• २०८१ बैशाख ७ शुक्रबार

आणविक निरस्त्रीकरणका लागि थप कदम चाल्न दुई कोरिया सहमत

kharibot

प्योङयाङ /  उत्तर कोरियाली नेता कीम जोङ–उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन् । यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः शुरु हुने सम्भावना बढेको छ । 

प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता कीम र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–उन बीचको ऐतिहासिक द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो । दक्षिण कोरियाली राष्ट्रपति तीन दिने भ्रमणका क्रममा हाल उत्तर कोरियामा छन् । 

“उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुबै देशका विज्ञहरुको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ,” कीमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले बताए । उक्त पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण सिओलमा पनि गरिएको थियो । 

उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायी रुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिहरुमा सामयिक पुनरावलोकन गर्नु पर्दछ, राष्ट्रपति मूनले बताए । 

उनले भने, “दक्षिण र उत्तर कोरियाले पहिलो पटक आणविक निःशस्त्रीकरणका बारेमा छलफल गरेका छन् ।” 

कीमले आफू र मूनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएको बताए । 

“यो घोषणाले दुबै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्गप्रशस्त गरेको छ, र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ,” प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै कीमले भने । 

संयुक्त घोषणापत्रमा आणविक निःशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाले प्रतिबद्धता जनाएको छ । 

प्योङयाङको तीन दिने भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति मूनले अमेरिका र उत्तर कोरियाबीचको अबरुद्ध वार्ता पुनः शुरु गराउन पहल गर्ने बताएका थिए  । संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले भने,  “उत्तर कोरिया र अमेरिकाबीचको वार्ता पुनः शुरु हुने मैले विश्वास लिएको छु ।” 

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दैै अन्तर–कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले लेखेका छन्, “कीम जोङ उनले आणविक सुपरीवेक्षणका लागि अनुमति दिन सहमति जनाउनु भएको छ, र अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा एउटा आणविक परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रहार केन्द्र सधैंका लागि बन्द गर्न राजी हुनुभएको छ ।” 

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियासँग रहेका आणविक हातहतियारको सूची उपलब्ध गराउन र आणविक केन्द्रहरुको निरीक्षण गर्न माग गरिआएको छ । 

तर उत्तर कोरियाले अमेरिकी मागलाई अस्वीकार गरिरहेको छ । यहीकारण दुबै देशबीचको वार्ता केही समयदेखि अबरुद्ध छ । 

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकारले भने हाल दुबै मुलुकबीच भएको सहमतिले अमेरिका र उत्तर कोरियाबीच वार्ताको ढोका खेल्ने विश्वास व्यक्त गरे । 

दुबै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरुलाई अझ फराकिलो बनाउने सहमति पनि भएको छ । 

राष्ट्रपति मून बिहीबार स्वदेश फर्किनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै