामन्त्री वर्षामान पुन हालै बंगलादेश पुगेर फर्किएका छन्।   

नेकपाका नेताहरु चीन जानु नौलो कुरा नभए पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणलगत्तै भने सत्तारुढ दलका नेताहरुको चीन जाने लर्को नै लागेको छ । यही ३ गते उपराष्ट्रपति नन्दबहादुर पुन समेत चीन जाँदै छन् । उनले ४ गतेदेखि सिचुवान प्रान्तको छेन्दुमा सुरु हुने अन्तर्राष्ट्रिय मेलामा सहभागी हुने गरी औपचारिक भ्रमण गर्नलागेका हुन् । 

अरु त अरु ठूला नेताको सिको गर्दै प्रदेशका मुख्यमन्त्रीहरु पनि विदेश भ्रमणमा निस्किन थालेका छन् । अमेरिका जान लागेका प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतलाई केन्द्र सरकारले जान नदिए पनि अहिले गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ र महेन्द्र बहादुर शाही चीन जाने तयारी गरिरहेका छन् । 

त्यसो त विदेश मोह कसलाई नहोला ! सत्तारुढ दलबाट त बग्रेल्ती गएकै छन्, अन्य दलका नेतामा पनि विदेश मोह उत्तिकै रहिआएको छ । यतिखेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि युरोप भ्रमणमा छन् । उनी लक्जेम्बर्ग, बेल्जियम, फ्रान्स, स्पेन, स्विट्जरल्याण्ड, जर्मनी, नेदरल्याण्ड र पोर्चुगलमा रहेका कार्यकर्ता भेट्न उनी युरोप गएका हुन् । त्यस्तै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि लामो समयका लागि पश्चिमा देशको भ्रमणमा छन् । उनी अहिले युरोप भ्रमण सकेर भदौ २८ देखि अमेरिका पुगेका छन् । अमेरिकामा गएका उनलाई केही युवाहरुले त कालोझण्डा र चर्को विरोध सामुन्ने उपस्थित भएर गरेका समाचारहरु आइरहेका छन् । 

किन जान्छन् नेता विदेश ? 

नेपालका हरेक तहमा घुसेको राजनीतिको प्रभावले नै होला, विदेश काम गर्न गएका नेपालीहरु पनि कुनै न कुनै राजनीतिक दलसँग आस्थावान् साइनोमै रहन्छन् । यसर्थ लामो समयदेखि नेपाल आउन नपाए पनि राजनीतिक विचारधारा बोक्ने नेपालीहरु विदेशमै नेताहरुलाई बोलाउँछन् र घुमाउँछन् । अधिकांश नेताहरु तिनै काम गर्ने नेपालीकै स्पोन्सरमा भ्रमणमा जाने गर्छन् । नत्र एकपटक विदेश जाँदा व्यक्तिगत खर्चमा नेताहरु महिना, पन्ध्र दिन बसेर घुमघाम मात्रै गर्नलाई चर्को बजेट चाहिन्छ नै, यो व्यक्तिगत प्रयासमा सम्भव हुने कुरा होइन । विदेशी नेपालीलाई नेता÷कलाकार बोलाएर भाषण सुन्ने र कलाकारिता चाख्ने रहर हुने हुँदा उनीहरु नेता-कलाकारलाई विदेश बोलाउँछन् भने कतिपय नेताहरु विदेशका कार्यकर्ताहरुसँग सेटिङ मिलाएर समेत विदेशिन पछि पर्दैनन् । ठूला नेताहरुलाई त विदेश भ्रमण भ्याइनभ्याइजस्तै हुन्छ ।

के होला प्रधानमन्त्रीको मितव्ययिताको मिसन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मितव्ययी रुपमा सरकार चलाउने प्रतिबद्धता व्यक्त गरिरहेका बेला सतारुध दलका नेताहरु र मन्त्रीहरुको विदेश भ्रमणले प्रधानमन्त्रीको मितव्ययिताको मिसन असफल हुने स्नाकेट देखिएको छ।  कर्मचारीहरुको विदेश भ्रमण बढी भयो भनेर कर्मचारीको विदश भ्रमणमा कडाइ गरेको सरकारले आफ्ना नेता र मन्त्रीहरुको विदेश भ्रमणको औचित्य कसरी साबित गर्ला ? यो विषय अहिले पेचिलो बन्दै गएको छ । यंहा विदेश भ्रमण गर्ने हुदैन भन्न खोजिएको होइन तर एकै पटक आधा दर्जन नेता तथा मन्त्री विदेशमा रहदा त्यसले पक्कै राम्रो संदेश दिदैन। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै