• २०८१ बैशाख ४ मंगलबार

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चार जनाको उम्मेदवारी

kharibot

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्वका लागि चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । 

महासङ्घको २०औँ साधारणसभा भदौ ४ गते बिहीबार राजधानीमा शुरु हुँदैछ । साधारणसभामा महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रामशरण देउजा, पूर्वअध्यक्ष यक्षध्वज कार्की, व्यवसायी हुमनाथ कोइरालालगायतले उम्मेदवारी घोषणा गरेका छन् । 

महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सर्वसम्मतरुपमा नेतृत्व चयनका लागि प्रयास जारी रहेको जानकारी दिइयो । निर्विरोध भावी नेतृत्व चयनका लागि महासङ्घका पूर्वअध्यक्ष जीपछिरिङ लामाको संयोजकत्वमा कार्यदल गठन गरिएको जनाइएको छ । 

कार्यदलमा पूर्वअध्यक्ष रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, पूर्वअध्यक्ष जयराम लामिछाने र अध्यक्ष श्रेष्ठ सदस्य रहेका छन् । सभाले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात प्रदेश उपाध्यक्ष, एशोसिएट उपाध्यक्ष, महासचिवसहित पदाधिकारी र सदस्य गरी ५४ पदका लागि निर्वाचन हुनेछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठ, महासचिव देउजा, पूर्वअध्यक्ष कार्की, पूर्वअध्यक्ष शर्मा, पूर्वअध्यक्ष लामिछानेलगायतले सर्वसम्मत नेतृत्व चयन हुने वातावरण बनाउन त्याग गर्नु परे पनि तयार रहेको सुनाए । 

महासङ्घको सात प्रदेश, ७७ जिल्ला, २५२ एशोसिएट र दुई वस्तुगत सङ्घका गरी १२ हजार ५०० सदस्य रहेका छन् । निर्माण व्यवसायमा हाल वार्षिक रु दुई खर्बको लगानी रहेको छ । विकासको बजेटको ६० प्रतिशत निर्माण व्यवसायीमार्फत नै खर्च हुँदै आएको छ । निर्माण व्यवसायले १५ लाखलाई रोजगारी दिएको महासङ्घको दाबी छ । 

साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै