• २०८१ बैशाख ६ बिहीबार

चुक्दै छ प्रहरी, खस्किँदै छ साख !

kharibot

काठमाडौं । विवादै विवादको घेरामा फसेको नेपाल प्रहरी फेरि अर्को काण्डमा मुछिएको छ, ‘सौरभको हत्या अथवा आत्महत्या’ । प्रहरीले पोस्टमार्टमबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सौरभ उप्रेतीले आत्महत्या गरेको प्रमाणित भएको बताएको छ । 

यता, सौरभका परिवारले भने यो आत्महत्या नभई हत्या हो भनी जिकिर गर्दै छन् । ‘करीब छ फिट अग्लो मान्छे साढे दुई फिटको टेबुलमा झुण्डिएर आफ्नै घाँटी थिचेर नाककानबाट रगत चुहाउँदै कसरी आत्महत्या गर्न सक्छ ?’ परिवारका एक सदस्यको प्रश्न हो यो । त्यस्तै, प्रहरीले प्रमाणहरू नष्ट गरी अपराधीलाई उम्काउन खोजेको भनी आन्दोलनको घोषणासमेत भइसकेको अवस्था छ । 

यो घटना त्यति बेलाको हो जति बेला नेपाल प्रहरीले अन्यायमा परेका आम जनताका लागि न्याय दिलाउनुको सट्टा आफ्नो स्वार्थ पूरा गर्न अपराधीको सहयोग गरिरहेको र आफै अपराधी बनिरहेको भनी चर्को विरोध भइरहेको छ । 

यता निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने अपराधीको २ महिनासम्म पनि पत्ता लगाउन नसकेको र प्रहरीले नै अपराधीलाई लुकाउन सबुतप्रमाण मेटाएको भनी आरोप खेपिरहेको छ । त्यस्तै, अपराधीको खोजीका लागि दबाब स्वरूप गरिएको आन्दोलनमा गोलीप्रहार गरी एक किशोरको मृत्यु भयो । यसले प्रहरी आफ्नो गल्तीलाई ढाकछोप गर्न कुनै पनि हदसम्म जान सक्छ भनी स्पष्ट बनाएको छ । उक्त घटनामा प्रहरीको संलग्नता रहेको भनी ५ प्रहरीलाई निलम्बन गर्नु केही हदसम्म सकारात्मक पक्ष नै होला, तर

यसले जनताको यो आशङ्कालाई अझ बलियो बनाएको छ । यस्तो अवस्थामा प्रहरीलाई जनताले रक्षक नभई भक्षकको रूपमा हेरिरहेका छन् । 

३३ किलो सुन तस्करीमा प्रहरी संलग्न भएको प्रमाण भेटिएको भनी केही प्रहरीले मुद्दासमेत खेपिरहेका छन् । निशानको अपहरणपछि हत्या हुनु र अपराधीको इन्काउण्टर गरी पीडितले न्याय पाउने बाटो बन्द हुनुमा प्रहरीको लापरवाही देखिनुले प्रहरीले जनतालाई न्याय दिलाउन सक्दैन भनी आम नेपाली जनताको भरोसा प्रहरीबाट उठिरहेको छ । 

यदि प्रहरीबाट जनताको भरोसा उठ्यो भने जनताले कसरी सुरक्षाको अनुभूति गर्न सक्लान् ? 

भन्न त आईजीपी सर्वेन्द्र खनालले नेपालमा पछिल्लो समयमा आपराधिक घटनामा कमी हुँदै गएको भनेका थिए । तथापि, प्रहरी निरीह बन्दै गएको अवस्थामा देशमा आपराधिक घटना झन् बढ्दै गएको पछिल्ला तथ्याङ्कले पुष्टि गररहेका छन् । 

विगत दुई महिनामा निर्मलाको हत्याकाण्डपछि नै देशभर करीब २३० जनाको बतात्कारका घटना सार्वजनिक भएका छन् । 

त्यस्तै, दोलखाकी मायालाई उनकै साथीले बतात्कारपछि कुटपिट गरेका कारण उनी आईसीयूमा पुग्छिन् । प्रहरीले ती बलात्कारीलाई एक दिन जेलमा राखी भोलिपल्टै छोडिदिन्छ । पछि प्रहरीको विरोध भएपछि प्रहरीले पुनः ती व्यक्तिलाई पक्राउ गरी जेल चलान गर्छ । उक्त घटनामा प्रहरीले ती व्यक्तिलाई उम्काउन सेटिङ मिलाएको भनी अपराधी स्वयम्ले आफ्ना बुबासँग फोनमा कुरा गरेको भोइस रेकर्ड सार्वजनिक भएको छ । यसले प्रहरीलाई जनताको पीरमर्काले पटक्कै नछुने रहेछ भनी सिद्ध गरेको छ । आफ्नो इज्जत, जागीर जाने अवस्थामा मात्र काम गरिटोपल्ने प्रहरीको बानी हो भन्ने कुरा यस घटनाबाट जनताले बुझेका छन् । 

त्यस्तै, प्रकाण्ड प्रकरणमा पनि प्रहरी र अदालतबीच समात्ने र छोड्ने जुहारी चलेबाट अदालत र प्रहरी दुवैको मनसाय ठीक देखिएको छैन । एकले बलियो प्रमाण भेटिएको भनी समात्छ र अर्कोले सबुत प्रमाण नपुगेको भनी छोड्छ । यसले पनि कस्तो प्रमाणलाई बलियो र कस्तोलाई कमजोर मान्ने भन्ने प्रहरी र अदालत दुवैलाई थाहा नभएको अथवा भित्र कुनै दाउपेच चलिरहेको जनताले आशङ्का गरिरहेका छन् । 

