• २०८१ बैशाख १३ बिहीबार

संसदीय समितिका सभापति निर्वाचनको आज मनोनयन हुदै, को को बन्दै छन् सभापति ? 

kharibot

काठमाडौं।  प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । समिति सभापतिको लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।

बेलुकी साढे ५ बजे उम्मेदवारको अन्तिम सूची आज प्रकाशित हुनेछ । एकमात्र मनोनयन परेमा सर्वसम्मत चयन हुने र एकभन्दा बढी मनोनयन परेमा भोलि बिहान ११ बजे चुनाव गर्ने तयारी छ । एकभन्दा बढी समितिमा सदस्य रहेका सांसदलाई आफूले मताधिकार प्रयोग गर्ने समितिको जानकारी दिन आजसम्मको समय दिइएको छ ।

यस्तो जानकारी सभामुखलाई उपलब्ध गराउनु पर्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन रहने व्यवस्था छ । तर, मतदानको अवस्था सिर्जना भएमा एउटा मात्र समितिबाट मतदान गर्नुपर्नेछ ।

को को बन्दै छन् सभापति :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा तर्फका संसदीय समितिको नेतृत्व टुङ्गो लगाएको छ। अधिकाशं समितिको नेतृत्व महिलालाई दिने तयारी नेकपाको छ।

राज्य व्यवस्था समितिको सभापति शशी श्रेष्ठ बन्ने भएकी छिन्। सभापति बनाउनकै लागि श्रेष्ठलाई कानुन न्याय तथा मानवअधिकार समितिबाट राज्य व्यवस्था समितिमा ल्याइएको छ। त्यस्तै निरु पाल महिला बालबालिका समितिको सभापति बन्ने भएकी छिन्। पाललाई विकास समितिबाट महिला बालबालिका समितिमा पुर्यानइएको छ।

त्यस्तै जयपुरी घर्ती शिक्षा तथा स्वास्थ्य समितिको सभापति बन्नेछिन्। घर्तीलाई पनि उद्योग वाणिज्य तथा श्रम समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पुर्या्इएको छ।

पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्नेछिन्। त्यस्तै पवित्रा निरौला खरेल अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति बन्ने भएकी छिन्। उनी महिला बालबालिका समितिबाट अन्तराष्ट्रिय सम्बन्ध समितिमा आइसकेकी छिन्। त्यस्तै कल्याणीकुमारी खड्का विकास समितिको सभपति बन्ने भएकी छिन्। 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिको रुपमा रहेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा सांसद निरादेवी जैरु बन्न भएकी छन्।

पुरुषतर्फ भने कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, लक्ष्मण लाल कर्ण र विमल श्रीवास्तव सभापति बन्ने तयारीमा रहेका छन्। 

कृष्णप्रसाद दाहालले अर्थ समितिको नेतृत्व गर्ने भएका छन् भने कृष्णभक्त पोखरेलले कानुन न्याय तथा मानवअधिकार समितिको नेतृत्व गर्ने टुंगो लागेको छ। 

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईको सनुवाइ समितिको सभापतिमा चर्चा चलेको भए पनि अब सुनुवाई समितिको सभापति राजपाका सांसद लक्ष्मण लाल कर्ण नै बन्ने निश्चित भएको छ।  कर्णले जेष्ठ सदस्यको हैसियतमा हाल नेतृत्व गरिरहेका छन्। 

त्यस्तै उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको नेतृत्व संघीय समाजवादी फोरमलाई दिने भएको छ। संघीय फोरमले विमल श्रीवास्तवलाई सभापति बनाउने तयारी गरेको छ।

त्यस्तै संसदीय समितिमा महत्वपूर्ण मानिएको सार्वजनिक लेखा समितिको सभापति बहने नेपाली काँग्रेसले पाउने भएको छ। काँग्रेसले पुर्व अर्थराजमन्त्री भरत शाहलाई सभापति बनाउने तयारी गरेपनि आधिकारिक निर्णय गरेको छैन।

समितिका सभापतिहरू राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षाको सुविधा पाउनेछन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै