• २०८१ बैशाख ८ शनिबार

स्वतन्त्र प्रेस सङ्कुचन हुने कानूनी प्रावधानमा संशोधन हुन्छ : सभामुख महरा

kharibot

फाइल तस्विर । 

काठमाडौँ /  सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन  । 

नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे । विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकारवाला निकायसँगको आवश्यक छलफलपछि संशोधन भएको प्रसङ्ग उल्लेख गर्दै उनले भने , “हालै पारित भएका संविधानका मौलिक हकसँग सम्बन्धित कानूनमा पनि केही कमीकमजोरी भए तत्काल संशोधन गर्न सकिन्छ ।” 

सभामुख महराले स्वस्थ्य र प्रतिस्पर्धात्मक समाज निर्माणका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै देश र जनताका पक्षमा समर्पित भएर पत्रकारिताको जिम्मेवारी निर्वाह गर्न आमसञ्चारकर्मीलाई आग्रह गरे । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको अधिकार प्रदान गरेको भए पनि अन्य कानून बनाएर स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने प्रयास गर्नु दुःखद् हो भने  । पछिल्लो समयमा प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गर्दै उनले त्यस्ता चुनौतीको सामना गर्न सबै सञ्चारकर्मीले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे  । 

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था हँुदाहँुदै पनि अन्य कानूनका आधारमा पत्रकार थुन्ने काम भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता विरोधी कानून संशोधन नभएसम्म महासङ्घको आन्दोलन जारी रहनेछ भने । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि जुनसुकै चुनौती आए पनि पत्रकारले जनताको हितका लागि शासकलाई प्रश्न गर्न छोड्नु हुँदैन भने । 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै