नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून

खरीबोट

बाँके।  नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । 

“अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो छैन, यस सम्बन्धी पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ, त्यसैले नेपालगन्ज–दिल्ली उडान अहिले सम्भव छैन”, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भने । 

बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगञ्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले कम्तीमा अझै पनि एक वर्ष यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिए । केही समयअघि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले छ महिनाभित्र नेपालगञ्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा गरेका थिए । 

निर्देशक ठाकुरले भने, “कुनै पनि जहाज उड्नुभन्दा पहिले सम्बन्धित एयरपोर्टमा स्लट (जहाज ओर्लिने समय) माग गर्नुपर्छ, दिल्ली एयरपोर्टले रातीको समयमा त्यो समय उपलब्ध हुने बताएको छ, तर नेपालगञ्जबाट राति जहाज उड्ने सम्भावना अहिले छैन ।” 

अन्तर्राष्ट्रिय मान्यताअनुसार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा डोमेस्टिक एयरका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने र त्यो तयार गर्न एक वर्ष लाग्ने पनि उनले बताए । 

“प्रिफ्याब बनाउनै एक वर्ष लाग्छ, कसरी सम्भव हुन्छ ?”, निर्देशक ठाकुरले भने, “उडान अनुमति दिनुभन्दा पहिले भारतीय एयरपोर्ट सुरक्षा युनिटले यहाँको विमानस्थलको सुरक्षाका बारेमा अध्ययन गर्छ, त्यो पनि भइसकेको छैन, सबै संरचना तयार भएपछि मात्रै उडान सम्भव हुन्छ ।” 

विमानस्थलमा अहिले दुई वटा टर्मिनल बनाउने तयारी भइरहेको छ, उनले भने, “डिजाइन र लागत तयार भइरहेको छ, अबको दुई महिनामा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया शुरु हुन्छ ।” अन्तर्राष्ट्रिय उडानका लागि नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणले तयारी थालिसकेको पनि निर्देशक ठाकुरले जानकारी दिनुभयो । “जति हतार गरे पनि पूर्वाधार नै नभएपछि कसरी सञ्चालन गर्न सकिन्छ र ?”, उनको प्रश्न थियो । 

मानसरोवर तीर्थ यात्राका नेपालगञ्ज ट्रान्जिट प्वाइन्टका रुपमा विकास भएपछि भारतीय यात्रुलाई मध्यनजर गर्दै बुद्ध एयरले नेपालगञ्ज–दिल्लीको उडानलाई प्राथमिकतामा राखेर पहल गर्दै आएको छ । तर त्यसको सम्भावना तत्काल देखिएको छैन । नेपालगञ्ज–दिल्ली उडानको सम्भावना तत्काल नदेखिएपछि बुद्ध एयरले आगामी वर्षबाट मात्रै उडान गर्न सक्ने योजना बनाइरहेको छ । सो रुटमा दैनिक उडान गर्ने योजना बुद्ध एयरको छ । 

तिब्बतको मानसरोवर जाने भारतीय पर्यटकलाई लक्षित गर्दै बुद्ध एयरले नयाँ दिल्लीको उडान शुरु गर्ने तयारी गरेको हो । भारतबाट प्रत्येक वर्ष डेढदेखि दुई लाख पर्यटक नेपाल आउँछन् । तीमध्ये मानसरोवर जाने पर्यटकको सङ्ख्या उल्लेख्य हुने गर्छ । पछिल्लो समय भारतीय पर्यटक नेपालगञ्ज आउने र त्यहाँबाट सिमिकोट पुगेर ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्ने गर्छन् । 

सम्बन्धित समाचार

जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान

जुम्ला । न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको

निगमलाई जापान उडानको अनुमति

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड

हुम्लामा एक हप्तापछि हवाई उडान सञ्चालन

हुम्ला । भारी हिमपातपछि एक सातादेखि अवरुद्ध जिल्लाको एक मात्र यातायात हवाई सेवाले आज अपराह्न ५ बजेबाट उडान भर्न शुरु गरेको छ ।  सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना,

त्रिभुवन विमानस्थलको उडान सामान्य अवस्थामा

काठमाडौँ । मौसममा आएको खराबीका कारण बिहान अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सामान्य अवस्थामा उडान अवतरण भइरहेको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सुले दृश्यता (भिजिबिलिटी) अत्यन्त कम भएका कारण बिहान


z