यसरी आपराधिक घटना दिनानुदिन बढ्दै जानुले पक्कै राम्रो सन्देश त दिएको छैन । तथापि, यदि प्रहरीले देशको सुरक्षा नगर्ने हो भने अरु कसले गर्ने ? यो जिम्मा प्रहरीकै हो । त्यसैले प्रहरीलाई इमानदार भई कार्य गर्न जनताले दबाब दिनै पर्छ । दबाब दिएको खण्डमा गल्तीहरू सच्चिएका उदाहरण पनि प्रशस्त छन् । 

प्रहरीमा केही बदनाम भएका व्यक्ति छन् भने कतिपय इमानदार कहलिएका व्यक्ति पनि छन् जसले जनताको हित चाहन्छन् । त्यसैले आशाको दियो निभाइहाल्नु भने हुँदैन । जो इमानदार छन्, तिनलाई प्रोत्साहन गर्दै र जो यस्ता आपराधिक गतिविधिमा संलग्न तथा बेइमान देखिएका छन् तिनलाई कानूनको दायरामा ल्याउन दबाब जनताले दिनैपर्छ ।

जनता जागरुक भएको अवस्थामा कुनै पनि देशमा कुनै पनि कालखण्डमा परिवर्तन आएकै छ र सुशासन कायम भएकै छ, चाहे देशभर रक्तपात नै किन नमच्चिएको होस् । 

त्यस्तै, जो नेता कहलिएका छन्, तिनको काम प्रसिद्धि कमाएर कार्यक्रमको शोभा बढाउनुमात्र होइन ।

जनताको भावना, पीरमर्का माथिसम्म पुर्याउनु तिनीहरूको प्रमुख कर्तव्य हो । जो जनताको लागि बोल्छ, जो जनताको लागि बाँच्छ, त्यो नै सच्चा नेता हो । आउरेबाउरे, धुपौरे नेता त जति पनि हुन्छन् । तिनले एकदुई दिन पार्टीमा गई मिठो त खान पाउलान्, तर जनताको मनमा राज गर्न कदापि सक्नेछैनन् । यदि जनताको मनमा राज गर्नु छ भने पार्टी, सरकार आदिको डरबाट निस्किएर जनताको लागि आवाज उठाउनैपर्छ, स्वार्थत्याग गर्नैपर्छ ।

यसैले नै देशमा सुशासनको लागि बलियो आधारस्तम्भ खडा गर्छ । 

अर्को कुरा, प्रहरीले गरेका यस्ता अशोभनीय, अवाञ्छनीय कुकृत्यको पर्दाफास भइरहेको अवस्थामा अब प्रहरी स्वयम् सचेत हुनु जरुरी देखिएको छ । जनचेतनाको विकास भइरहेको अवस्थामा, जनता एकजुट भई सडकमा उत्रिएको अवस्थामा कोही पनि गलत धारणा भएको व्यक्ति उम्किन पाउने अवस्था अब रहेको छैन । सञ्चार माध्यममा भएको तीव्रतर विकासले पनि यस्ता कुकृत्यलाई लुकाउन किमार्थ सकिँदैन ।

त्यसैले प्रहरीले आफ्नो छविलाई सफा बनाई जनताको मन जित्न हरतरहको प्रयास गर्नुपर्ने देखिन्छ । 

प्रहरी प्रशासन सरकारको अधीनमा हुने भएकाले प्रहरीलाई मार्गनिर्देश गर्ने काम सरकारको हो । तर, सरकार तथा उच्चपदस्थ व्यक्तिले जनताको भावना, पीरमर्का नबुझेको गुनासो बढिरहेको अवस्थामा सरकारले सही मार्गनिर्देश गर्छ भन्नेमा पनि जनता शङ्कामा नै छन् ।

दुई महिना बितिसक्दा पनि उच्चपदस्थ व्यक्ति कोही केही नबोल्ने, सरकारको विरोध गर्नेमाथि अरिङ्गाल जसरी जाइलाग्नू भनी स्वयम् प्रमले आदेश दिने जस्ता गतिविधिले देशमा अन्यायको विरुद्धमा आवाज उठाउन पाइँदैन भन्ने तानाशाही सोच मौलाउँदै गएको देखिन्छ । यसरी देशमा सुशासन कायम नभई यसले झन् जटिलता थपिदिएको छ । 

यसरी ३३ किलो सुनकाण्ड, भक्तपुर इन्काउन्टर, निर्मला हत्या प्रकरण, दिन दिनै भइरहेका हत्या बलात्कारका घटनाले प्रहरी चुक्दै गएको छ भने 'सत्य सेवा सुरक्षणम' को मन्त्र बोकेको प्रहरीको साख दिन दिनै खस्किदै गएको छ।   

देशमा सुशासन चाहने हो भने जनता, नेता, सरकार, प्रहरी आदि सबै पक्षले निःस्वार्थ भई आफ्नो जिम्मेवारी वहन गर्नैपर्छ । तब मात्र देशमा सुशासन कायम हुन सक्छ । अन्यथा नेपाल पनि गृहद्वन्द्वमा फस्न कुनै बेर लाग्दैन । आज लिइएको तुच्छ व्यक्तिगत स्वार्थले यदि देश भग्नावशेषमा परिणत भयो भने भावी सन्तानको भविश्य अन्धकार हुने निश्चित छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै